देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निगममा बेथिती: पदाधिकारीकै पम्पलाई धेरै तेल

देशान्तर

काँकडभिट्टा । झापाको चारआलीस्थित नेपाल आयल निगमको शाखाबाट मेची पेट्रोलियम डिलर्स एसोसिएसनका मुख्य पदाधिकारीले नै आ–आफ्ना पम्पमा धेरै इन्धन लैजाने गरेको पाइएको छ ।

निगम शाखाले गत असोज र कात्तिक महिनामा मेची अञ्चलका पम्पहरूलाई उपलब्ध गराएको पेट्रोल र डिजेलको तथ्याङ्क हेर्दा एसोसिएसनका पदाधिकारीले सञ्चालन गरेको पम्पमै आधा तेल गएको देखिन्छ ।

निगमको चारआली शाखाले स्थानीय उपभोक्तालाई वितरण गर्न कात्तिक महिनामा ३९४ किलोलिटर (केएल) पेट्र«ोल उपलब्ध गराएको थियो । यसको ५० प्रतिशत अंश मेची पेट्रोलियम डिलर्स एसोसिएसनका मुख्य पदाधिकारीले आफ्नै पम्पमार्फत बाँडेका छन् ।

गत असोजमा समेत एसोसिएसनकै पदाधिकारीका १० वटा ठूला पम्पले स्थानीय उपभोक्तालाई वितरण गर्न दिएको एक हजार ४६ केएल पेट्रोलमध्ये ३९ प्रतिशत आफ्नै भागमा पारेका छन् ।

डिजेलमा समेत एसोसिएसनकै पदाधिकारीको भाग ठूलो देखिएको छ । कात्तिक महिनामा निगमको चारआली शाखाले एसोसिएसनलाई एक हजार ३८६ केएल डिजेल उपलब्ध गराएको थियो तर एसोसिएसनका मुख्य पदाधिकारीद्वारा सञ्चालित पम्पले नै ४२ प्रतिशत डिजेल हात पारेको तथ्याङ्कले देखाउँछ ।

असोजमा स्थानीय उपभोक्ताका लागि उपलब्ध गराइएको एक हजार ५०८ केएल डिजेलमध्ये एसोसिएसनका मुख्य पदाधिकारीहरूकै पम्पले ४५ प्रतिशत पाएको देखिन्छ ।

पेट्रोल र डिजेल बिक्री गर्न मेची अञ्चलमा ७० वटा पम्पले अनुमति पाएका छन् । मुलुकमा इन्धन सङ्कट चुलिएका बेला समेत कोटा प्रणाली भन्दै एसोसिएसनका पदाधिकारीले आफ्नै पम्पमा धेरै तेल लगेकामा अन्य पम्प व्यवसायी असन्तुष्ट छन् ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका निवर्तमान अध्यक्ष चन्द्र डाँगीले विर्तामोडमा सञ्चालन गरेको सुगम आयल ट्र«ेडर्स र जय हनुमान ट्रेड कन्सर्न इन्धन धेरै हात पार्नेको पहिलो नम्बरमा परेको छ ।

डाँगीको जय हनुमान ट्रेड कन्सर्नले असोज महिनामा सबैभन्दा बढी ७४ केएल पेट्रोल निगमबाट पाएको छ । सोही पम्प कात्तिक महिनामा ३० केएल लिएर धेरै पेट्रोल पाउनेको सूचीमा दोस्रो नम्बरमा छ ।

डाँगीको अर्को पम्प सुगम आयल ट्रेडर्सले असोजमा ३१ केएल र कात्तिकमा १३ केएल निगमबाट अलग्गै पेट्रोल लिएको छ । सुगम आयल ट्रेडर्स पेट्रोल धेरै पाउनेको सूचीमा असोजमा सातौँ र कात्तिकमा दशौँ स्थानमा रहेको छ ।

निगमको तथ्याङ्क अनुसार एसोसिएसनका निवर्तमान अध्यक्ष डाँगीको सुगम आयल ट्रेडर्स गत असोज र कात्तिक दुबै महिनामा डिजल धेरै पाउनेको सूचीमा पहिलो नम्बरमा छ । सुगमले असोजमा १२८ केएल र कात्तिकमा १०८ केएल डिजेल निगमबाट पाएको छ ।

पेट्रोल र डिजेल धेरै पाउनेको सूचीमा एसोसिएसनका अध्यक्ष लयप्रसाद भण्डारीको जनकल्याण शिव स्टोर्स (बुधवारे), वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाको प्रनिक आयल स्टोर्स (मेचीनगर)ं, उपाध्यक्ष टीकाराम पिठाकोटेको सगरमाथा आयल सेन्टर (दमक), महासचिव भूपाल कटुवालको माता पाथिभरा आयल सप्लायर्स (दमक) र सहकोषाध्यक्ष अमित सरियाको गणेश अटोमोवायल्स (विर्तामोडं) अग्रपङ्तिmमा रहेका छन् ।

एसोसिएसनका प्रभावशाली सदस्यहरू एकराज उप्रेतीको आस्मा ट्रेडर्स (चारपाने), विनोद चापागाइँको आर्या ट्रेड इन्टरनेसनल (चन्द्रगढी), विनोद बस्नेतको हनुमान पेट्रोलियम सप्लायर्स (विर्तामोड), श्रीप्रसाद मैनालीको मेट्रो ट्रेडिङ हाउस (चारआली), उत्तम श्रेष्ठको फिक्कल उत्तम स्टोर्स (फिक्कल) र प्रेमप्रसाद दाहालको मातृ आयल स्टोर्स (सुरुङ्गा) इन्धन धेरै पाउनेको सूचीमा परेका छन् ।

एसोसिएसनका उपाध्यक्ष टिकाराम पिठाकोटेले गत वर्षको असोज र कात्तिक महिनामा पम्पहरूले तेल खपत गरेको अभिलेखका आधारमा हाल त्यही अनुपातमा पम्पहरूलाई इन्धन वितरण गरिएको बताउछन् । गत वर्ष बढी खपत गर्ने पम्पले त्यही आधारमा हाल कोटामा वितरण गर्दा बढी तेल पाउनु स्वाभाविक भएको उनको धारणा छ ।

]]>