देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचित सदस्यको कार्यकाल आउँदो फागुन २१ देखि सुरु

देशान्तर

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि निर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि शुरु हुने भएको छ । निर्वाचित १८ र मनोनित एक गरी १९ जना सदस्यहरूले शपथ ग्रहण गरेपछि कार्यकाल शुरु हुनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि विहीबार सम्पन्न निर्वाचनमा १८ जना सदस्य निर्वाचित भइसकेका छन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित एक जना सदस्यको भने बाँकी रहेको छ । निर्वाचित र मनोनित सबैलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएपछि उनीहरूको कार्यकाल सरु हुनेछ ।

नयाँ सदस्यको कार्यकाल शुरु हुने दिन नै शपथ गराइने जानकारी दिँदै संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने,“सम्भवतः शुरु हुने दिन नै शपथ हुन्छ ।”

संघीय संसद सचिवालयको कार्यव्यवस्था परामर्श समिति शाखा राष्ट्रिय सभाले शपथ ग्रहणको कार्यतालिका सार्वजनिक गर्नेछ । संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानुन बमोजिम शपथ लिनु पर्नेछ भन्ने व्यवस्था संविधानमा छ ।

नयाँ सदस्यहरूको पदावधि भने छ वर्षको हुनेछ । अब हरेक दुई÷दुई वर्षमा राष्ट्रिय सभामा निर्वाचित र मनोनित सबै सदस्यको पदावधि छ वर्षको हुनेछ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।

पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको छ ।