देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनमा उम्मेदवारको दौडधुप

देशान्तर

काठमाडौं । आउँदो असोज २८ देखि आयोजना हुने गैरआवासीय नेपाली संघको नवौं सम्मेलन नजिकिँदै गर्दा उम्मेदवारको दावेदारी र दौडधुप सुरु भएको छ । विशेषगरी अध्यक्ष, उपाध्यक्षद्वय र महासचिवका उम्मेदवारहरूको दौडले रफ्तार लिएको छ । त्यसैगरी अन्य पदमा युरोप, अमेरिका, अस्ट्रेलिया र जापानबाट उम्मेदवारीको ओइरो लागेको छ । सम्मेलनमा यी देशका प्रतिनिधिहरूको उल्लेख्य उपस्थित हुने भएको कारणले पनि उम्मेदवारीमा दाबेदारी बढेको हो ।

हालसम्म अध्यक्षका लागि बेलायतबाट वर्तमान उपाध्यक्ष कुल आचार्य र जर्मनीबाट अर्का वर्तमान उपाध्यक्ष कुमार पन्तको मात्र दाबेदारी सुनिएको छ । यी दुवै अध्यक्षका उम्मेदवारहरू विश्व भ्रमणको तुफानी दौडमा छन् । त्यसैगरी अमेरिकाबाट महासचिवमा अमेरिकामा दुई कार्यकाल अध्यक्ष बिताएका डा. केशव पौडेल, उपाध्यक्षमा रविना थापा, सचिवमा हालका उत्तरअमेरिका संयोजक गौरीराज जोशी, उत्तरअमेरिका संयोजकमा हालका उपसंयोजक नवीन शेरचनले दाबेदारी प्रस्तुत गरेका छन् ।

त्यसैगरी बेल्जियमबाट महासचिवमा हालकी सचिव जानकी गुरुङ र युरोप संयोजकमा पोर्चुगलका जनसम्पर्क समिति र एनआरएनका संस्थापक अध्यक्ष रहिसकेका पूर्ण हमाल, बेल्जियमबाट गंगाधर गौतम र पद्म गुरुङले दाबी गरेका छन् ।

यसरी नै अस्ट्रेलियाबाट उपाध्यक्षमा मन केसी, सचिवमा जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरी र अभिमानसिंह बस्नेत र अस्ट्रेलिया संयोजकमा प्रेम सापकोटा, बालचन्द्र भट्टराई र दिनेश जोशीले उम्मेदवारी घोषणा गरेका छन् । साथै, जापानबाट उपाध्यक्षमा किरणविक्रम थापा, कोषाध्यक्षमा महेश श्रेष्ठ र सुदन थापा, एसिया प्यासिफिक संयोजकमा ओम गुरुङ, पारसमणि पोखरेल र गोविन्द श्रेष्ठले उम्मेदवारी दाबी गरेका छन् ।
त्यसैगरी उपसंयोजकमा भने ३६ वर्षदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय तथा सामाजिक कार्य गरेर बसेका कपिलदेव थापाको एक्लो दाबी छ ।

मत संख्या राम्रै भए पनि हालसम्म खाडीका मुलुकहरू कतार, साउदीअरब, यूएई, बहराइन र कुवेतबाट अहिलेसम्म पदाधिकारीमा दाबी सुनिएको छैन । त्यसैगरी मलेसिया, थाइल्यान्ड, हङकङ र चीनबाट पदाधिकारीमा कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।

हालसम्मको रस्साकस्सीमा कुल आचार्य समूहबाट महासचिवमा डा. केशव पौडेल (अमेरिका) र जानकी गुरुङ (बेल्जियम) मध्येबाट एक जना छनोट हुने बुझिएको छ । विश्वभरिका मतदाताहरूले युरोपबाट अध्यक्ष हुने भएकाले अन्य महादेशबाट महासचिव हुनुपर्ने राय व्यक्त गरेका छन् । तसर्थ, डा. केशव पौडेलको उम्मेदवारीले अध्यक्षका उम्मेदवार कुल आचार्यलाई समेत जिताउन बल पुग्ने देखिन्छ ।

अर्कोतर्फ हाल सचिव रहेकी जानकी गुरुङ पनि बलियो उम्मेदवारको रूपमा देखिन्छिन् । किनभने गुरुङले विश्वभरिको महिला जनजाति मतदातालाई आकर्षण गर्न सक्छिन् । आचार्य, डा. पौडेल र गुरुङ यी तीनै जना लोकतन्त्रवादी समूहसँग निकट छन् । अध्यक्षका उम्मेदवार कुमार पन्तको महासचिवमा बेलायतका हिमराज शर्मा पर्ने निश्चित जस्तै देखिन्छन् । यो समूहलाई सत्तारूढ नेकपाले सहयोग गर्ने देखिन्छ ।