June 22, 2021, Tuesday
२०७८ असार ९
ताजा अपडेट
ताजा अपडेट ×

दाङमा बढ्दो छ सङ्क्रमणको सकस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुर । बाँकेसँग सिमाना जोडिएर पनि होला दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढिरहेको छ । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । बुधबारसम्म यस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार हाराहारीमा छ । सक्रिय सङ्क्रमित थपिने क्रम हरेक दिन बढ्दो छ । त्यस्तै यस जिल्लामा कोरोना भाइरसको सङक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९७ पुगेको छ ।

यहाँका चिकित्सकहरु भन्छन्– यसपटकको कोरोना भाइरस गतवर्षको भन्दा कडा खालको देखिएको छ र यसले तत्कालै तथा गम्भीर रुपमा असर गर्ने गर्दछ । उनीहरुले भनेअनुसार यो भाइरसले अन्य रोग भएका सङ्क्रमितलाई निकै सताउने गरेको छ । सङ्क्रमण भएको १४ दिनमा लक्षणहरु विस्तारै घट्दै जानुपर्ने भनिए पनि यहाँका कतिपय सङ्क्रमितहरुले त्योभन्दा पनि लामो समयसम्म सास फेर्न गाह्रो हुने, खोकी लागिरहने भइरहेको बताएका छन् ।

Advertisement

त्यसो त यहाँ कोरोनालाई जित्नेहरु पनि बढ्दै छन् । दोस्रो चरणमा सङ्क्रमित भएकाहरुमध्ये धेरैजना कोरोना जितेर घर फर्किसकेका छन् । मङ्गलबार मात्रै यस जिल्लाका १९६ जनाले कोरोना जितेका छन् । उनीहरुले अवस्था सामान्य रहेको बताएका छन् ।

जिल्लामा कोरोना विशेष अस्पताल बेलझुण्डी छ । प्रदेश सरकारले साबिक राप्ती अञ्चलका सङ्क्रमितलाई राख्नका लागि भन्दै बेलझुण्डीमा कोरोना विशेष अस्पताल निर्माण ग¥यो । त्यो नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद शिक्षण अस्पतालको भवन हो ।

अहिले दोस्रो चरणका रुपमा देखिएको सङ्क्रमण अघिल्लो वर्षको भन्दा तीव्र रुपमा फैलिएको छ । केही समय त विश्वविद्यालयले भवन छोड्न नमानेपछि शय्या ९बेड० थप गर्न समस्या भयो । त्यतिबेलासम्म तल्लो तलामै अस्पताल सञ्चालन थियो, माथिल्लो तलामा विएएमएसका विद्यार्थीहरुको कक्षा चल्थ्यो ।

जब बन्दाबन्दी भयो त्यसपछि भने विश्वविद्यालयले माथिल्ला दुईवटा तलालाई पनि अस्पताल विस्तार गर्न दिने सहमति भयो र चावी हस्तान्तरण गरेपछि बेड सङ्ख्या पनि थप भयो । अस्पतालका व्यवस्थापक द्रोण ओली भन्छन्, ‘‘अहिले बेड सङ्ख्या ४२ हो, तर हामीले ५९ जनासम्म विरामी राखेर उपचार गरिरहेका छौँ ।”

अस्पतालमा शय्या थप्नुभन्दा पनि बेडमा राखिएका सङ्क्रमित अनुसार अक्सिजन पुर्याउन सकस छ । गएको आइतबार बेलझुण्डी अस्पतालमा तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी ४८ वर्षीय सङ्क्रमितको अक्सिजन नपाएरै मृत्यु भयो ।

दैनिक करिब पाँचसय सिलिण्डर अक्सिजन भएमा एकसय विरामीलाई सेवा दिन सक्न्छि तर अस्पतालमा अक्सिजन पर्याप्त छैन । करिब दुई सयको हाराहारीमा मात्रै अक्सिजन छ । त्यसले विरामीलाई पुर्‍याउनै सकस हुन्छ । जिल्लाको घोराहीमा दैनिक दुई हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको उद्योगको छ । तर विद्युत् आपूर्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

उता तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको अक्सिजन प्लान्ट विग्रिएको तीन महिना भयो, मर्मत गर्नेतर्फ कसैको ध्यान गएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विनोद सिंह भन्नुहुन्छ ‘‘मेसिन काठमाडौँ आइपुगेको छ, केही दिनमा तुलसीपुर आउछ ।” अहिले नेपालगञ्जबाट अक्सिजनको आपूर्ति भइरहेको छ ।

जिल्लामा अक्सिजन उत्पादन गर्ने उद्योग तथा प्लान्टहरु सञ्चालनमा नआउँदा द्रोण ओली, पदमप्रसाद पोखरेलहरु अहिले तड्पिरहेको देखिन्छ । ओली बेलझुण्डी अस्पतालका व्यवस्थापक हुन् । सङक्रमतिलाई बचाउने जिम्मेवारीमा उनी छन् । ओली आफै पनि यसअघि कोरोना सङ्क्रमित भएका थिए तर पनि सङ्क्रमितकै हेरचाह गर्ने गर्थे । उनी अहिले पनि सङ्क्रमितकै हेरचाहमा छन् । उनी भन्छन्, ‘अक्सिजन आपूर्ति सहज भएमा सबै सहज हुन्थ्यो ।”

तुलसीपुर निवासी पदमप्रसाद पोखरेल पनि अहिले अक्सिजनको जोहो गर्ने काममा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकाले उनलाई अक्सिजन र शव व्यवस्थापनको जिम्मा दिएको छ ।

यो वर्ष लागेदेखि नै उनीहरुलाई दिन र रात भन्ने नै छैन । विहान झिसमिसेदेखि साँझसम्म उनीहरु यही व्यवस्थापनमा छन्। बिहानैदेखि उनीहरुलाई फोन आउन शुरु हुन्छ र सबैको यही एउटै प्रश्न हुन्छ ‘अक्सिजन चाहियो, छ की छैन् ?’ त्यसपछि आवश्यकताअनुसा उनले साथीहरुलाई अनुरोध गर्छन् र अक्सिजन बोकेर घरमै पुग्छन् ।

तुलसीपुर उपमहानगरपालिकाभित्र ‘होम आइसोलेसन’ मा बसेका प्रत्येकलाई अक्सिजन पुर्याउने जिम्मा पदमलाई नै छ । “उपमहागरपालिकाले यसको सम्पूर्ण जिम्मा मलाई दिएको छ”, उनले भने “त्यसैले अहिले घर–घरमा अक्सिजन लिएर दौडिरहेका छु” उनले व्यवसायीसँग भएका सम्पूर्ण अक्सिजन सिलिण्डहरु सङ्कलन गरेका छन् र तिनै अक्सिजन जुन संक्रमितलाई आवश्यक पर्छ उनीहरुलाई नै प्रदान गर्दै आएका छन् ।

फोन आउने वित्तिकै स्वास्थ्यकर्मीसहित घर–घरमै पुग्छन्, र आवश्यक हो भने अक्सिजन प्रदान गर्छन् यदि आवश्यक होइन भने सल्लाह सुझाव दिएर फर्किन्छन् । “अहिले धेरैजना सङ्क्रमितले फोन गर्नुहुन्छ र पछि गाह्रो हुनसक्छ, त्यसैले अक्सिजन दिनुस् भनेर अनुरोध पनि गर्नुहुन्छ”, पदम भन्छन् “हामीले अतिआवश्यक पर्नेहरुलाई मात्रै दिने गरेका छौँ, यदि गाह्रो भयो भने भन्नुहोला जति बेला पनि हामी हाजिर हुन्छौँ ।”

अक्सिजनका सिलिण्डर निःशुल्क रुपमा घरमा पुर्याउने गरिएको छ । अहिले उपमहानगरपालिकासँग ३०÷३५ वटा अक्सिजन सिलिण्डर छन् । उपमहानगरपालिकासँग यसअघि ६०÷६५ वटा सिलिण्डर भएपनि बेलझुण्डी अस्पतालले माग गरेपछि त्यहाँ प्रदान गरिएको हो । अझै पनि तुलसीपुरमा कहाँ–कहाँ अक्सिजनका सिलिण्डर हुन सक्छन्, ती व्यवसायीहरुको पहिचान गरी सिलिण्डर सङ्कलन गर्ने गरी उपमहानगरपालिकाले तयारी थालेको छ ।

बेलझुण्डी अस्पतालमा गाह्रो

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीलाई समस्या हुने गरेको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीले एक सय शय्या रहेको सो अस्पतालमा हालसम्म ५७ जना बिरामी उपचाररत रहेको र अक्सिजनको सहज उपलब्धता नहुँदा समस्या हुने गरेको बताए ।

उनले भने “अस्पतालमा अक्सिजन छैन, विरामी भर्नाका लागि मलाई सिफारिस र दवाब नदिनुहोला ।” उनले अक्सिजन व्यवस्थापनका लागि सहयोग गरिदिन सरोकारवाला सबैलाई अनुरोध पनि गरेका छन् । सो अस्पतालमा पाँच सघन कक्ष र ७५ शय्या अक्सिजनसहितका छन् । त्यस्तै अन्य सामान्य शय्या रहेका छन् ।

कोरोना अस्पता बेलझुण्डीमा पछिल्लो २४ घण्टमा दुई जना विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सघन कक्षमा उपचाररत कोरोना सङ्क्रमित हुन् । मृत्यु हुनेमा घोराही उप महानगरपालिका– १८का ४५ वर्षीय महिला र घोराही उपमहानगरपालिका– १५का ६५ वर्षीय पुरुष रहेको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए ।

ती महिला गत वैशाख १५ गतेदेखि सो अस्पतालमा उपचाररत रहेकी र उनको हिजो दिउँसो मृत्यु भएको हो । त्यस्तै पुरुष गत वैशाख १७ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको हिजो बिहान मृत्यु भएको हो । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका बिरामीको उपचार हुने गरेको छ ।

अक्सिजन उद्योग सञ्चालनमा ल्याउने प्रयास

घोराहीको अक्सिजन उद्योग सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । चौतर्फी दवावपछि मङ्गलबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्योगको अवलोकन र अवस्था बुझेका थिए ।

त्यसपछि उनकै पहलमा उक्त उद्योग सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । विद्युत आपूर्ति नहुँदा घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्नीस्थित उक्त अक्सिजन उद्योग प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको थिएन । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको समन्वयमा भएको बैठकले अक्सिजन प्रालिमा तत्काल विद्युत जोड्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको सहकार्यमा उपचार

घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा कोरोना भाइरस सङ्क्रमितको उपचार थालेको छ । घोराहीले अक्सिजनसहितको ४० शय्या बनाउने निर्णयअनुसार प्रतिष्ठानसँगको सहकार्यमा बिरामीको उपचार थालेको हो । प्रतिष्ठानमा अहिले २५ शय्या बनिसकेको छ । उपमहानगरपालिकाले प्रतिष्ठानलाई रु १० लाख उपलब्ध गराएको छ । शय्या निर्माण, अक्सिजन तथा उपचारका लागि तत्कालका लागि सो रकम हस्तान्तरण गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

सबै पालिकामा शय्या

दाङका स्थनीय तहहरुले कोरोना महामारीसँग जुध्न अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएका छन् भने केही स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याउने तयारी थालेका छन् । देउखुरीका चार स्थानीय तहले लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शय्याको एचडियू अस्पताल सञ्चालनमा ल्याएका छन् । देउखुरीको लमही नगरपालिका, राप्ती, गढवा, राजपुर गाउँपालिकाको पहलमा अस्पताल सञ्चालनमा आएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।

अक्सिजन दिएर उपचार गर्नुपर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने उहाँको भनाइ छ । पहिलो चरणमा १२ शय्या तयारी अवस्थामा रहेको र छिटै शय्या थपेर २५ पुर्याइने उनको भनाइ छ ।

जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शय्याको आइसोलेशन सेन्टर तयार पारेको छ । दाङमा १० स्थानीय तह छन् । अन्य स्थानीय तहले पनि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

सङ्क्रमितको दाहसंस्कारमा समस्या

विश्वस्वास्थ्य संगठनले भनेको छ ‘सावधानी अपनाए मृत व्यक्तीबाट कोरोना सर्दैन ।’ फोक्सो चिरफार गर्नुपर्ने अवस्था आए पनि असावधानी भएमात्र कोरोना सर्न सक्छ अन्यथाः शवबाट कोरोना सर्ने सम्भावना निकै कम रहन्छ । त्यसैले पनि नेपालमा शवलाई आ–आफ्नो परम्पराअनुसार व्यवसथापन गर्न दिइएको छ ।

शव व्यवस्थापनका लागि घाटमा आफन्तहरु पुगे पनि नेपाली सेनाले नै त्यसको व्यवस्थापन गरिरहेको छ । कोरोनाबाट मृत्यु भएका तुलसीपुरका अधिकांश सङ्क्रमितको शीतलपुरस्थित बबई घाटमा अन्त्येष्टि गरिन्छ । त्यहाँ संक्रमितको शव व्यस्थापन कार्य फितलो देखिएको छ । केही समय दाउरा नपाउँदा पनि समस्या हुने गरेको थियो । आधा शव जलाउने र आधा यसै छोडेर हिँड्ने पनि गरेका थिए ।

स्थानीय व्यवसायी तथा पत्रकार देवीराम कुसारीको सार्वजनिक आह्वान पछि धेरै व्यक्तिले कैयौँ ट्याक्टरका दाउरा सहयोग गरे । अहिले पनि त्यहाँ केही दर्जन ट्याक्टर दाउरा छन् । “मेरो सार्वजनिक आह्वानपछि एक दर्जनभन्दा बढी ट्याक्टर दाउरा आए, त्यसले शव जलाउन निकै सहज भएको छ”, उनले भने “यो अभियानमा सम्पूर्ण समाजसेवीहरुले सहयोग गर्नुभयो, जनप्रतिनिधिको पनि उत्तिकै साथ छ ।”

दाउराको मात्रै समस्या होइन्, शवमा आगो सल्काउने अनी हिँडिहाल्ने प्रबृत्तिले पनि आधा जल्ने र आधा नजल्ने अवस्था रहेको प्रत्यक्षदर्शी कुसारीको भनाइ छ । “प्रत्येक शव जलाउदा मैले नहेरेको बिरलै होला, किनकी मेरो घर पनि नजिकै छ, घरको छतबाट सबै देखिन्छ”, उनले भने “यहाँ सेता कपडा लगाएका २÷४ जना सेना आउनु भाएको हुन्छ ८÷१० जना आफन्त पनि हुनुहुन्छ । आफन्तलाई नजिक नै जान दिइँदैन सेना पनि आगो सल्काउँछ, हिँड्छ । यसले गर्दा पनि शव आधा जल्छ, आधा बाँकी नै रहन्छ ।”

केही शवहरुका हात नजलेको र कुकुरले तानिरहेको तथा शवका केही टुक्राहरु नदीमा बगिरहेको भेटिएकोले त्यहाँका नागरिकमा त्रास बढेको कुसारीले सुनाए ।

यस्तै दुखेसो तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ लाई सुनाएपछि केही सहयोग प्राप्त भयो । केही व्यवसायीहरुले डोजर पठाएपछि घाटको सरसफाई गरियो र त्यहाँ अहिले दैनिक ४÷५ वटासम्म सङ्क्रमितका शव जलाउने गरेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •