देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै

देशान्तर

काठमाडौँ –नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ । जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ ।

कोरोना महामारीको पहिलो चरणमा गत वर्ष बाहिरी जिल्लाका संक्रमितलाई थप उपचारका लागि रेफर गरेर काठमाडौं ल्याउने गरिन्थ्यो ।

काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमितलाई बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ‘बेड सिफ्ट’ गरिएको छ ।

उपत्यकाका कुनै अस्पतालमा भेन्टिलेटरसहितको बेड नपाएपछि झापा कमल गाउँपालिका(५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो ।

स्वास्थ्यमन्त्रालयका अनुसार हिजोमात्रै नेपालमा सात हजार २११ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भयो । काठमाडौं उपत्यकामा मात्र ३ हजार ५९५ जनालाई संक्रमण पुष्टि भएको छ ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौंबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि अस्पतालमा तारान्तार फोन आइरहेको छ ।