मानिसमा केही न केही रहर हुन्छन् । कसैलाई कलाकार बन्न, कसैलाई नेता बन्न, कसैलाई समाजसेवी बन्न त कसैलाई साहित्यकार वा यस्तै यस्तै बन्न रहर हुन्छ, जुन स्वाभाविक हो !
तर, सबैले आफ्ना रहर पूरा गर्न सक्दैनन् । केहीले भने आफ्ना रहर कसैगरी पूरा गर्छन् ।
साहित्यकार बन्न चाहना गर्नु पनि एउटा रहर हो । रहर किनभने यो मानिसका लागि बाध्यता होइन । बाध्यता नभएका कामहरू रहर मात्र हुन् ।
तर, यो रहरसँगै जोडिएका हुन्छन्– लोभ, ईष्या, महत्वाकांक्षा । फलानोभन्दा राम्रो÷राम्री, असल उत्कृष्ट हुन्छु भन्नु स्वाभाविक हो । सकारात्मक प्रतिस्पर्धाभावले पक्कै पनि स्रष्टालाई उत्कृष्ट र परिष्कृत बनाउन मद्दत गर्छ । तर, जब प्रतिस्पर्धाभाव नकारात्मक बन्छ, तब स्रष्टा आफ्नो सिर्जनशक्ति क्षयतिर उद्यत् हुन्छ ।
रचनात्मक प्रतिक्रियाको सट्टा प्रतिशोधी वा प्रतिरोधी प्रतिक्रिया दिने, आफूबाहेक अरू स्रष्टाको स्तरीयता नस्विकार्ने, अहम् प्रदर्शनको आत्मरतिमा हराउने स्रष्टा अन्ततः स्वयं हराउँछ ।
यहाँ भन्न खोजिएको के भने, नेपाली साहित्यकारहरूमा अहं, आत्मरति, ईष्या र महत्वाकांक्षा बढी देखिन्छ । यसो हुनुमा हामी स्रष्टाहरूमा अवचेतनमा रहेको ईष्या र चाँडै चर्चित अनि लोकप्रिय हुने महत्वाकांक्षा हो ।
स्तरीय, उत्कृष्ट वा लोकप्रिय हुन त सिर्जना सशक्त र प्रभावशाली गर्नुपर्छ । यसो गर्न अध्ययन र साधना पनि उत्तिकै गर्न सक्नुपर्छ । कलम र कापी समातेर घोरिँदैमा उत्कृष्ट सिर्जना जन्मिँदैन । सिर्जना तपस्या पनि हो । सिर्जना साधना हो । निरन्तरको अध्ययन र अभ्यासबाट उत्कृष्ट र सबल सिर्जना जन्मिन्छ ।
यति तथ्य बोध गर्न नसकी हामी स्रष्टाहरू चाहिँ एकले अर्काको खोइखोत्रो गरिरहन्छौँ । कुनै स्रष्टाका राम्रा, सशक्त सिर्जनालाई प्रशंसा गर्न हामीलाई हिम्मत आउँदैन । हाम्रो रोग बनिसकेको छ यस्तो ।
उसो त, हामी स्रष्टामा अर्को समस्या पनि छ– रचनात्मक आलोचना सहनै नसक्ने । आलोचना औषधि पनि हो स्रष्टाका लागि । आलोचनाले स्रष्टालाई सुधार र परिष्कृत गराउँछ भन्ने लाग्दैन हामीलाई । सँगसँगै कतिपय आलोचकले चाहिँ सिर्जना होइन, सर्जकको रूप, रङ, जात, लिंग, धर्म, राजनीतिक आस्थालाई लिएर टीकाटिप्पणी गरिदिन्छन् । यसो गर्नु चाहिँ असल स्रष्टामाथिको अपमान र अन्याय हो ।
अर्को सकस छ स्रष्टामा– आख्यान लेख्नेले कविता लेख्नेलाई साहित्यकार ठान्दैन । आख्यानमै उपन्यास÷कथा लेख्नेले लघुकथा लेख्नेलाई साहित्यकार मान्दैन । कविता लेख्नेले गजल÷मुक्तक÷हाइकु लेख्नेलाई साहित्यकार मान्दैन ।
यी एकअर्कासँगका दम्भ र अहम्का कारण नेपाली स्रष्टाहरू कहिल्यै मनले मिल्न सकेनन् । सिर्जनशीलता यस्तै बेकामे काममा सिध्याइरहेका छन् ।
प्रतिक्रिया