सरकार र आन्दोलनरत चिकित्सक सङ्घबिच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
हेटौँडास्थित सन्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए ।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले वार्ता समिति गठन गरेको थियो ।
सरकार र चिकित्सकबिच भएको सहमतिमा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिबद्धता जनाएको छ ।
चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ ।
प्रतिक्रिया