काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्ववरिष्ठ अधिकारीहरू तथा जनस्वास्थ्य विज्ञहरूले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया कार्यालयको क्षेत्रीय निर्देशकमा डा. शम्भु आचार्यको उम्मेदवारी अत्यन्तै उपयुक्त भएको जनाएका छन् ।
परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसंघलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो । दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बंगलादेशबाट पनि उम्मेदवारी परेको छ ।
डब्ल्यूएचओ दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल र बंगलादेशसँगै भुटान, उत्तर कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टे सदस्य छन् ।
आचार्य विगत झन्डै २५ वर्षदेखि जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालयमा स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गर्दै आएका छन् । आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ ।
‘नेपालले एक जना अत्यन्तै योग्य तथा सक्षम व्यक्तिलाई डब्लूएचओको दक्षिण पूर्वी एसिया कार्यालयको क्षेत्रीय निर्देशकमा पदमा मनोनयन गरेको छ । दक्षिण पूर्वी एसियाका स्वास्थ्यसम्बन्धी चुनौतीहरूसँग जुध्न उहाँसँग पर्याप्त व्यावसायिक अनुभव र नेतृत्वकारी सीप पनि छ,’ युनिसेफका पूर्व उपकार्यकारी निर्देशक कुलचन्द्र गौतमले भने ।
त्यस्तै, डब्लूएचओको दिल्लीस्थित कार्यालयमा निर्देशकको रूपमा काम गरिसकेकी जनस्वास्थ्यविद् डा. रीता थापाले पनि डा. आचार्यलाई मनोनयन गरेर नेपाल सरकारले सही निर्णय गरेको बताइन् । ‘शिशु तथा मातृ मृत्युदर घटाउन, प्रजनन दर न्यून गर्न तथा कोभिडसँग जुध्न उदाहरण प्रस्तुत गरेको नेपालले सफलताका साथ दक्षिण एसियाली कार्यालय नेतृत्व गर्न सक्नेछ,’ उनले भनिन् ।
डा. आचार्यले विश्व स्वास्थ्य संगठनमा आबद्ध भई करिब तीन दशकयता विभिन्न जिम्मेवारीलाई कुलशतापूर्वक निर्वाह गरेको तथा आगामी दिनमा पनि क्षेत्रीय निर्देशकका रूपमा काम गर्न अब्बल भएकाले आफूले उम्मेदवारी दिएको बताएका छन् ।
‘कोरोना महामारीलगायतले हाम्रो स्वास्थ्य प्रणाली कुन अवस्थामा छ भन्ने देखाइसकेको छ, त्यसैले स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै सेवालाई पनि थप बलियो बनाउनु जरुरी छ’, डा. आचार्यले भने । दक्षिण पूर्वी एसियाका सदस्य राष्ट्रमा सरुवा रोगको नियन्त्रण तथा उन्मूलन गर्नु जरुरी रहेको तथा नसर्ने रोगहरूको बढ्दो संक्रमण चुनौतीका रूपमा देखिएको उनले बताए ।
दक्षिण पूर्वी एसियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसंख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको पनि डा. आचार्यले बताए ।
पाल्पाको भुटुका गाउँमा जन्मिएका आचार्यले औपचारिक शिक्षा पाल्पाबाटै सुरु गरे । विद्यालयस्तरीय शिक्षा उनले त्यहीं पूरा गरे भने उच्च शिक्षाका लागि काठमाडौं आए । उनले अमेरिकाको इन्डियानास्थित बल स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर पूरा गरे । त्यसपछि गिलिङ्स स्कुल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी अफ नर्थ क्यारोलिना, अमेरिकाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरे ।
आचार्यले विश्व बैंकको वासिङ्टनस्थित कार्यालय हुँदै बंगलादेशको ढाकामा परामर्शदाताका रूपमा काम गरेका छन् । डा. आचार्यले जनस्वास्थ्यमा आफ्नो करिअर नेपालबाट सुरु गरेका हुन् । उनले परिवार नियोजन संघ नेपालको फिल्ड डिभिजनको निर्देशकको रूपमा रहेर काम गर्दै बंगलादेशमा आफ्नो करियर विस्तार गरेका थिए । भारतमा कार्यरत रहेको एक वर्षमै उनी डब्लूएचओको मुख्यालय पुगे र महासचिवको मातहतमा रहेर काम गर्न थाले ।
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनले १ नोभेम्बर २०१६ मा उनलाई यूएन सिस्टम स्टाफ कलेजको बोर्ड सदस्यका रूपमा दुई वर्षका लागि मनोनीत गरेका थिए । उनको कार्य क्षमतालाई कदर गर्दै महासचिव एन्टोनियो गुटेरसले उनको कार्यकाल ३१ अक्टोबर २०१९ सम्मका लागि बढाएका थिए । यो पदका लागि चुनाव नै हुने भएकाले ११ देशले मतदान गर्छन् । नेपालले आफ्नो मतसहित चुनावमा निर्वाचित हुनका लागि ६ मत आवश्यक पर्छ ।
थप ५ मत जुटाउनका लागि नेपालले भारतसहित अन्य देशहरूसँग उच्चस्तरमा कूटनीतिक तवरले वार्ता गर्नुपर्नेमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्कीले बताए । आचार्यसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद प्रतिस्पर्धामा छिन् ।
प्रतिक्रिया