देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौमा थप २ जनामा हैजा पुष्टि

देशान्तर

काठमाण्डाै – काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।

यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाण्डौमा हैजा फैलन सक्ने जोखिम बढेको बताए ।

छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम  मानिने अर्का सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताए । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिना साथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जानु पर्ने डाक्टर बताउँछन् ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खाने कुरा खान सकिन्छ । डाक्टरका अनुसार हैजा लागेको बिरामीको समयमा नै उपचार नभए ज्यान जाने खतरा हुन्छ । बर्खाको समयमा हैजालगायतका सुरुवा रोगको जोखिम उच्च हुने भएकाले खानपानमा ध्यान दिन डाक्टरको सुझाव छ । उमालेको वा शुद्धीकरण गरिएको पानी मात्रै पिउन र स्वस्थ खानेकुरा खान डाक्टरको सल्लाह छ ।