देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साथीभाइकै प्लानमा फसे पल, म्यानेजर जोशीले गरे यस्तो खुलासा

देशान्तर

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल)लाई एक नाबालिका गायिकालाई बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता भएको छ । कास्की स्थायी ठेगानामा भएकी एक चलेकी गायिकाले पललाई पटकपटक बलात्कार गरेको आरोप लगाएकी हुन् ।

जाहेरीमा उल्लेख भएअनुसार पल र ती गायिकाको पहिलो भेट २०७७ सालमा असोज २२ गते काठमाडौंमा पिपलु वर भन्ने बोलको गीतको भिडियो सुटिङका क्रममा भएको थियो । त्यसपश्चात् फेसबुक आईडी र फोन नम्बर आदानप्रदान भयो ।

पहिलो भेटपश्चात् नै पलले ती गायिकालाई बनावटी माया दर्शाउने गरेको जाहेरीमा उल्लेख छ । म्युजिक भिडियोहरूमा सँगै काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँलगायतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक–पटक करणी गर्न खोजेको तर सफल हुन नसकेको उनको दाबी छ ।

गाडीमा एउटै सिटमा यात्रा गर्दासमेत संवेदनशील अंगमा चलाउने कार्य गरेको पनि जाहेरीमा जनाइएको छ । जाहेरीका अनुसार गत वैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका—४ दुलेगौंडास्थित पलको चिजानको व्यक्ति प्रदीप थापाको घरमा उनीहरू बास बसेका थिए । त्यस क्रममा राति १२ बजे उनको कोठामा छिरेर विवाहको विश्वास दिलाएर जबर्जस्ती करणी गरेका थिए । त्यसपछि पनि विभिन्न स्थानमा पटकपटक जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ ।

पलको काउन्टर अडियो
प्रहरीबाट पक्राउ पुर्जी जारी भएपश्चात् नायक पल शाहले आफ्नो बचाउमा विभिन्न अडियो सार्वजनिक गरेका छन् । नाबालिक गायिकालाई आफूविरुद्ध आफ्नै साथीहरूले उक्साएको भन्दै उनले संवेदनशील विषयमा कुराकानी भएका अडियो बाहिर ल्याएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै पलले आफूविरुद्ध गायिकालाई प्रयोग गरेर नियोजित षड्यन्त्र गरेको भन्दै चार व्यक्तिको नामसमेत सार्वजनिक गरेका छन् । पलको भनाइअनुसार साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागार्ईं उनीविरुद्धको षड्यन्त्रमा संलग्न छन् ।

कुल मिलाएर पलले सार्वजनिक गरेको अडियो करिब ४५ मिनेटको छ । उनले नाम उल्लेख गरेका व्यक्तिहरूसहित गायिकाको आवाज अडियोेमा सुन्न सकिन्छ । उनीहरूले पललाई कसरी विवाहका लागि बाध्य पार्ने भनेर विभिन्न रणनीति बुनेका छन् । प्रमाण जुटाउनका लागि पललाई के–के भनेर म्यासेज लेख्ने भनेर अन्य व्यक्तिहरूले गायिकालाई सिकाइरहेको सुनिन्छ ।

एउटा अडियोमा पललाई उनीविरुद्ध षड्यन्त्र भइरहेको भनेर अरू कसैले पोल लगाइरहेका छन् । अडियोमा सुनिएअनुसार पलसँग एक करोड लिएर गायिकालाई थामथुम पारिदिने आश्वासन सरोज ओलीले दिएका छन् । त्यसबाट ५० लाख रुपैयाँ आफू खाने र ५० लाख गायिकालाई दिएर उनीहरूको विवाद सल्टाउने योजना सरोजको रहेको एक व्यक्तिले अडियोमा बताएका छन् ।

पल–दुर्गेश सम्बन्ध
पल र दुर्गेशबीच विगतमा निकै बलियो सम्बन्ध थियो । दुर्गेशका धेरै गीतमा पलले अभिनय गरेका छन् । उनीहरू पारिवारिक रूपमा समेत नजिक थिए । पलकी बहिनीले दुर्गेशलाई भाइटीका लगाउने गर्थिन् ।

जब पल र गायिकाबीचको सम्बन्धमा दरार आउन थाल्यो, त्यसपछि गायिकाले दुर्गेशलाई विश्वास गरेर सबै कुरा सेयर गरिन् । दुर्गेश, सरोज ओलीलगायतले सिकाएबमोजिम नै उनले गर्दै गएकी थिइन् । दुर्गेशले समीक्षालाई आफूविरुद्ध उक्साइरहेको भन्दै पल उनीसँग बिच्किए ।

कुनै समय जिग्री दोस्तका रूपमा रहेका पल र दुर्गेशबीच पछिल्लो समय बोलचालसमेत छैन । यसपालिको भाइटीकामा पलकी बहिनीले दुर्गेशलाई टीका लगाइनन् ।

पलकै म्यानेजर जोशीले गरे खुलासा
पल शाहका म्यानेजर कृष्ण जोशीले पललाई फसाउन गरिएको ग्रान्ड डिजाइनको खुलासा गरेका छन् । व्यक्तिगत प्रतिशोध र पैसाको प्रलोभनमा योजना बनाएको जोशीले प्रष्ट पारे । एक युट्युब अन्तर्वार्तामा जोशीले भने, ‘झोलीतुम्बा बोकेर दाङ पठाउने कुरा सामान्य हो ।

पलको ज्यान मार्नेसम्म योजना बनेको थियो ।’ दुर्गेश थापा, सरोज ओली र सम्राट चौलागाईं सँगै रहेर पललाई सिध्याउन योजना बुन्न सहयोग गरेका जोशीले बाहिर आएका अडियो सम्पुर्ण स्कृप्टेड भएको खुलासा गरेका छन् ।

‘मलाई मदिरा पिलाएर बोल्न लगाइयो । पछि ज्यान लिनेसम्मको योजनामा पुगेपछि म आफैँले पललाई योजनाको बारेमा सुनाए । घटना हुनबाट जोगाए ।’ सो अन्तर्वार्तामा पलले मलाई माझी दिइसकेको समेत बताएका छन् । यो घटनामा समावेश भएकाले अहिले पछुतो लागेकाले पनि मिडियामा प्रस्तुत भएको बताउने जोशीले पललाई फसाउन योजनामा बुन्ने हामी सबै दोषी हौं । आफू जस्तोसुकै कारबाही भोग्न पनि तयार भएको बताएका छन् ।

म्यानेजर जोशीले यो घटनाका योजनाकार दुर्गेश भएको बताएका छन् । आर्थिक प्रलोभनमा पारेपछि म पनि केही महिना लागिपरे तर पछि योजनाबारे पललाई बताए । त्यसपछि टिमबाट बाहिरिएको उनले बताए ।

गायिकाको दाबी
न्यायका लागि प्रहरीमा उजुरी दिएपछि पीडित भनिएकी गायिकाले मुख खोलेकी छिन् । यो घटना प्रहरीसमक्ष नपुग्दासम्म सामाजिक सञ्जालमा भाका फेर्दै आएकी ती गायिकाले एक टेलिभिजन कार्यक्रममा भने रुँदै आफू वास्तविक पीडित भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘कोही पनि चेलीलाई मलाई जस्तो पीडा नपरोस् । कसैले उकासेर उकासिएको पनि होइन । म आफ्नो ठाउँमा एकदमै सही छु । मैले गल्ती गरेको छैन ।’ गायिकाले थप्दै भनिन्, ‘पटकपटक सामाजिक सञ्जालमा कुरा फेर्नुमा पलकै दबाब थियो । उहाँले मेरो फिलिङसँग खेल्नु भएपछि र मलाई जबर्जस्ती गरेपछि मैले मेरो आमालाई बताए । त्यसपछि आमाले प्रहरीमा उजुरी दिन्छु भन्नुभएको थियो । त्यसअघि आमाले पलसँग भेट्ने कुरा भयो । भेट पनि भयो । भेटमा पलले म ऊसँग बिहे नै गर्छु । उजुरी नहाल्नु भनेर मेरो परिवारसँग पटकपटक मिटिङ पनि गर्नुभयो ।’

पलले बिहे गर्ने आश्वासन दिएर घटनालाई सार्वजनिक गर्नबाट रोकेको पीडित भनिएकी गायिकाले बताएकी छिन् । ‘जब उहाँको स्वार्थ पूरा भो, तब तिमी आफ्नो बाटो हिँड, म आफ्नो बाटो हिँड्छु भन्नुभयो । म उहाँलाई चोखो माया गर्थे, निकै विश्वास गर्थे । पटकपटक मेरो फिलिङसमा खेल्नुभयो ।’ उनले भनिन् ।

यदि बिहे गरेको भए तपाईं जबर्जस्ती करणीको उजुरी दिनुहुन्नथ्यो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ती गायिकाले भनेकी छिन्, ‘सुरुमा केयरिङ निकै गर्नुहुन्थ्यो । पछि बिहे गर्छु भन्नुभयो । सार्वजनिक भएको भिडियोमा पनि उहाँले गलफ्रेन्ड ब्बाईफ्रेन्डमा यस्तो रिलेसन त भइहाल्छ, बच्चा बसेको भए पो भन्ने कुरा भन्नु भएको छ । यो विषयमा अहिलेसम्म मैले नबोलेको हुनाले अहिले मेरो कुराको कसैले विश्वास गर्नुभएको छैन नि त सर ।’

फरार पल खोज्दै प्रहरी
आफूविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएपछि पल फरार छन् । पलविरुद्ध जिल्ला अदालत तनहँुबाट पक्राउ पुर्जीसमेत जारी भएको छ । तर उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरीका अनुसार समाचार आइसकेपछि पलले आफू बस्दै आएको शान्तिनगर क्षेत्र छाडेका थिए । उनले मोबाइलसमेत स्विच अफ गरेका थिए ।

उनको खोजीमा प्रहरीका दुई महत्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ । उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको छ ।

कानुनमा के छ ?
अनुसन्धानकै क्रममा आरोपी पल शाह पक्राउ परेमा निजलाई अधिकतम २५ दिनसम्म न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न पाउने व्यवस्था छ । यसको अर्थ आरोपी तत्काल पक्राउ परेमा अदालतले अनुसन्धानको लागि दिएको म्यादका आधारमा अधिकतम २५ दिन थुनामै राखी अनुसन्धान गर्न पाउनेछन् । त्यसपछि पनि उनीहरूले आरोपलाई पुष्टि गर्ने आधार र प्रमाणसहित निजमाथि मुद्दा चल्नुपर्ने हो कि होइन सो को राय लिएर जिल्ला सरकारी वकिल कार्यालयमा जानुपर्नेछ ।

सरकारी वकिल कार्यालयले अभियोग दाबी पुग्ने अवस्था देखेमा मुद्दा लैजाने निर्णय गर्नेछ भने अभियोग दाबी नपुग्ने अवस्था देखेमा टिप्पणी उठाएर मुद्दा नलैजाने निर्णय गर्नेछ । तर त्यस्तो निर्णय गर्दा त्यसको कारणसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा समेत पठाउनुपर्नेछ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर नगर्ने निर्णय गरेको अवस्थामा पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा दर्ता गर्न आदेश दिन सक्नेछ । त्यस्तो अवस्थामा सरकारी वकिल कार्यालयले पुनः मुद्दा दर्ता गर्नुपर्नेछ । आरोपी पक्राउ नपरेको अवस्थामा पनि प्रहरीले जाहेरी तामेलीमा राखी अनुसन्धानलाई जारी नै राख्न सक्नेछ । तर कानुनतः बलात्कारको मुद्दामा एक वर्षभित्रै मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले प्रहरीले उक्त अवधिमै मुद्दा लैजानु पर्नेछ ।

मुलुकी अपराध संहिताको धारा २१९ मा जबर्जस्ती करणी गर्न नहुनेबारे उल्लेख गरिएको छ । संहिताको धारा २१९ मा बालिकाको उमेरअनुसार करणी गर्ने व्यक्तिलाई कैद सजाय हुने व्यवस्था गरिएको छ । हाल बलात्कारको अभियोग लगाएकी नाबालिगको उमेर १७ वर्ष रहेको कारण यदि आरोप पुष्टि भएको अवस्थामा आरोपितलाई १० देखि १२ वर्षसम्मको कैद सजाय हुन सक्नेछ ।

जबर्जस्ती करणीको मुद्दामा जाहेरी दिनका लागि हदम्यादसमेत तोकिएको छ । मुलुकी अपराध संहिताको धारा २२९ मा जबर्जस्ती करणीमा जाहेरी दिने हदम्याद तोकिएको छ । धारा २२९ मा यसरी बलात्कार भएको अवस्थामा एक वर्षभित्र जाहेरी दिनुपर्ने उल्लेख छ । तर बालबालिकासम्बन्धी ऐनमा भने यदि कुनै बालिका पहिले नै बलात्कृत भएको भएता पनि उनी बालिग भएको अर्थात् १८ वर्ष पुगेको मितिले एक वर्षभित्र जाहेरी दिन सक्ने व्यवस्था गरेको छ । यस आधारमा हुँदा यी बालिकाले आफू १९ वर्ष नलाग्दासम्म पनि जाहेरी दिन सक्नेछिन् ।

मुलुकी देवानी कार्याविधि संहिता, २०७४ को दफा ५२ को उपदफा १ मा फिराद वा मुद्दा गर्नुपर्ने कुनै व्यक्ति नाबालिग भएको अवस्थामा निज बालिग भएपछिको दिनको आधारमा हदम्याद प्रारम्भ हुने कुरा उल्लेख गरिएको छ । जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने हदम्याद एक वर्षको भएको कारण बालिका १९ वर्ष नलाग्दासम्म पनि मुद्दा दर्ता गर्न सकिने व्यवस्था छ ।