आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले पहिलो खेलमा युएई यू–१९ लाई रोमाञ्चक जित दर्ता गर्दै ५ रनले पराजित गरेको छ। मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले डकवर्थ लुइस (डीएलएस) प्रणालीमार्फत् जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रन बनायो। नेपालका लागि कप्तान नरेन भट्टले उत्कृष्ट प्रदर्शन गर्दै ७५ बलमा ७ चौका सहित ६७ रनको योगदान दिए। त्यस्तै दिलसाद अलिले ३४ रन र साहिल पटेलले ३२ रन जोडे।
युएईका बलरमध्ये उद्दिस सुरुले ३ विकेट लिए भने युग शर्माले २ र शालोम डिसुजाले पनि २ विकेट झारे।
२०१ रनको लक्ष्य पछ्याएको युएईले ३०.१ ओभरमा ६ विकेटको क्षतिमा १४१ रन बनाउँदा खेल वर्षाका कारण रोकियो। त्यसबेलासम्मको रनरेटका आधारमा डिएलएस प्रणालीअनुसार नेपाल ५ रनले अगाडि रहेको पुष्टि भएपछि नेपाल विजयी घोषित भयो।

यूएईका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका यायिन किरण राईले एक्लैले लड्दै १०४ रनको अविजित शतकीय इनिङ्स खेले। उनले ९६ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। अन्य ब्याटरहरूबाट खासै योगदान आउन सकेन। मोहम्मद रयान खानले ३५ रन, करण धिमानले १५ रन बनाए भने उद्दिस सुरु १ रनमा अविजित रहे।
नेपालका लागि बलिङमा अशोक धामी र सन्तोष यादवले समान २–२ विकेट लिए। अभिषेक तिवारी र कप्तान नरेन भट्टले १–१ विकेट लिँदै टीमको जितमा योगदान गरे।
यस जितसँगै नेपालले यू–१९ विश्वकपको छनोट अभियानमा सशक्त सुरुवात गरेको छ। अर्कोतर्फ, आजै सम्पन्न अर्को खेलमा अफगानिस्तानले ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।
अबको खेलमा नेपालले अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ, जसलाई समूह चरणकै रोचक भिडन्तको रूपमा हेरिएको छ।
प्रतिक्रिया