देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षामन्त्री पन्तको आज शपथ : शिक्षक आन्दोलन लगाउलान् पार ?

देशान्तर

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज शपथ लिँदै छन् । शपथसँगै उनले आजैदेखि काम थाल्नेछन् । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुगेका छन् । शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।

शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन अवरुद्ध छ । एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने आजदेखि सुरू हुनुपर्ने कक्षा १२ को परीक्षा १० दिन पछाडि सारिएको छ ।

नवनियुक्त शिक्षामन्त्री पन्तसँग ०६१ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बनेको अनुभव छ । उनी ०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र ०६६ सालका प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार थिए ।

अहिले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका पन्त समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

उनले २०३२ सालदेखि पत्रकारिता सुरु गरेका थिए । पन्तले बुधबार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा (रातो) र नेपाल पत्रकार महासंघमा महासचिव भएर समेत काम गरेका थिए ।