देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक : ‘स्पोर्ट्स एन्थम’को मान्यता दिन निर्देशकको माग

देशान्तर

काठमाडौं । यसबर्षको सुपरहिट चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको यो गीतलाई प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतमा सङ्गीत हरि लम्सालको रहेको छ । गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ । गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । उनले भने, “यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ । अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो निकै ऊर्जाशील गीत हो, यसले राष्ट्र बोकेको छ, खेलाडी बोकेको छ, खेलकुद बोकेको छ । र, यो नेपालको लागि ‘स्पोट्र्स एन्थम’ हो । एन्फाले नै यो गीतलाई ‘स्पोट्र्स एन्थम’को लागि पहल गर्नुपर्छ ।”

गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ । नेपालमा सुपरहिट साबित भइसकेको यस चलचित्रलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।

यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्, जो चलचित्रमा कलाकारको रूपमा समेत प्रस्तुत भएका छन् । ‘अञ्जिला’ चलचित्रमा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।