काठमाडौं । फरक जनरामा बनेका चैत्रको ८ गतेबाट रिलिजमा आउन लागेका दुई चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ‘द्रौपदी’को शुक्रबार र चलचित्र ‘११ः५५’(डु नट ट्रस्ट एनीवन)को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।
महिला संवेदनामा बनेको चलचित्र‘द्रौपदी’ले एक अग्र्यानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ । ट्रेलरमा पश्चिम नेपालको रमणीय जिल्ला डोल्पाको प्राकृतिक सौन्दर्यका साथमा त्यहाको ग्रामीण जनजीवन, स्थानीय संस्कृति, माया–पिरतीका प्रसंगका साथै पीडा र संघर्षलाई पनि चित्रण गरिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्या पारेर सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा महिला सशक्तीकरणको मुद्दासमेत उठाइएको छ । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको चलचित्रमा आश्विनी शाही, रवि ओड, जेएलसन अधिकारी, कविराज भाम, सुजाता तिमल्सिना, विष्णु ठडराई ( सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्यको अभिनय रहेको छ । ऋतु आचार्य र सुवास ठडराई सह निर्माता रहेको आरबी मुभिजमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।

चलचित्रमा कथा, पटकथा, संवाद गीत तथा निर्देशन आचार्यकै रहेको छ । चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ । यस्तै, बिहीबार सार्वजनिक भएको क्राइम थ्रिलर जनरामा आधारित ‘११ः५५’को ट्रेलरमा कलाकारहरूले पनि लोभलाग्दो काम गरेका छन् । यो चलचित्रको ट्रेलरले आधुनिक सहरको अँध्यारो पाटोलाई उजागर गरेको छ । ट्रेलरमा स्वार्थ, धोका, बदला र रहस्यको जालो देख्न सकिन्छ । विचित्र फिल्मस्को ब्यानरमा गुड जब आट्र्सको सहकार्यमा तयार भएको यो चलचित्रमा केशव पाण्डेको कथा र निर्देशन छ ।
चलचित्रमा एमएस अग्रज, केशव पाण्डे र शेखर ज्ञवालीको लेखन छ । एमएस अग्रज कार्यकारी निर्माता रहेको चलचित्रमा श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीलगायत कलाकारको अभिनय छ । श्याम शर्मा र सरोज शर्माको लगानी रहेको यो फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रद्युम्न मिश्रको डीओपी, पासाङ दावा शेर्पाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।
प्रतिक्रिया