काठमाडौं । शुक्रबार सार्वजनिक नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर युट्युवको ट्रेण्डिङ नम्बर २ मा आएको छ । सार्वजनिक गरिएको एक दिनमै ट्रेण्डिङमा आएको हो । यो खवर तयार पार्दा सम्म ट्रेलरले ७ लाख ५७ हजार भ्यूज र २२ हजार लाईक पाएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फुटबल खेलाडी बन्न एन्जिलाले गरेको संघर्षदेखि गाउँबाट काठमाडौं आएपछि फुटबल टिमको कप्तान हुँदासम्मको कथा समेटिएको छ ।
चलचित्रमा एन्जिलाले नै आफ्नो भूमिकामा अभिनय गरेकी छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफूले जीवनमा बिर्सन नहुने धेरै नाम रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । उनले दयाहाङ राई जस्तो कलाकारसँग काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरिन् । ‘अञ्जिला’बाट अन्य खेलाडीको कथामा पनि चलचित्र बन्नका लागि बाटो खुलेको उनको भनाइ छ ।
कार्यक्रममा अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको ठूलो फ्यान रहेको बताए । कप्तानको चलचित्र बन्दै छ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएको र यसको लागि आफू जिन्दगीभर ऋणी भएको बताएका थिए । यसमा उनी एन्जिलाको बुबाको भूमिकामा छन् ।
निर्देशक मिलन चाम्सले फिल्ममा अन्य राष्ट्रिय खेलाडीको पनि अभिनय रहेको जानकारी दिए । उनले गैरकलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको अनुभव सुनाउँदै दयाहाङ राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको बताए । एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरणा दिने उनको विश्वास छ । फागुन २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङलगायतको पनि अभिनय छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने सह–निर्माताको रूपमा टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया छन् । यो फिल्मबाट हुने आम्दानीबाट कप्तान एन्जिलाका लागि काठमाडौंमा घर बनाइदिने निर्माता श्रेष्ठले घोषणा गरिसकेका छन् । चलचित्रको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । सिनेमाको छायांकन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । ट्रेलरले एक दिनमै ५ लाखभन्दा बढीको युट्युब भ्युज पाएको छ । यस्तै एक साताअघि सार्वजनिक भएको चलचित्रको टिजरले १ मिलियन भन्दा बढी भ्युज पाएको छ । ‘अञ्जिला’मा विषयगत शीर्ष गीत प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका छन् । गीतमा हरि लम्सालको संगीत रहेको छ भने स्वर बविना किराँतीको रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
प्रतिक्रिया