देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रतिलिपि अधिकार संरक्षण अनुशिक्षण कार्यक्रम’

देशान्तर


काठमाडौं । गीतकार संघ नेपाल र संगीतकार संघ नेपालको संयुक्त आयोजना एवं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा ‘प्रतिलिपि अधिकार संरक्षण अनुशिक्षण कार्यक्रम’ हालै सम्पन्न भएको छ । कार्यक्रममा ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित सन्धि सम्झौता र प्रतिलिपि अधिकार ऐन कार्यान्वयनमा प्रहरीको कर्तव्य, दायित्व तथा भूमिकाका विषयमा अन्तरक्रिया एवं प्रशिक्षण भएको थियो । उपत्यकाका प्रहरी अधिकृतहरूसँग जिल्ला प्रहरी परिसर भद्रकालीमा कार्यक्रमको आयोजना गरी स्रष्टाको बौद्धिक अधिकार, नैतिक अधिकार र प्रतिलिपि अधिकारका बारेमा अनुशिक्षण गरिएको हो । उपत्यकाका ६० जना प्रहरी अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा स्रष्टाहरूले आफ्नो अधिकार हनन भएको हुँदा फौजदारी मुद्दा अनुसार अगाडी बढिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।


उपत्यकामा रहेका यातायात, होटल, पार्टीप्यालेस, रेस्टुरेन्ट, डान्स बार, दोहोरी, क्लब र मेला महोत्सवमा सार्वजनिक रूपमा स्रष्टाका गीतसंगीत प्रयोग गरी व्यवसाय गरिरहेको हुँदा सोही स्थानबाट रोयल्टी उठाउनका लागि प्रहरीसमक्ष स्रष्टाहरूले सहयोगको आग्रह गरेका थिए । कार्यक्रममा प्रतिलिपि अधिकारको विषयमा कवि गीतकार तथा पूर्वरजिष्ट्रार बिसुकुमार केसीले प्रशिक्षण दिएका थिए भने संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले रोयल्टी संकलनको क्षेत्राधिकार, नियम र प्रतिलिपि अधिकारको विषयमा प्रहरी अधिकृतहरूलाई अनुशिक्षण गरेका थिए । यस्तै संगीत रोयल्टी संकलन समाजका महासचिव बद्री पाण्डेले डाटासहित रोयल्टीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


उपत्यकाका प्रहरी अधिकृतहरूले प्रतिलिपि अधिकार र रोयल्टीका विषयमा मुद्दा परेको र सो बारेमा कम जानकारी भएका कारण मुद्दालाई अगाडि बढाउन असजिलो भएको बताएका थिए । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले स्रष्टाको बौद्धिक, नैतिक र प्रतिलिपि अधिकारका बारेमा सदैव साथ दिन तयार रहेको बताउँदै उपत्यकाका प्रहरी अधिकृतहरूलाई यो प्रशिक्षण कार्यक्रमले सहज बनाउने बताउँदै मुद्दा लिएर अगाडि बढाउन अनुरोध गरे । अधिकारीले मुद्दामा असजिलो हुने वित्तिकै प्रतिलिपि अधिकार रजिष्ट्रार, संगीत रोयल्टी संकलन समाज, गीतकार संघ नेपाल र संगीतकार संघ नेपालसँग सहकार्य गरी थप कडाइ गर्न आग्रह समेत गरे ।


सो कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, पूर्वरजिष्ट्रार तथा कवि गीतकार बिसुकुमार केसीलगायत अन्य प्रतिनिधिहरू, उपत्यका प्रहरी कार्यालय मातहतका मुद्दा चल्ने सबै कार्यालयका सिनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।