देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि तीन महिनासम्म हिरासतमै रहने !

देशान्तर

काठमाडौं । ‘जान्नेलाई छान्ने’ भन्दै राजनीतिक दल खोल्दै छोटो समयमै राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले सहकारी रकम हिनामिना प्रकरणमा पक्राउ परेर लगातार बयानको शृंखला जारी छ । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेविरुद्ध कास्की प्रहरीले विभिन्न चार प्रमुख अभियोगमा अनुसन्धान जारी राखेको बताएको छ । अभियोगहरूमा ठगी, किर्ते (नक्कली कागजात निर्माण), संगठित अपराध र सम्पत्ति शुद्धीकरण समावेश छन् । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । उनीमाथि लागेको यी अभियोगहरूमा प्रहरीले ९० दिनसम्म अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ । करिब तीन सातादेखि हिरासतमा रहेका उनलाई तीन महिनासम्म प्रहरीले बयान र अनुसन्धान पछि मात्र थुनछेक बहसका लागि अदालत लाने देखिन्छ । 

कास्की प्रहरीले गोरखा मिडियामा भएको ६५ करोड ५४ लाख रुपैयाँको अपचलनमा लामिछानेको संलग्नता छ भनेर अनुसन्धान गरिरहेको छ । यो रकम पाँचवटा सहकारी संस्थाहरू सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा र सुप्रिमबाट गोरखा मिडियामा आएको थियो । प्रहरीका अनुसार, उक्त रकम सहकारीका खाताबाट गोरखा मिडियामा ल्याएर अपचलन गरिएको थियो । 

गोरखा मिडियामा आएको ६५ करोड रुपैयाँसँग सम्बन्धित विभिन्न अनियमितताहरू जोडिएकाले रविविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा प्रमाणित हुने सम्भावना रहेको बताइएको छ । 

गोरखा मिडियामा भएको अपचलनमा रवि लामिछानेको ‘पाटर्नर’ जीबी राई भने फरार छन् । सरकारी वकिलका अनुसार, रवि लामिछाने र उनका सहकर्मीहरूको सहकार्यले यो अपचलनलाई संगठित अपराधको रूप दिएका छन् । साथै, सहकारीबाट ऋण प्रवाह गर्दा रविले अन्य व्यक्तिलाई मञ्जुरी दिएको कारण ठगीको आरोप पनि पुष्टि भएको छ । रविको नाममा सहकारीबाट ऋण लिएर रकम निकालिएको र सो रकम गोरखा मिडियामा लगानी गरिएको देखिएको छ । यसले उनले आर्थिक लाभ लिएको र राज्यलाई धोका दिएको प्रमाणित भएको छ । अदालतमा सरकारी वकिलहरूले यस घटनालाई सम्पत्ति शुद्धीकरणको मुद्दासँग जोडेर पनि बहस गरेका छन् ।

रविको पक्षबाट अदालतमा अधिवक्ताहरूले थुनामा नराखी बाहिरै बसेर अनुसन्धान गर्न माग गर्दै आए पनि सरकारी वकिलहरूले भने रवि लामिछानेको प्रत्यक्ष वा परोक्ष संलग्नता देखिने र छानबिनका लागि उनलाई थुनामा राख्नुपर्ने तर्क गरेपछि पछिल्लो समय अदालतले १० दिनको म्याद दिएको छ ।

सहकारी रकम ठगीसँगै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि छानबिन भइरहेकाले प्रहरीले ९० दिनसम्म रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेको छ । रविका बैंक खाताका स्टेटमेन्ट, सम्पत्तिको विवरण, कर तिरेको प्रमाण र अन्य कागजातहरू जुटाउने प्रयासमा रहेको छ । 

अहिले कास्की प्रहरीको थुनामा रहेका उनलाई रूपन्देही, चितवन, काठमाडौं, पर्सालगायत जिल्लामा समेत थुनामा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ । रूपन्देही प्रहरीले यसअघि नै लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीबाट पक्राउ अनुमति लिइसकेको छ । कास्कीबाट छुटेमा उनलाई रूपन्देही लैजाने, त्यसपछि चितवन र काठमाडौंमा लगेर मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ । रविलाई कास्की अदालतबाट हिजो शनिबारसम्म हिरासतमा राख्ने अनुमति रहेकोमा आज फेरि प्रहरीले अदालत लगेर म्याद थप गर्ने तयारी गरेको छ । 

सभापति लामिछाने पक्राउ परेपछि सुरुमा पोखरामा आन्दोलन गरेको रास्वापले त्यहाँ जनमर्थन प्राप्त नगरेपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । अहिले उसको आन्दोलन पनि सुस्ताएको छ । तिहार र छठपर्व सकिएसँग अब फेरि रास्वपाले सडक प्रदर्शन सुरु गर्ने एक नेताले देशान्तरलाई बताएका छन् ।

संसदीय विशेष छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा लामिछानेको कुनै संलग्नता नरहेता पनि गोर्खा मिडियामा प्रबन्ध–निर्देशक हुँदा गरेको कारोबारमा भने जवाफदेही हुनुपर्ने उल्लेख गरेको छ ।