देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविको उन्मुक्ति टर्दै

देशान्तर


काठमाडौं । आफूमाथि लागेका आरोपमा निरन्तर इन्कारी बयान दिँदै आए पनि अनुसन्धानका क्रममा प्रहरीले एकपछि अर्को बलियो प्रमाण भेट्टाउन थालेपछि रास्वपा सभापति रवि लामिछानेले अदालतबाट सफाइ पाउने सम्भावना टर्दै गएको छ भने उनी कति वटा र कुन कुन मुद्दामा दोषी ठहर हुने हुन् भनेर चर्चा सुरु भएको छ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीको आरोपमा कात्तिक २ मा पक्राउ परेका रविमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेकाले उनी सबै कसुरमा दोषी ठहर हुने सम्भावना बढ्दै गएको छ भने उनका पार्टीका उपाध्यक्षदेखि लिएर प्रमुख सचेतकसम्म प्रधानमन्त्री र सत्तारूढ पार्टीका नेताहरूसँग हारगुहार गर्दै हिँड्नुले उन्मुक्तिको सम्भावना टर्दै गएको छ । रविसँगै पार्टी पदाधिकारी र पार्टी नै सती जान खोज्नुले रास्वपाको राजनीतिक धरातल कस्को जगमा ठडिएको रहेछ भन्ने स्पष्ट भएको छ ।
संसदीय विशेष समितिलाई दिएको ९ घण्टा लामो बयान होस् वा त्यसपछि प्रहरी र सरकारी वकिलले लिइरहेका बयान हुन्, कुनै पनि बयानमा रविले सहकारी ठगीमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको र आफू निर्दोष रहेको भन्न छुटाउँदैनन् । तर, पछिल्लो पटक सहकारीबाट लिएको ऋण तिर्न रवि स्वयंले काटेका चेक प्रहरीले प्रमाणका रूपमा अघि सारेपछि भने रवि अवाक भएका छन् ।
विशेषगरी जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय रूपन्देहीले गरेको अनुसन्धानमा रवि स्वयंले सहकारीको ऋण तिर्न चेक काटेको भेटिएको हो । प्रहरीले अनुसन्धानकै क्रममा रहेको बताए पनि उनले काटेका चेक नै सार्वजनिक भइसकेपछि रवि अब के भनेर टार्ने होला भनेर आफ्ना कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।
पोखरा र भैरहवापछि रविलाई गत शुक्रबार काठमाडौं ल्याइएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा बयानका लागि काठमाडौं प्रहरीले उनलाई ल्याएको हो । उनीमाथि आज आइतबार पनि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुँदैछ । तीन जिल्लामा बयान सकिएपछि उनलाई चितवन र पर्सा पनि लैजाने प्रहरीको तयारीको छ । चितवनको सहारा र पर्साको सानो पाइला सहकारीबाट पनि ग्यालेक्सी टीभीमा पैसा आएको थियो ।