देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

भारी मनका साथ दशैंको शुभकामना 

देशान्तर

नेपालीहरूको महान् चाड बडा दशैं गत बिहीबार घटस्थापना गरेसँगै सुरु भइसकेको छ । तर, यस पटकको दशैं भारी वर्षाका कारण सिर्जित प्राकृतिक विपत्तिले मनाउन सहज छैन, करिब तीन दिन सडक सञ्जालविहीन भएको उपत्यका अझैं पनि पूर्णरूपमा मुलुकभरि जोडिन सकेको छैन । त्यसकारण बर्सेनि दशैंमा २० लाखको हाराहारीमा आ–आफ्नो कुलघर अर्थात् जन्मघर फर्कने नेपाली परम्परा यस पटक तोडिने प्रायः निश्चित छ । दशैंको मुखमा आएको प्राकृतिक विपत्तिका कारण महान् चाड दशैं खल्लो त हुने नै छ, दशैंको शुभकामना पनि भारी मनले दिनुपर्ने बाध्यता छ । एक दशकभित्रै महाभूकम्प, कोरोना महामारी बेहोरेको नेपालमा यस पटकको दशैंमा प्राकृतिक विपत्ति बेहोर्दै दशैं मनाउनु पर्ने भएको छ ।

काम विशेषले बाहिर रहेकाहरू दशैं मनाउन धमाधम घर फर्किरहेका छन् । कतिपय घर फर्किने सुरसारमा छन् । कति त सडक खुल्ला र घर जाऔंला भनेर प्रतीक्षा गरिरहेका छन् । जो घरमा छन् उनीहरूले आफन्तजनको स्वागत र चाड मनाउनका लागि तयारी गरिरहेका छन् । वर्षमा एक पटक आउने सबैभन्दा ठूलो चाड मनाउन कसलाई पो चाहना हुँदैन र ? 

तर, यसपालि दशैं मनाउन विगतमा जस्तो सजिलो छैन । दशैं सुरु हुनै लाग्दा आएको बाढी र पहिरोका कारण कयौं परिवार, गाउँ र समाजलाई शोकमग्न बनाएको छ । सिंगो देशले नै तीन दिन शोक मनायो । दुई दिनको बाढी र पहिरोबाट दुई सयभन्दा बढी नागरिकको ज्यान गएपछि देश नै शोकाकुल बन्यो । पूर्वसूचना पाइसकिएको वर्षा अनि बाढी र पहिरोबाट हुन सक्ने क्षति रोक्न सरकारले समयमै कदम नचाल्दा र नागरिक आफैंले पनि सतर्कता नअपनाउँदा यति ठूलो अनि अकल्पनीय क्षति भाग्नु परेको हो । 

बाढी पहिरोमा परेका केही नागरिक अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । हजारौं नागरिक विस्थापित भएका छन् । हजारौंको घरबार बाढीले बगाएको छ, पहिरोले पुरेको छ । चाडबाडको मुखैमा आइपरेको यो विपत्तिले रमाइलो चाडलाई नै नरमाइलो बनाइदिएको छ । आम नागरिकको मन अमिलो पारिदिएको छ । 

यति ठूलो क्षति किन भोग्नु पर्‍यो ? यसको सहज उत्तर छ, सरकारले पूर्वसूचना पाएर पनि क्षति कम गर्ने पूर्वतयारी नै गरेन । भारी वर्षा हुने दिनमा राजमार्गमा सवारी आवागमन रोक्नुपर्ने थियो, त्यसो गरिएन । नदी किनारमा बस्ने नागरिकलाई नदीमा पानीको बहाव बढ्नासाथ अन्यत्र सार्न सकिन्थ्यो, त्यो पनि गरिएन । उद्धारका लागि सुरक्षाकर्मी तैनाथ राख्न सकिन्थ्यो, त्यो पनि गरिएन । राज्यका तर्फबाट भएको हेलचेक्र्याईं को त कुरा गरिसाध्यै छैन । राज्यले पूर्वसूचनाको बेवास्ता गर्‍यो, नागरिकले पनि चासो दिएनन् । यी दुवै कारणले अकल्पनीय क्षति भयो । अझै पनि देशका मुख्य राजमार्गहरू अवरुद्ध छन् । घर फ चाहेकाहरू सहज रूपमा घर फर्किन पाएका छैनन् । तत्काल राजमार्गहरूको मर्मत गरिनुपर्छ र सहज रूपमा सवारी आवागमनको वातावरण बनाउनुपर्छ । 

तर पनि एउटा घटना कारण आम जनजीवन सधैंभर शिथिल हुन सक्दैन । समाजलाई गतिशील बनाउनुपर्छ । जो जीवित छन्, उनीहरूका लागि राज्यले आवश्यक योजना बनाउनुपर्छ, उनीहरूलाई नियमित जीवनमा फर्काउनुपर्छ । समयको गतिसँगै अगाडि बढाउन सहयोग गर्नुपर्छ । राज्य अनि समाज दुवैको दायित्व हो यो । 

हो, विपत्तिले शोकमग्न बनायो । तर, यो शोकलाई शक्तिमा रूपान्तरण गर्दै अगाडि बढ्नुपर्छ । हुनेखानेहरूले हुँदा खानेहरूलाई साथ दिनुपर्छ । सबै सँगै मिलेर चाड मनाउनुपर्छ । चाडको बेला नागरिकले निन्याउरो मुख लगाउने अवस्थाको अन्त्य गरिनुपर्छ । आवश्यक परे सरकारले नै उनीहरूका लागि चाड मनाउने खर्चको व्यवस्था गरिदिनुपर्छ । शोक छ, तर, शोकलाई शक्तिमा रूपान्तरण गर्दै अगाडि बढ्नुको विकल्प छैन । नवदुर्गा माताले सबैलाई शोकमा शक्तिमा परिणत गर्ने सामथ्र्य प्रदान गरून् । यो दशैंले दुःख कष्ट नाश गरोस् । आगामी दिन सबैको शुभ होस् । तपाईंहरू सबैलाई विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना ।