देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुकको मृत्यु हुन सक्छ


प्रत्येक श्वासमा लाखौं कीटाणु शरीरभित्र छिर्छन्
नाकबाटै छिर्छन्
नाका नाकाबाट आएर छिर्छन्
नाकले नै रोक्छ
शरीरको अंग प्रत्यंगलाई रोक्न लगाउँछ
ती कीटाणुले केही बिगार्न सक्दैनन्
केवल त्यति बेलासम्मको लागि मात्र
जबसम्म आन्तरिक तागत बलियो हुन्छ
यो नै शरीरको प्रतिरक्षा
प्रत्येक मान्छेको आन्तरिक तागत ।

शरीरको अर्थ नै बुढो हुँदै जानु पर्छ
जब बुढो हुन्छ,
ऊ कमजोर हुँदै जान्छ
आन्तरिक तागत घट्दै जान्छ
रोग लाग्नै पर्छ उसलाई
किनकि उसको जीवन–यात्रा टुंगिनै पर्छ
यो सत्यभित्र बाँचेको म
तबसम्म यात्रा जारी रहन्छ मेरो
प्रत्येक श्वास–प्रश्वासमा
आन्तरिक तागत रहुञ्जेलसम्म
असल सोच बढाउनको लागि
निष्काम कर्म गर्नको लागि
यही नै धर्म मेरो
हो, प्रत्येक श्वास–प्रश्वासमा

यहीँबाटै सुरु हुन्छ म र मेरो देशको फरक
म बुढो हुन्छु, रोग लाग्छ अनि सकिन्छु
तर देश बुढो भएर सकिँदैन
जति पुरानो, त्यति बलियो
मुलुक सधैं सधैं बाचिरहन्छ

तर रोग लाग्यो भने
कहिले बिसेक नहुने त्यो रोग भयो भने
मुलुक पनि सकिन्छ
अहिले मेरो मुलुकमा त्यस्तो रोग लागेको छ
मुलुक वारिपारिबाट मात्र होइन
समुन्द्र वारिपारिबाट पनि
मुलुकको आन्तरिक तागत चुसिरहेका छन्
शासकको अघोषित सम्झौता पराइसँग
आशीर्वाद देऊ सत्ता चुस्नको लागि
तिमीहरू मुलुक चुस,
चुस, अझ बेसरी चुस
यो मुलुक मरुभूमि नहुन्जेलसम्म चुस
जनताको नाममा ब्रह्मनाल नपुगेसम्म
त्रिमूर्तिले मुलुक चुस्न पाउनु पर्छ
मरेपछि डुमै राजा
बाँचुन्जेल प्रतिस्पर्धा पराई–प्रभु आशीर्वादको
आलोपालो राज्य भोग त्रिमूर्तिको

भरम भ¥र्याः यो नटुंगिने शासकीय रोग
मुलुकको शरीरभरि फैलिँदै गएको
मुलुकको आवादीमा तन्नेरी हातहरू
तीस वर्ष अझै भरपुर यो मुलुक नवनिर्माणको लागि
यो शासकीय रोगले गर्दा
ती तन्नेरीहरू नै आँसु पिएर मुलुक छोड्न विवश
लाखौंलाख यसरी खाली भएका घरहरू
लाखौं रोपनी यसरी बाँझो बनेका जमिनहरू
शक्तिले मात्तिएर मनपरी राजको लागि
अझै रूपान्तरण भ्रष्टाचार रहित विकास र समृद्धिको
झूटको खेती गरिरहेका यी मुकुण्डोधरीहरू

अचानाको चोट खुकुरीले जान्दैन
भनेजस्तो
मुलुकलाई घात गर्न धेरै चलाक
यी पटमूर्खहरूलाई के थाहा ?
हामीलाई कति दुखिरहेको छ भन्ने
यो रोग बिसेक नहुने नै भयो भने
नाम यही नै रहने छ
नदी यहीँबाट नै बहिरहने छन्
हिमाल पहाड यस्तै रहे पनि
मुलुकको मृत्यु हुनसक्छ ।