देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । कांग्रेसले सरकारलाई संसदीय मूल्य मान्यताविरुद्ध काम नगर्न चेतावनी पनि दिएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गर्दै यस्तो निर्णय गरेको हो । संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए ।


संघीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए । सत्तापक्षकै कतिपय सांसदहरुले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसले यो विषयमा मन्त्री लामिछानेमाथि छानबिन माग गर्दै संसद अवरुद्ध समेत गरेको थियो । यही सन्दर्भमा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।त्यसबारे छलफल गर्न आइतबार बिहान संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बसेको थियो । सो बैठकले, सरकारले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको ठहर गरेको छ ।


नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पार्दै संसदीय छानबिन समितिमात्रै माग गरेको बताएको छ । कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् आफूहरुले अहिले गृहमन्त्रीको राजीनामा माग नगरेको स्पष्ट पार्दै संसदीय छानबिन चारवटा कारणले आवश्यक रहेको बताएका छन् । उनले छानबिन समितिमा कांग्रेस, एमाले, रास्वपालगायत सबै दलका प्रतिनिधि रहने बताउँदै यसमा आपत्ति जनाउन नपर्ने बताएका छन् ।