देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी बढुवामा पहुँचवालाकै मनपरी

देशान्तर


काठमाडौं । सुशासनको नारा लगाउन नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकै सहयात्री विवादै विवादका पर्याय तथा गृहमन्त्री रवि लामिछानेले फेरि प्रहरीको बढुवामा चलखेल गरेका छन् । स्वार्थ बाझिने गरी गृहमन्त्री भएपछि ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिसको निर्णय विवादमा परेको एक साता नपुग्दै फेरि प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा प्रहरी बढुवा गर्दा पनि निर्णय विवादित बनेको छ । शक्ति केन्द्रको आडमा कारबाहीमा परेकाहरू पनि प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । केही समयअघि एसपी बढुवामा वरीयता मिचेका गृहमन्त्री रविले डीएसपी बढुवामा त विभागीय कारबाही भोगेकाहरूलाई बढुवा गरेर पुरस्कृत गर्नुलाई उनले लगाउने सुशासनको नारालाई खिल्ली उडाएको रूपमा टिप्पणी गर्न थालिएको छ ।


प्रहरी प्रधान कार्यालयले बिहीबार १९ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।
गृहमन्त्री लामिछाने र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच बढुवा सूचीमा सहमति भएपछि बढुवा सूचीको अन्तिम नम्बर रहँदा पनि १९ जनाभित्र अटाउन सफल भए । उनी शक्ति केन्द्रको दबाबमा बढुवा भएको प्रहरी वृत्तमै चर्चा चलेको छ ।
बढुवा सिफारिसमा परेकामध्ये भीषणबाबु राई, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, रणबहादुर चन्दलगायत अधिकृतहरू विगतमा कारबाहीमा परेका हुन् । राई दरबारमार्ग हुँदा तथा घर्तीमगर नागढुंगामा कार्यरत रहँदा कारबाहीमा पर्दा चन्द र ओलीलाई पनि नसियत दिएको थियो । तर अहिले नयाँ सत्ता समीकरण बनेसँगै रविलाई रिझाउँदै बढुवामा पर्न सफल भएका छन् । ९८ प्रतिस्पर्धीमध्येबाट १९ जनाको बढुवा हुँदा शक्तिकेन्द्रकै हालिमुहाली र आर्थिक चलखेल गरेर बढुवा भएको चर्चा पनि चलेको एक प्रहरी अधिकृतले देशान्तरलाई बताए ।
८९ नम्बरमा रहेका राजन लामा एआईजी टेकप्रसाद राईको पीए भएकै आधारमा बढुवामा पर्न सफल भएका भने ९५ नम्बरमा रहेका कमल खड्का त वैकल्पिकबाट पछि भर्ना भएका इन्सपेक्टर हुन् ।


प्रहरी र नेपाल सरकारलाई नै मुद्दा हालेर भर्ना भएका उनी अहिले अरूलाई पछि पार्दै अगाडि बढुवा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले आयोगकै पावर लगाएर उनी बढुवा भएको चर्चा प्रहरीमा छ । डीएसपीमा बढुवा सिफारिस भएका १५८औँ समूह भनेर चिनिने प्रहरी निरीक्षकहरू २०७० चैत ९ मा प्रहरीमा प्रवेश गरेका थिए । तर, खड्कासहित केही उम्मेदवार वैकल्पिक सूचीमा थिए । दरबन्दी रिक्त हुँदाहुँदै वैकल्पिकमा राखेको भन्दै उनीहरूले प्रहरी प्रधान कार्यालयविरुद्ध मुद्दा दायर गरे । मुद्दाबाट उनीहरू प्रहरीमा प्रवेश गरेका थिए । २०७४ मा तालिम गरेका खड्का प्रहरीमा प्रवेश गरेको ६ वर्ष भएको छ । तर, उनी १० वर्ष जागिर खाएकाहरूसँगै बढुवा सिफारिस भएका छन् । बढुवा प्रतिस्पर्धाको सूचीमा उनी ९३ औँ नम्बरमा थिए । आईजीपी वसन्त कुँवरले यसअघि कारबाहीमा परेकाहरूलाई बढुवा नगर्ने नीति लिए पनि सो नीति सहायक हवल्दार र वरिष्ठ हबल्दारको बढुवामा मात्र लागू भएको छ । अधिकृत बढुवामा आईजीपी आफैँले बनाएको नीति आफैँले लत्याएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भएर काम गरेका निर्मल पनेरू १ नम्बरमा बढुवा सिफारिस भएका छन् ।


शक्ति केन्द्रमा पहुँच भएकाहरू बढुवा हुँदा पविन्द्रबहादुर बम, राजकुमार सिंह, चन्द्रबहादुर सिंह, योगराज खतिवडा, प्रवीण कार्की, वीरदत्त पन्त, मोहनजंग बुढथापा, गणेश सापकोटा, आशिष अधिकारी र दिवसबहादुर जीसीलगायतका अधिकृतहरू पहुँच नपुग्दा योग्यता भएर पनि बढुवामा छुटेका छन् ।