देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको निष्कर्ष संसद्मा प्रस्तुत कांग्रेस द्वारा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको निष्कर्ष संसद्मा प्रस्तुत गरेको छ । कांगेसका प्रमुख सचेतक रमेश लेखकले विशेष परिस्थितिमा बनेको गठबन्धन त्यसको औचित्य पूरा नहुँदै हठात् तोड्नुले प्रधानमन्त्रीले विश्वासघात गरेको बताए ।


बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गठबन्धनका मूल्य मान्यतालाई भत्काएर, विश्वास तोडेर गठबन्धन तोड्ेको भन्दै लेखकले यो नेपाली कांग्रेसमाथि र संविधानमाथि विश्वासघात मात्र नभै जनमतको पनि घोर अपमान भएको बताए । उनले जनताको विश्वासघात गर्ने र सानातिना कुरा देखाएर हिँड्ने कुरालाई राजनीतिक बेइमानी भनिने पनि बताए ।


उनले कपोलकल्पित ढंगले तथाकथित र रचित कारण देखाएर गठबन्धन भत्काएको आरोप लगाए । उनले प्रचण्डले आपसी छलफल गरेर समाधान हुने विषयमा पनि छलफल गर्न नचाहेको बताए । आफू उम्कन कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक, दुई मन्त्रीको पोल्टामा आफ्नो कमजोरी फालेर प्रधानमन्त्री प्रचण्ड उम्किएको भनाइ उनको थियो ।
लेखकले कांग्रेसले गठबन्धनको पूर्ण पालना गरेको भए पनि पछिल्लो दिन गठबन्धनको प्रतिअविश्वास व्यक्त गर्नेगरी प्रधानमन्त्रीले अविश्वास पैदा गरेको आरोप लगाए । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिए । उनले आजकै मितिबाट प्रतिपक्षमा बस्न प्रारम्भ गरेको पनि बताए ।

प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद छाड्न आग्रह गरे । उनले आफूले काम गर्न नसकेको स्वीकारेपछि अरूलाई छाड्न आग्रह गरे ।
उनले अहिलेसम्म तीन पटक प्रधानमन्त्रीले गठबन्धन फेरिएको उल्लेख यही दरमा चले पाँच वर्षमा १३ पटक फेरिने बताए । उनले जीवित रहँदासम्म उथलपुथल गर्छु भन्ने प्रचण्डको भनाईलाई जोडदै उथलपुथल कति दिनसम्म रहन्छ इतिहासले देखाउँने बताए । लेखकले ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोकेको ?’ भनी प्रश्न गरे उनले नयाँ गठबन्धनमा आबद्ध चार दलका नेताले हस्ताक्षर गरेको आठबुँदे सहमतिपत्रमाथि प्रश्न उठाउँदै उनले यस्तो सोधेका हुन् । गठबन्धन बन्ने र भत्कने विषयलाई ठूलो रूपमा लिन नहुने उनले बताए ।