देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री डा महत

देशान्तर


काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन् ।
बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे ।
“मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति केन्द्रित बहस हुने गरेको थियो । तर संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ”, उनले भने, “आर्थिक रुपान्तरणको सुदृढ पक्ष कृषि हो । कृषिमा रुपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरुपका प्रतिफल ल्याउने खोजी हुुनुपर्छ । कृषिमा आत्मनिर्भर हुन जरुरी छ ।”

मन्त्री डा महतले आधुनिक प्रविधिअनुरुप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टीगर्न आवश्यक रहेको बताए ।
ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा महतको भनाइ थियो ।

प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताए । गोष्ठीमा कृषि मूल्य शृङ्खला विज्ञ डा बद्री बस्ताकोटीले मुलुकको निर्वाहमुखी कृषि प्रणालीलाई फलदायी बनाउन सिँचाइको पर्याप्तता, कृषिको व्यावसायीकरण, लगानीमा सुनिश्चितता आवश्यक रहेको औँल्याए ।

नेपाल किसान सङ्घका पूर्वअध्यक्ष डा भानुभक्त सिग्देलले बिपीले देखाएको समाजवादको आधारशीला कृषि र किसानबाट खोज्नुपर्ने भन्दै दिँदै कृषिमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन क्षेत्रलाई सुदृढ बनाउन बाह्य मुलुकसँग कूटनीतिक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिए ।