देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

देशान्तर

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ ।

अदालतले सिभिल फ्रड मुद्दामा ट्रम्पविरुद्ध ९० पृष्ठको फैसला दिएको छ । फैसला अनुसार अदालतले ट्रम्पलाई न्युयोर्कस्थित कम्पनीमा निर्देशकको रुपमा काम गर्न प्रतिबन्ध लगाएको छ । उनीहरुले तीन वर्षसम्म कम्पनीको सञ्चालक बन्न पाउने छैनन् । अदालतले ट्रम्पसँगै उनका दुवै छोरालाई पनि सजाय सुनाएको छ । अदालतले डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई ४० लाख अमेरिकी डलर जरिवानाको सजाय सुनाएको छ । साथै, ट्रम्पका दुवै छोराले न्युयोर्कको एउटा कम्पनीमा दुई वर्षसम्म निर्देशकको रूपमा काम गर्न पाउँदैनन् ।

महान्यायाधिवक्ताको कार्यालयले न्यायाधीशलाई डोनाल्ड ट्रम्पलाई ३७० मिलियन अमेरिकी डलर तिर्न अनुरोध गरेको थियो । तर, अदालतले ट्रम्पलाई ३५४.८ मिलियन अमेरिकी डलर जरिवाना तोकेको छ । मुद्दाको सुनुवाइ दुई महिना भन्दा बढी चलेको थियो, जसमा ट्रम्प, ट्रम्पको कम्पनीका शीर्ष अधिकारी र ट्रम्पका बच्चाहरू सहित ४० साक्षीहरू अदालतमा उपस्थित थिए ।

यसअघि अदालतले कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकृत एलेन वेसेलबर्गलाई पनि १० लाख अमेरिकी डलर तिर्न आदेश दिएको थियो । उनलाई तीन वर्षसम्म कम्पनीमा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ । ट्रम्पका वकिलहरुले अदालतको यो निर्णयलाई अन्यायपूर्ण भनेका छन् ।  आदेश राजनीतिक प्रेरित भएको उनीहरुको तर्क छ ।