देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै

देशान्तर

काठमाडौं । विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र परित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि १३ वटा समूहबाट प्राप्त सुझावहरू प्रस्तुत भएका छन् भने बिहीबार बाँकी रहेका ७ वटा समूहका निष्कर्ष र सुझावहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि विधान संशोधनका प्रस्तावहरू पारित गर्दै बिहीबारै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

मंगलबारदेखि सुरू भएको अधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले विधानमा संशोधनसहितको प्रस्ताव पेश गरेका थिए ।

सो प्रस्तावमाथि सुझाव राख्ने क्रममा नेताहरूले पार्टीको विधानमा संशोधन गर्दा पार्टीको नाम र निर्वाचन चिन्ह नै फेर्नुपर्ने सम्मको सुझाव दिएका छन् ।

अधिवेशनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीहरु सहभागी छन् ।