देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्ड असफल

देशान्तर


काठमाडौं । आफ्नै नेतृत्वको सरकारले अपेक्षाकृत काम गर्न नसकेको महसुस गरिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दादेखि नै काम नगर्ने मन्त्रीहरूलाई सरकारबाट हटाउने र नयाँ व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गर्ने बताउँदै तयारी गरिरहेको भए पनि सफल हुन त सकेका छैनन् नै, आफैंसँग गरेको कार्यसम्पादन सम्झौताअनुसार ५० अंक पनि ल्याउन नसक्ने आफ्नै पार्टी नेकपा माओवादीका मन्त्रीहरूलाई पनि बर्खास्त गर्न सकेका छैनन्, घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने उनको आफ्नै चरित्रका कारण प्रधानमन्त्री प्रचण्ड दिनप्रतिदिन असफल बन्दै गएको उनकै पार्टीका नेताहरूले बताउने गरेका छन् । आधा दर्जनभन्दा बढी दलहरूको गठबन्धनबाट सरकारको नेतृत्व गरेका प्रचण्डलाई सरकार जोगाउनै हम्मेहम्मे परेकाले मन्त्री हटाउने तथा फेर्ने कुरा असम्भव जस्तै रहेको जानकार बताउँछन् । प्रधानमन्त्रीले तीन महिनादेखि भन्दै आएको मन्त्रिपरिषद् पुनर्गठन किन गर्न सकेनन् ? उनले यसको दोष गठबन्धनका अन्य दल विशेषगरी कांग्रेसलाई दिने गरेका छन् तर, खासमा उनले आफ्नै पार्टीभित्रको अन्तरविरोधलाई मिलाउन नसक्दा एक जना मन्त्री पनि चलाउन नसकेको टिप्पणी भइरहेको छ ।

पार्टीभित्र सन्तुलन मिलाउन उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइएका नारायणकाजी श्रेष्ठ यसबीचमा सबैभन्दा विवादित मन्त्री हुन् भने उनले आफ्नो विश्वासपात्रका रूपमा सरकारमा लगेका ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराती निरन्तर विवादमा छन् र कार्यप्रगति सन्तोषजनक छैन । काममा भन्दा बढी स्टन्टमा रमाउने सुदन किराँतीले पर्यटन मन्त्रालयअन्तर्गत एउटा पनि राम्रो काम गर्न सकेका छैनन् भने सञ्चारमन्त्री रेखा शर्मा पनि काण्डैकाण्डमा मुछिएकी छन् । आफ्नै पार्टीका र विश्वासपात्र भनिएका मन्त्रीहरूलाई समेत चलाउन नसक्ने प्रधानमन्त्रीले अरू पार्टीका मन्त्रीहरूलाई चलाउनु त हड्डी चपाउनु सरह भएको चर्चा चल्ने गरेको छ ।
आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दा नै काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाउने घोषणा गरेका प्रचण्ड त्यसयता पनि पटकपटक यही कुरा दोहो¥याउँछन् । माघ ११ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनलाई डेडलाइन बनाएका प्रचण्डले चुनाव सकिएको दुई साता बित्न लाग्दासमेत कत्ति पनि प्रगति हात पार्न सकेका छैनन् । पछिल्लो समय कामभन्दा बोली र भाषणमै रमाउने केपी ओली चरित्र प्रचण्डमा सरेको र अर्कालाई दोष लगाएर जिम्मेवारीबाट उम्किन खोजेको पनि देखिएको छ ।
प्रचण्डलाई सबैभन्दा बढी कठिन आफ्नै पार्टीका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन भएको छ । सरकारको चाबी लिएर बसेको सबैभन्दा ठूलो दल कांग्रेसले बारम्बार अब्जेक्सन गरिरहे पनि नारायणकाजीलाई हटाउन उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि हटाउनुपर्ने सर्त कांग्रेस सभापति शेरबहादुर देउवासँग राखिरहेका छन् । देउवाले आफ्ना विश्वासपात्र महतलाई अर्थमन्त्रीमा निरन्तरता दिन चाहिरहँदा प्रचण्डलाई बहाना मिलेको हो । देउवा महतलाई हटाउन तयार भएमा आफूले पनि नारायणकाजीलाई हटाउने र त्यसो नभए नारायणकाजीलाई मात्रै हटाउँदा पार्टीभित्र कमजोर हुने डर प्रचण्डमा देखिएको छ ।
सेट नै परिवर्तन गर्न चाहेका प्रचण्डले नयाँ मन्त्री कसलाई बनाउन चाहेका छन् त ? अहिलेसम्म उनले केही बताएका छन् । काम गरेर देखाउन सक्ने व्यक्तिलाई मन्त्री बनाउन उनले गठबन्धनका शीर्ष नेताहरूसँग आग्रह त गरेका छन् तर, कुनै पनि दलले नयाँ नाम दिन सकेको छैनन् भने प्रचण्ड आफैंले पनि निश्चित व्यक्तिलाई पठाउन भनेर आग्रह गर्न सकेका छैनन् ।
मन्त्री फेरबदलको कुरा भइरहँदा माओवादी र कांग्रेसका बीचमा अर्थ र गृह मन्त्रालय साटासाट गर्ने विषयमा पनि छलफल सुरु भएको स्रोतको भनाइ छ । कांग्रेसले अर्थ छाडेर गृह मन्त्रालय लिने र माओवादीले गृह छाडेर अर्थ मन्त्रालय लिने विषयमा प्रारम्भिक कुरा भए पनि टुंगोमा भने पुगेको छैन । पार्टीका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने प्रचण्डको योजना छ । महतले अर्थतन्त्रमा सुधार ल्याउन नसकेको विश्लेषण गरेका प्रचण्डले आफ्नै विश्वासपात्र पुनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन खोजेको देखिएको छ । यसका बदला कांग्रेसले गृह मन्त्रालय लिने र गृह मन्त्रालयको जिम्मेवारी हालका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिने आन्तरिक तयारी सुरु भएको छ ।


रक्षा मन्त्रालयको जिम्मेवारीप्रति खड्का स्वयम् पनि सन्तुष्ट छैनन् । भूमिका कम भएकाले अब बढी भूमिका हुने मन्त्रालयको जिम्मेवारी लिने उनको चाहना छ । देउवाका निकट पनि भएको र यसअघि पनि गृहको जिम्मेवारी सम्हालेको अनुभव भएकाले खड्कालाई गृहको जिम्मेवारी दिने सुरसार देखिएको हो । तर, यो फेरबदल पनि अझ एक महिना सम्भव छैन । कांग्रेसले महासमितिको बैठकपछि मात्रै मन्त्री हेरफेर गर्ने बताएकाले त्यतिबेलासम्म प्रचण्डले आफैंले असफल भनेका मन्त्रीहरूसँग सहकार्य गर्नुको विकल्प देखिएको छैन ।