देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीति लेखनमा सफल, खेल जीवनमा अब्बल बीआर



काठमाडौं । चलचित्र हिम्मतमा समावेश सञ्जीवनी र अभिजितको स्वर महेश खड्काको संगीतमा रहेको म फूल बनी फुलिदिन्छु बोलको गीत धेरैले सुनेको गीतमा पर्छ । योसहित सुन्दर मेरो नाम चलचित्रमा समावेश गयो गयो गयो, चलचित्र कबजको मन दिएलगायत करिब एक दर्जन बढी गीतका रचनाकार हुन् बीआर (बलराम) मित्र । नेपाली गीति क्षेत्रमा स्थापित बीआर मित्रको लुकेको खेल जीवनको पाटोबारे भने थोरैलाई मात्र थाहा छ ।
२० वर्षपहिले नेपालमा गोजुरियो कराँते स्थापना गर्ने गीतकार बीआर मित्र गोजुरियो कराँतेका संस्थापक हुन् । त्यतिबेलाका ४० जना ब्लाकबेल्टधारी खेलाडीमार्फत प्रशिक्षण सुरु गरेर सातै प्रदेश ६५ जिल्लामा फैलिएको गोजुरियो कराँतेका उनी नेपालको प्रमुख प्रशिक्षक पनि हुन् ।


विश्व गोजुरियो कराँते महासंघको उपाध्यक्ष रहेका बीआर ८ वर्षको उमेरदेखि खेलाडी हुँदै प्रशिक्षक र अहिलेका जज बनेका हुन् । एसियाका जजहरूमध्ये एक नम्बरमा ए ग्रेडको लाइसेन्स होल्डर उनी विश्व गोजुरियो कराँते महासंघको पनि नेपालका ए ग्रेडको जज हुन् । सन् २००५ मा सिंगापुरमा स्थापना भएको चारवर्षे कार्यकाल रहेको एसियाली गोजुरियो कराँते फेडरेसनका वर्तमान अध्यक्ष रहेका उनी चीनमा हालै भएको एसियाली खेलकुदमा सहभागी भएका ३९ जना जजमध्ये नेपालबाट एकजना मात्र जजका रूपमा सहभागी भएका थिए । जुन खेलमा कराँतेमै एरिका गुरुङले रजत पदक जितेकी थिइन् । तेह्रांै साफमा पनि बीआरले नेतृत्व गरेका थिए ।


लुम्बिनी प्रदेशको दाङ जिल्लाका बीआर नेपाल कराँते महासंघका सचिव पदमा पनि कार्यरत छन् । हालसम्म उनले पाँचवटा महादेशका ६० देशमा पुगेर खेलकुदको जज गरेका छन् । भारतमा भइरहेको इन्डो नेपाल अन्तर्राष्ट्रिय च्याम्पियनसिपका लागि मुख्य जुरीका रूपमा छनोट भएर उनी अहिले केही दिनका लागि भारत पुगेका छन् जहाँ नेपालबाट २० जना खेलाडी सहभागी छन् । भौगोलिक हिसाबले पनि अन्य खेलभन्दा कराँतेको भविष्य नेपालमा उज्ज्वल देखेका बीआरले सेप्टेम्बरमा अस्ट्रियामा हुने सातौं विश्व च्याम्पियनसिप गोजुरियो कराँतेका लागि नेपालबाट खेल्ने बलियो टिम निर्माण गर्दैछन् ।
खेल जीवनमा उनले धेरै प्रतिस्पर्धीलाई नियममा रहेर पराजित गरेका छन् । १९९९ मा चेन्नईमा भएको एउटै प्रतियोगितामा दुई प्रतिस्पर्धीसँग एकै रिङमा भिडेका उनी एक प्रतिस्पर्धीको असावधानीका कारण भने घाइते भएका थिए । रेफ्रीले खेल सकिएको संकेत गरिसकेपछि पोजिसन नलिएका उनीमाथि प्रतिस्पर्धीले किक चार्ज गर्दा नाकमा लागेर नाक भाचिएको थियो । खेलजीवन र गीति यात्रामा रहेका बीआर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास नेपालमा पनि आबद्ध छन् ।


पुर्वयुवराज पारस शाहका छोरा हृद्यन्द्र र छोरी पूर्णिकालाई समेत कराँते प्रशिक्षण दिएका बीआरले खेल जीवनमा पु¥याएको योगदानको कदरस्वरूप विभिन्न समयमा विभिन्न पदक र सम्मान पाएका छन् । उनी वीरेन्द्र ऐश्वर्य पदकलगायत हालै मात्र १९औं एसियाली खेलकुदको सफलतापछि नेपाल बादेरियो कराँते सङ्घद्वारा प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको उत्कृष्ट जजको अवार्ड र देश भित्र र बाहिरका खेल सङग् सम्बन्धित सङ्घ संस्थाबाट अवार्ड र सम्मानबाट सम्मानित भइसकेका छन् ।