देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीतमा जीवन खोज्दै गायक कृष्ण पाण्डे

देशान्तर


काठमाडौं । गुल्मीका कृष्ण पाण्डे संगीत सिक्न भनेर २०६३ सालमा काठमाडौं आए । अध्ययनसँगसँगै उनले अनुराग संगीत विद्यालय पुतलीसडकमा संगीतलाई पनि सँगसँगै अघि बढाए । लोकप्रिय संगीतकार अर्जुन पोखरेल र राम सिटौलालाई आफ्नो सहृदयी गुरु मान्ने कृष्णका दुई दर्जन बढी गीतहरू बजारमा आइसकेका छन् । गायनका अलावा सञ्चारकर्ममा पनि रहेका कृष्ण मोडलिङ गर्न पनि रुचाउँछन् । उनकै अभिनय र स्वर रहेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार गरेको गीतमा हस्त गौतमको शब्द, मनोज चौलागार्इंको संगीत तथा एरेन्जमा तयार भएको गीतमा मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रको रहेको छ । भिडियोको छायांकन तथा निर्देशन सञ्चारकर्मी आशिष नेपालले गरेका हुन् । क्लासिकल संगीतका विद्यार्थीसमेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जूनकीरी, जे जे पर्छ पर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् । त्यस्तै गायक पाण्डेले फिल्म बाह्रमासेको ढिक्के फुली बोलको गीतमा पनि स्वर दिएका छन् । पाण्डेसँग गीति यात्राबारे गरिएको कुराकानीको सम्पादित अंश ।
प्रेम वियोगको गीतको भिडियो ल्याउनुभयो ? कस्तो छ प्रतिक्रिया ?
माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छु । दर्शक श्रोताले रुचाई दिनुभएको छ । खुसी लाग्छ ।

साँच्चिकै वियोग भोग्नु भएको छ त व्यावहारिक जीवनमा ?
कथाले मागेको भएर माया यस्तै हुँदो रहेछमा मैले धोका पाएको अभिनय गरेको हुँ । व्यावहारिक जीवनमा त्यस्तो अनुभव छैन । म परिवारसहित हाँसीखुसी जीवन बिताइरहेको छु । भर्खरै पुत्रलाभ भएको छ ।

तपाईंको प्रेमविवाह हो ?
अमृता भण्डारी मेरी धर्मपत्नी हुन् । उनीसँग काठमाडौँमा नै भेट भएको हो । पारिवारिक चिनजानका आधारमा भेट्दै जाँदा माया बस्दै गयो र हामीले प्रेमविवाह ग¥यौं । सात वर्षको प्रेम सम्बन्धपछि मागी विवाह गरेका हौं ।

जवीन कसरी चलिरहेछ त अहिले ? तपार्इं चलचित्र पत्रकारिता पनि गर्नुहुन्छ ? गायक पनि हो ?
दुवै मिडिया फिल्ड भएका कारण जीवन रमाइलो छ । अमृता र परिवारको साथ सहयोग र प्रेमले अघि बढिरहेको छु । आफ्नै संघर्षले मेहनतका साथ पाएको यो सफलता देख्दा खुसी लाग्छ ।

परिवारमा को को हुनुहुन्छ ?
म एक्लो छोरा हुँ । बुवा म प्लस टु अध्ययन गर्दै गर्दा स्वर्गीय भएपछि मेरो सबै जिम्मेवारी आमाको काखमा गयो । आमाले धेरै संघर्ष गरेर मलाई हुर्काउनु भएको हो । मेरो यो सम्पूर्ण सफलताको देन मेरी आमा हुनुहुन्छ ।

यो क्षेत्रमा लाग्दाको रमाइलो अनुभव के छ ?
यहाँ सबै रमाइलो नै रमाइलो हुन्छ । साथीभाइहरूको गज्जबको सर्कल हुन्छ । मैले यहीबीचमा लोकप्रिय गायक प्रताप दास, समकक्षी गायिकाहरू एलिना चौहान, अस्मिता अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, मेलिना मैनालीलगायतका लोकप्रिय गायिकाहरूसँग काम गर्ने मौका पाएको छु । छिट्टै नै गायिका अस्मितासँग नयाँ गीत बजारमा आउने तयारी छ ।

अबको तयारी के छ ?
अहिले संगीतका नियमित क्लासहरू लिइरहेको छु । छिट्टै नै नयाँ गीत बजारमा ल्याउने तयारी छ । अहिले माया यस्तै हुँदो रहेछको प्रचारप्रसारको काम भइरहेको छ ।

संगीतमा नै लागेर बाँच्न सकिने अवस्था छ त नेपालमा ?
जीवन संघर्ष हो । यहाँ संगीतमा मात्रै लागेर जिन्दगी चलाउनेहरू पनि हुनुहुन्छ । जस्तो कि मेरो गुरु तथा संगीतकार अर्जुन पोखरेलकै उदाहरण लिउँ न । उहाँ पूर्ण रूपमा यही क्षेत्र मात्रै भनेर हिँड्नु भएको छ । तर यस्तो अवसर कमैले पाउँछन् । सबैले संगीत माात्रै भनेर बाँच्न सक्ने अवस्था छैन । तर पनि संगीतमा नै जीवन खोज्नेहरूका लागि असम्भव भन्ने कुरा केही छैन जस्तो लाग्छ ।