देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबको संसद् अधिवेशन संसदीय पात्रोमा चल्ला ?

देशान्तर


काठमाडौं । लामो समयदेखि क्यालेन्डरविहीन अनियमित ढंगले चल्दै आएको संसदीय गतिविधिलाई व्यवस्थित गर्न र सांसदहरूलाई जवाफदेही बनाउन आउँदो माघ २२ गतेदेखि आह्वान गरिएको संघीय संसद्कोे हिउँदे अधिवेशन क्यालेन्डरका आधारमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतिनिधिसभा नियमावली, २०८० मा संसदीय क्यालेन्डरको विषय समावेश छ । नियमावलीको नियम २५५ मा यससम्बन्धी व्यवस्था छ । संसद्लाई क्यालेन्डरमा चलाउन संसद् सचिवालयले तयार पारेको क्यालेन्डरको मस्यौदालाई दलहरूले आवश्यक परिमार्जनसहित अन्तिम रूप दिएर अबको अधिवेशनमा लागू गर्न यसअघि सहमति प्रदान गरिसकेका छन् ।
संसदीय क्यालेन्डरको रास्वपा सांसद सुमना श्रेष्ठले वकालत गर्दै आएकी थिइन् । मस्यौदामा कम्तीमा १५ दिनदेखि बढीमा महिना दिनसम्मको कार्यतालिका तय गरेर संसदीय पात्रो लागू गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावमा सदन र संसदीय समिति हप्तामा तीन–तीन दिन चलाउने भनिएको छ ।


संसदीय पात्रोअनुसार चलेमा अब हप्ताको सुरुवाती तीन दिनमा सदन चल्नेछ भने बाँकी दिन समिति बैठक बस्नेछन् । पात्रो लागू भएमा कुन दिन, के–के काम हुन्छ भन्ने पहिले नै तय हुनेछ । यसले संसद्को कार्यतालिका बन्न सघाउ पुग्नेछ  । संसद्को हिउँदे अधिवेशन विधेयकहरूको अवस्था र संसदीय क्यालेन्डरबारे कानुन मन्त्री धनराज गुरुङ र सभामुख देवराज घिमिरेबीच केही दिनअघि छलफल भएको थियो । सभामुख घिमिरेले संसदीय क्यालेन्डर बनाएर संसद् चलाउने तयारीबारे जानकारी गराउँदै त्यसमा सरकारको सहयोगकोे अपेक्षा गरेका थिए ।

प्रतिनिधिसभामा दर्ता भएका १० वटा विधेयक प्रक्रियामा छन् भने सरकारले नीति तथा कार्यक्रम फागुनमै संसद्मा पेस गर्ने तयारी गरेको छ । यसअघि संसद्को वर्षे अधिवेशन अन्त्य हुने अघिल्लो दिन पनि सभामुखले संसदीय क्यालेन्डरको विषयमा दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । हिउँदे अधिवेशनमा संसदीय पात्रो लागू हुने लगभग पक्काजस्तो देखिए पनि राजनीतिक दलहरूका बीचमा हुने असमझदारी र सदन अवरुद्ध गरिहाल्ने विगतको नराम्रो अभ्यासका कारण संसदीय पात्रो शतप्रतिशत लागू हुनेमा भने आशंका कायमै छ । यसअघि संविधान सभाको पहिलो निर्वाचनपछि पनि संविधान निर्माणको क्यालेन्डर निर्माण गरिएको थियो । तर त्यतिबेला पनि क्यालेन्डरको पालना भएको थिएन ।