देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीमा कांग्रेसले गुन तिर्यो

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन जनाएका पूर्वमहामन्त्री महामन्त्री कृष्णप्रसाद सिटौला देउवाको जोडबलमा राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेर कोशी प्रदेशबाट निर्वाचित हुँदा स्वयम् देउवा र सिटौलाको मनोकांक्षा त पूरा भएको छ तर, निर्वाचनका क्रममा जे जस्तो घटनाक्रम देखिएको छ, त्यसले राष्ट्रिय राजनीति र विशेषगरी संघीय सत्ता गठबन्धनमा हलचल मच्चिएको छ भने कोशी प्रदेशमा पछिल्लो पटक देखिएको राजनीतिक उथलपुथलको असर पनि यो निर्वाचनमा परेको स्पष्ट भएको छ । कोशी प्रदेशमा सत्ता गठबन्धनले साझा उम्मेदवारका रूपमा अन्य क्लस्टरमा कांग्रेसका सिटौला र महिला क्लस्टरमा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउँदा सिटौला निर्वाचित भए भने कार्की पराजित भइन् । कार्कीलाई एमाले उम्मेदवार रुक्मिणी कोइरालाले अप्रत्याशित रूपमा हराएपछि गठबन्धनभित्र यी दुईको जित र हारको कारण खोजी भइरहेको छ ।


राष्ट्रियसभाका रिक्त हुने १९ सिटमा सत्ता गठबन्धनका चार दलले भागबन्डा गर्दै साझा उम्मेदवार उम्मेदवार उठाएकोमा १८ सिटमा जित हासिल गरेका छन् भने एक सिटमा पराजय भोगेका छन् र यसले माओवादी केन्द्रलाई एक सिट घाटा लागेको छ । सरसर्ती हेर्दा माओवादीलाई एक सिट घाटा लागेको देखिए पनि तालमेलमै समस्या देखिएको माओवादीको निष्कर्ष छ । खासगरी कोशी प्रदेशमा स्थानीय तहको चुनावदेखि यताका सबै राजनीतिक घटनाक्रममा कांग्रेसले धोका दिइरहेको माओवादीको निष्कर्ष छ, जुन परिणाममा पनि आधारित रहेको उनीहरूको तर्क छ ।


गत वर्ष मंसिरमा भएको आम चुनावपछि माओवादी एमाले गठबन्धनका बेला एमालेलाई मुख्यमन्त्री दिएको माओवादीले त्यसपछि आफूले पाउने दाबी गरेको थियो । लगत्तै संघमा गठबन्धनमा भएको परिवर्तनले कोशीको मुख्यमन्त्री पाउने आशा गरेको माओवादीले पाएन बरु कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री बने । सभामुखले समेत राजीनामा दिएर गठबन्धनका लागि कांग्रेसलाई सघाएको माओवादीले पछिल्लो पटक मुख्यमन्त्री पाउने सहमति भएको थियो । तर, त्यहीबीचमा कांग्रेसका ८ सांसदले एमालेसँग सहकार्य गरी केदार कार्की मुख्यमन्त्री बनेपछि माओवादी जिल्लिएको थियो । कार्कीलाई मुख्यमन्त्री बनाउन जसरी एमालेले सहयोग ग¥यो, अहिले त्यही गुन तिरेको देखिएको छ, जसले कोशीको मात्रै नभएर संघीय सत्ता गठबन्धन र राजनीतिक समीकरणमा चर्चाको विषय बनेको छ । कांग्रेसले आधिकारिक रूपमा गठबन्धनमा अन्तरघात नभएको बताए पनि माओवादीले कांग्रेसले धोका दिएको विश्लेषण गरिरहेको छ भने विपक्षी गठबन्धनबाट पनि अन्तरघातको कुरा आइरहेको छ । माओवादीले कांग्रेसले धोका दिएको बताइरहँदा विपक्षी राप्रपाले पनि एमालेले धोका दिएको बताइरहेको छ । राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि बसेको माओवादी प्रदेश कमिटी बैठकले कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेपछि यो विषय गठबन्धनमा थप पेचिलो बन्ने देखिएको छ ।


स्थानीय तहको निर्वाचनदेखि नै सहकार्यको विरुद्धमा उभिएको कांग्रेसको एक समूहले अहिले पनि कांग्रेसभित्र खेलेर धोका दिएको निष्कर्ष निकालेको माओवादीले पछिल्लो घटनाक्रमलाई केदार कार्कीलाई मुख्यमन्त्री बनाएको घटनासँग जोडेको छ । कार्कीलाई मुख्यमन्त्री बनाउँदा गठबन्धन भत्काउने उद्देश्य थियो, सफल भएन, त्यही समूह अहिले माओवादीलाई हराउन सफल भयो, माओवादीको निष्कर्ष छ । सरसर्ती हेर्दा कांग्रेसको केदार कार्की समूहका कारण कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनको परिणाम तलबितल भएको देखिएको छ र कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन एमालेले लगाएको गुन रुक्मिणीलाई जिताएर तिरेको देखिएको भए पनि कांग्रेसका कुनै पनि सदस्य तथा नेताले यसको स्वतन्त्र पुष्टि गरेका छैनन् । सिटौला पनि पराजित भएको भए यो कुरा भन्न मिल्थ्यो, कांग्रेसका एक नेताले देशान्तरलाई भने, केही व्यक्तिगत कारण पनि हुन सक्छ, जसले चम्पालाई भोट दिएनन् ।

एमालेभित्रको विवादका कारण पनि सिटौलाले जितेको हुन सक्ने अनुमान भने कायमै छ । माओवादीले कोशीमा एक सिट गुमाए पनि राष्ट्रियसभामा भने माओवादी पहिलो दल बनेको छ । माओवादीले अध्यक्ष चयनका बेला निहुँ खोज्न सक्ने अनुमान छ । कांग्रेसले सिटौलालाई अध्यक्ष बनाउने उद्देश्यसहित राष्ट्रियसभा सदस्य बनाएको हो । एकपछि अर्को घटनामा कांग्रेस र मओवादीबीच मतभेद बढ्दै जाँदा संघीय सत्ता गठबन्धन नै प्रभावित हुने आशंका बढेको छ ।