देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसीको नजरमा नेपाल बलियो

देशान्तर


काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली क्रिकेट टिम अमेरिका प्रस्थान गरेको छ । बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा भएपछि अमेरिका प्रस्थान गरेको हो ।
सन् २०१४ पछि पहिलो पटक टी २० विश्वकप (समग्रमा दोस्रो) खेल्न लागेको नेपाली टोलीमा अनुभवी फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई पनि समेट्दै नेपालले बुधबार १५ सदस्यीय टिम घोषणा गरेको हो । नेपालले घोषणा गरेको टिमलाई आईसीसीले बलियो टिमको संज्ञा दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेलगत्तै आईसीसीको वेबसाइटमा नेपाली टोली बलियो रहेको समाचार आएको छ । नेपालले ठूलो सरप्राइज नदिए पनि अनुभवी र युवा खेलाडीलाई अवसर दिएको उल्लेख गरेको छ । वेस्टइन्डिज ‘ए’सँग अभ्यास खेल खेलिरहेका खेलाडीलाई टिममा समावेश गरेको आईसीसीले उल्लेख गरेको छ ।
आईसीसीले वेस्टइन्डिज ‘ए’विरुद्ध शतक हानेका, एसीसी प्रिमियर कपमा ६ छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेखसहितको टोलीलाई बलियो मानेको छ ।
यू १९ विश्वकप खेलेका गुल्सन झा र प्रतिश जीसीसहितका युवा टोलीले टिममा स्थान बनाएका छन् । २०१४ मा विश्वकप खेल्दाका सोमपाल कामीले पनि विश्वकपमा स्थान बनाएका छन् । उनीमात्रै दोस्रो पटक नेपालबाट टी २० विश्वकप खेल्ने खेलाडी हुन् ।
नेपाल रहेको विश्वकपको समूह ‘डी’मा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्स, ११ जुनमा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशसँग खेल्नेछ । विश्वकप आगामी १ देखि २९ जुनसम्म चल्नेछ । २०१४ को विश्वकपमा नेपाल समूह चरणमा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि रन रेटमा पछि परेपछि नकआउट चरणमा पुग्नबाट वञ्चित भएको थियो । नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।
अन्तिम टी–२० मा नेपालको जीत
वेस्टइन्डिज ‘ए’विरुद्धको टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । तर सिरिज भने ३–२ ले गुमाएको छ । पहिलो खेल जितेको नेपालले त्यसपछि लगातार तीन खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको थियो । टी २० विश्वकप क्रिकेट खेल्न जानुअघि घरेलु मैदानमा भएको अन्तिम मैत्रीपूर्ण खेलमा जित निकाल्दा नेपाली क्रिकेट टिमको मनोबल भने बढ्ने विश्वास गरिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेस्टइन्डिज एले टस जितेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा कुशल मल्लले आक्रामक पारी खेले । उनले १९ औं ओभरको खेलमा कुशलले १८ रन जोड्दा लेगबाइको रूपमा थप ४ रन आएपछि विजयी भयो । उनलाई साथ दिन आएका कप्तान रोहित पौडेलले एक बल पनि फेस गरेनन् । मल्लले १८ बलमा ३७ रनको नटआउट पारी खेल्दा तीन छक्का र तीन चौका प्रहार गरे । जितको आधार भने आसिफ शेख र अनिल साहले तय गरेका थिए । यी दुई खेलाडीले अर्धशतकीय पारी खेले । कुशल भुर्तेल आज पनि १३ रन बनाएर आउट भएपछि आसिफलाई साथ दिएका आएका अनिलले पारी अघि बढाए । आसिफ ३५ बलमा ५१ रन बनाएर आउट हुँदा पाँच छक्का र दुई चौका प्रहार गरे । यस्तै, अनिलले ४५ बलमा ५८ रनको अर्धशतकीय पारी खेल्दा चार चौका र चार छक्का हिर्काए । वेस्टइन्डिज एका आबेड म्याकवेले तीन विकेट लिए ।
पहिला ब्याटिङ गर्दा वेस्टइन्डिज एका एलिक एथानाजेले २९ बलमा ४२ रन बनाउँदा कप्तान रोस्टन चेजले ३३ रन जोडे । यस्तै, म्याथ्यु फोर्डले २३ रन जोडेका थिए । नेपालका सागर ढकाल र सोमपाल कामी दुवैले तीन—तीन विकेट लिँदा अभिनाश बोहोराले एक विकेट लिए ।