देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा

‘हाम्रो पुस्ताबाट थापा नै प्रधानमन्त्री : महामन्त्री शर्मा

देशान्तर



काठमाडौं । केन्द्रीय समितिको निर्णय अनुसार नेपाली कांग्रेसले सनिवार देखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन सुरु गरेको छ । आगामी २६ गतेसम्म चल्ने अभियानको भद्रपुरस्थित मेची पुल नजिकै बाट सुभारम्भ गरिएको थियो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताए ।


महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरु भुईंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताएका छन् ।
कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाई थियो । शर्माले थापालाई प्रधानमन्त्री बनाउने पनि दोहोराए । महामन्त्री शर्माले भने, ‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो । प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएको छ । यसले नयाँ सन्देश प्रवाह गर्नेछ ।’


समुदायमा कांग्रेस अभियानअन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत सहभागी भएका थिए ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्ने छ ।