देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस उपरको चौतर्फी आक्रमण

देशान्तर

कांग्रेस नेतृत्व पंक्तिका नेताहरूले विश्वेश्वरप्रसाद कोइराला (बीपी) लिखित कथासंग्रह ‘दोषी चस्मा’ पढेकै हुनुपर्छ । विश्वप्रख्यात रुसी कथाकारबाट प्रभावित भएर उक्त कथासंग्रह लेख्नुभएको थियो बीपीले । मनोविज्ञान विषयमा न्यून ज्ञान भएको पंक्तिकारलाई उक्त पुस्तकमा समावेश गरिएका कथाहरूको गहिरो छाप परेको छ । जबजब कमजोर मनस्थिति पीडित नेताहरूले ‘कांग्रेस उपर चौतर्फी आक्रमण’ विषय उठान गर्छन् तब दोषीचस्मा पुस्तकका दुई कथाहरू ‘दोषी चस्मा’ तथा ‘शत्रु’को सम्झना आइनै हाल्छ ।
यथार्थ हो नेपाली कांग्रेस कमजोर हँुदैछ । प्रभावशाली नेताहरू दल उपर चौतर्फी आक्रमण हुन थालेको गुनासो गर्न थालेका छन् । चौतर्फी आक्रमणकारीहरू को हुन् ? तथा कुन उद्देश्य वा स्वार्थ प्राप्तिका तिनीहरूले नेपाली कांग्रेसलाई आक्रमण गर्दैछन् ? श्रोता अथवा कांग्रेसजनले प्रतिप्रश्न गर्दैनन् । आमुक शत्रु देखाएर दुनो सोझ्याउन माहिर नेताहरू त्रासमय वातावरण फैलाई दिन्छन् । बिना कुनै सबुत प्रमाण व्यक्त गरिने त्यस्ता भनाइ अथवा अभिव्यक्तिको सम्भावित असरका विषयमा जिम्मेवार वक्ताहरूले पटक्कै सोचेका हुँदैनन् । दल कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु एउटा कुरो तर, अरूले दललाई खतम पार्दैछन् भन्नु अर्को ।
नेपाली संस्कारको अभिन्न अंग हो शक्तिको पूजा आर्चना गर्ने । हिन्दु धर्मावलम्बी मध्ये अधिकांशले सरस्वती तथा गणेश मूर्ति पूजामा समय बिताएको बिरलै पाइन्छ । दुर्गा, भगवती तथा कालीको आराधनाका निमित्त झुम्मिनेको संख्या अपार हुने गर्छ । उदारहणकै निमित्त दक्षिणकालीमा प्रायः सधैं भीड हुने गर्छ । दक्षिणकाली उन्मुख अथवा फर्कने मध्ये अत्यन्त सानो संख्याका भक्तजन चोभार गणेशमा अड्ने गर्छन् । त्यसो त प्रायः सबै मन्दिरको प्रवेशद्वारमा गणेशको मूर्ति स्थापना गरिएको हुन्छ । देवीको पाउमा समर्पित हुने भक्तजनमध्ये अत्यन्त न्यून संख्याका भक्तजनले मात्र गणेशको मूर्तितर्फ आकर्षित भएको पाइन्छ । सरस्वती तथा गणेश विद्या र विवेकको प्रतीक मानिन्छ । देवी शक्तिको स्रोत । विवेकतर्फ भन्दा शक्तिको आराधनालाई फलिफाप ठहर गरिने धार्मिक संस्कारको यो एक उदाहरण हो यो ।

यही सस्कारको उपज हो हामी समाज बलियोको पछाडि लाग्छ निर्दोलाई दया गरे पनि उसको साथ लाग्दैन । निर्वाचन याममा सुनिन्छ फलानो उम्मेदवार अब्बल छ । उसले समाजमा केही गर्ने क्षमता राख्छ । समाज बदल्न ऊ दृढ पनि छ । तर के गर्ने जित्नेवाला छैन । त्यसकारण हार्नेलाई कसरी भोट दिने ? नेता स्वयम्ले निरीह ठहर गरेको दलले दया पाउन सक्छ तर समर्थन बिरलै पाउँछ । कांग्रेस सप्रोस् अथवा बिग्रोस् सर्वसाधारणलाई छु मतलव ?
कम्युनिस्ट पहिचान स्थापित गर्नका निमित्त चौतर्फी शत्रुको घेराबन्दीमा परेको बखान अनिवार्य हुन्छ । बोल्सेभिक दल नेता लेलिनदेखि आजका दिन हाबी भएका सबैजसो कम्युनिस्टहरू शत्रुको हाउगुजी देखाउँदै आएका थिए । लेलिन, स्टालिन तथा माओले आफ्ना विरोधीलाई राष्ट्रद्रोहीको आरोप लगाएर ‘पर्ज’ गरी दिने गर्थे । समाजमा त्यस्ता पात्रहरू देखा पर्दैनथिए । नेपाली कम्युनिस्टका नेताहरू आमुक देशीविदेशी शक्तिले आफ्नो दललाई ध्वस्त तुल्याउन खोजेको चर्चा गर्नु कम्युनिस्ट पहिचान भएको पुष्टि गर्ने माध्यम भएको छ । आफूले गरेका गल्ती औंल्याउने तिनका निमित्त शत्रु शक्तिद्वारा सञ्चालित पात्र घोषित गर्नु तिनका निमित्त सहज हुन्छ । नेताले गरेको कार्यको बिना प्रश्न ढाकछोप गर्नु कम्युनिस्ट कार्यकर्ताको धर्म हो । अन्यथा कार्यवाहीमा उनीहरू परिहाल्नेछन । धन्न नेपालमा तिनले सत्ता सम्हाले पनि कम्युनिस्ट दल नियन्त्रित राज्य प्रणाली सञ्चालन गर्न पाएका छैनन् । अन्यथा ‘पर्ज’ पर्नबाट जोगिएका छन् नेताले ‘विरोधी विचारधारा’ घोषित कमरेडहरू पनि । कम्युनिस्टको देखासिखो गर्नु कांग्रेसलाई पटककै सुहाउँदैन ।
कांग्रेसलाई सखाप पार्न सबै खाले लोकतन्त्र विरोधी शक्ति यस दलको जन्मदेखि नै लागिपरेका हुन् । उनीहरूले दललाई सखाप पार्न कुनै कसुर छोडेनन् । २००७ सालको क्रान्तिको नेतृत्व गर्ने दलका सर्वसम्मत नेता बीपी थिए । त्यसकारण शासनको बागडोर सम्हाल्ने अधिकार तथा दायित्व तिनको थियो । तर बीपीलाई प्रधानमन्त्री पद प्राप्त गर्न ८ वर्ष कुर्नु प¥यो । उक्त पद प्राप्त गरेको दिनदेखि तिनलाई बर्खास्त गर्ने षड्यन्त्रका तुनाबुना सर्वशक्तिशाली राजाबाट सुरु भएको थियो । कांग्रेसलाई टुक्र्याउने नीति राजा त्रिभुवन तथा महेन्द्रले अख्तियार गरेका थिए । यस अभिप्रायमा असफल भएका राजा महेन्द्रले दलउपर प्रतिबद्ध लगाए दलविहीन प्रणाली लागू गरे । राजा वीरेन्द्रले त बाउबाजेले गरेको कार्यलाई निरन्तरता मात्र दिएका हुन् । पञ्चायत कालखण्डमा कांग्रेसको बिउ मास्न अनेक किसिमका हत्कण्डहरू प्रयोग गरियो । कांग्रेसका प्रभावकारी नेताहरूको थुनछेक, तिनलाई खरिदमात्र गरेका होइनन् सुनियोजित हत्या पनि गरियो । तेजबहादुर अमात्य तथा सरोज कोइरालालाई भारतीय भूमिमा हत्या गरियो भने योगेन्द्रमान शेरचन तथा देवानसिंह राईलाई स्वदेशमै । तर पनि कांग्रेस दल जीवित रह्यो पञ्चायतविरुद्ध संघर्ष गर्दै रह्यो । प्रजातन्त्रको पुनस्र्थापना गर्ने उद्देश्य प्राप्तिबाट पार्टी विचलित भएन । अन्तमा सफल भयो प्रजातन्त्रको पुनर्बहाली गर्न ।
यथार्थ हो आजका दिनसम्म आइपुग्दा अत्यन्त जब्बर कांग्रेस कमजोर दलको रूपमा खडा भएको छ । कांग्रेसलाई यो हालतमा कसले पु¥यायो ? शत्रुको खोजी गर्नुभन्दा दलले अख्तियार गरेका नीतिहरूको सिंहावलोकन आवश्यक हुन्छ । उर्लंदो जनआकांक्षाको चुनौती सम्बोधनका निमित्त सत्तासीन कांग्रेसले के ग¥यो ? कांग्रेसको तेतृत्वको सरकारले नागरिकलाई दिएका आश्वासनहरूको पूर्ति के कति ग¥यो ? सर्वसाधारणको नजरबाट गर्नुका पछाडिका कारणहरू को मन्थन आवश्यक हुन्छ । समस्याका जड कारणहरू पत्ता लागेपछि मात्र हो समाधानको उपाय खोज्ने । गिर्दो यथार्थलाई स्वीकारेर कांग्रेसले दलभित्र अर्थात् आन्तरिक सुधार पहल कदमीको नितान्त आवश्यकता छ ।

प्रथम जनआन्दोलन पश्चात्का दिन नेपाली संस्कार अनुरूप नेताको सामीप्यमा पर्न खोज्ने नागरिकको संख्या सानो थिएन । नेताहरूले पनि आफ्नो लोकप्रियताको मापन निवासमा आउनेको संख्याबाट मापन गर्न थाले । त्यसरी सदाबहार ढोका कुर्नेको पहुँच बढ्न थालेपछि उनीहरू बिचौलियामा रूपान्तर भए । प्रभावशाली नेताको जीवनशैली परिवर्तन गर्न तिनले व्यापारी, कमिसनखोर तथा अन्य स्वार्थी समूहको पहँुच बढाउने कार्य गरे । बिचौलियाकै माध्यमबाट नेताहरू सम्बन्धसँग त्यस्ता स्वार्थ समूहसँगको प्रगाढ सम्बन्ध स्थापित भएको हो । प्रभावशाली नेताको कोठा चोटामा तिनै बिचौलिया तथा निहित स्वार्थ समूहको हालिमुहाली बढ्यो । पञ्चायतकालमा सत्तासीनको छत्रछायाँमा मौलाएको निहित स्वार्थ समूह तथा बिचौलिया कांग्रेस सत्तासीन हुँदा प्रभावकारी शक्तिको रूपमा उदाए । यो गिरोहको स्वार्थपूर्तिमा नेपाली कांग्रेस समर्पित भयो । जनसमक्ष जाहेर गरेका प्रतिबद्धताहरू एकपछि अर्को गर्दै बिर्सन थालियो ।

प्रथम जनआन्दोलन सफलतापश्चात् नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले न्यायमूर्ति मल्लिकको नेतृत्वमा ‘छानबिन आयोग’ गठन गरेको घोषणा गरेको थियो । पञ्चायत शासन कालखण्डमा भएका ज्यादती तथा आन्दोलन दबाउन जिम्मेवार पत्रहरूको पहिचान गर्नु थियो । मल्लिक आयोगले सरकारलाई प्रतिवेदन सुम्पियो । उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन प्रक्रिया अघि बढाउनुको ठीकविपरीत प्रतिवेदन नै लुकाउने कार्य गरियो । मल्लिक आयोगले सिफारिस गरेका दोषीलाई कठघरमा उभ्याउन सरकारले आवश्यक ठानेन । निहित स्वार्थ समूह तथा बिचौलियाको प्रभावमा दोषी उम्किए कतिले पुनस्र्थापनमात्र होइन उच्च पदमा स्थापित हुने अवसर पाए । परिणाम देशमा दण्डहीनता मौलाउने संस्कारको उदय भयो ।

शेरबहादुर देउवाको प्रथम प्रधानमन्त्रीत्व कालखण्डमा आर्थिक, सामाजिक सुधारका पहल कदमीको घोषणा गरियो । त्यस्ता कार्यक्रम कार्यान्वयनमा उतार्नुको साटो तिनलाई संसद्मै प्रस्तुत नगरी तुवाइयो । सरकारले भ्रष्टाचार निवारण गर्ने हेतुले न्यायमूर्ति भैरव लम्सालको नेतृत्वमा आयोग गठन ग¥यो । लम्साल आयोगले गरेको खोजकार्य तथा उक्त आयोगले गरेको सिफारिसहरू सबै लुकाउन सरकार नै सक्रिय भयो । किनकि लम्साल आयोगले औंल्याएका भ्रष्टाचारीविरुद्ध कार्य गर्दा निहित स्वार्थ समूहको स्वार्थविपरीत हुने थियो । बिचौलियाको अगुवाइमा प्राडो पजेरो काण्डहरू मच्चाइयो । देश भ्रष्टाचारीको क्रीडास्थलमा परिणत भयो ।

तेस्रो अवसर थियो कांग्रेस सुध्रेन । कांग्रेसकै नेतृत्वको सरकारले दोस्रो जनआन्दोलनको सफलतापश्चात् न्यायमूर्ति रायमाझीको अध्यक्षतामा आयोग गठन ग¥यो । जनआन्दोलन दबाउने, राष्ट्रिय स्रोत तथा साधनको अवचलन गर्ने पात्रहरू पहिचान गरेर तिनलाई कठघरामा खडा गर्ने सिफारिस गरेको थियो रायमाझी आयोगले । उक्त प्रतिवेदन जनसमक्ष प्रस्तुत गरेर सिफारिस गरिएका सुझाव कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुको साटो गिरिजाप्रसाद नेतृत्वको सरकारले त्यसलाई रद्दीको टोकरीमा फालियो ।
देशमा समस्या देखा परेपछि त्यसको समाधान गर्न आयोग गठन गर्ने संस्कार हाबी भएको छ । त्यस्ता आयोगको कार्य विद्रोह सामसुम पार्ने ब्यान्डेज साबित भएका छन् । राज्यले ५० भन्दा बढी आयोग गठन गरी सक्यो । आयोगले प्रस्तुत गरेको प्रतिवेदन तथा तिनको कार्यान्वयन ‘छेपाराको उखान’ साबित भएको छ । उत्तरदायित्वविहीन तथा दण्डहीनता देशव्यापी रूपमा फैलिएको छ ।

अखडाका पहलमानले प्रतिद्वन्द्वीलाई पछारेर नै विजयी हुने हो । राजनीतिमा पनि विरोधी दलको धर्म नै हो प्रतिस्पर्धामा रहेको दललाई कमजोर तुल्याउने । कुनै पनि दलको अस्तित्व जोगाउने कार्य उक्त दल, समर्थक, कार्यकर्ता तथा जनसाधारणले गर्ने हो । जनसमर्थन प्राप्त गर्ने त दलले इमान्दारीका साथ अख्तियार गरेको सिद्धान्त, सामुन्ने आइपरेका समस्या समाधान तथा राष्ट्रलाई निर्दिष्ट दिशाउन्मुख तुल्याउने कार्यक्रमको कार्यान्वयनबाट हो । जाहेर गरेको प्रतिबद्धता नगर्ने दलको पछाडि को लाग्छ ? जनसाधारणले भोगेको समस्याको सम्बोधन तथा दिगो उन्नति पथ निर्माण गर्न अग्रसरता देखाउन असमर्थ दलको पछाडि को लाग्छ ? आजको कांग्रेसले कुन आधारमा कार्यकर्ता परिचालन गरेर जनसमर्थन प्राप्त गर्ने ?
हेक्का होस् दलको नेतृत्वको छवि टुकुचाको पानीभन्दा बिटुलिएको छ । दलका सभापति तथा तिनका परिवारको संलग्नता प्रत्येक भ्रष्टाचारका काण्डहरू, ठूलाठूला खरिद प्रकरण, राष्ट्रिय सम्पत्तिको दुरुपयोग, मानव बेचविखन तथा कर छली आदि इत्यादि काण्डमा भएको चर्चा हुन्छ । त्यस्ता काण्डहरूको ढाकछोप गरिन्छ ‘काले काले मिली खाऊ’ शैलीमा । विगत एक वर्षको अवधिमा कांग्रेस मन्त्रीहरू प्रधानमन्त्रीद्वारा गरिएका भ्रष्टाचार काण्ड तथा अनियमितताहरू मतियार साबित भएका छन् । अन्यथा भ्रष्टाचारी । दलका नेता खुल्लेआम अपराधमा संलग्न नेताको बचावटमा खटिन्छन् । कुनै ‘माइकालाल’ कांग्रेस नेता कार्यकर्ता अगाडि सरेर छनबिन प्रक्रियाको माग गर्ने हिम्मतसम्म पनि गर्न सक्दैनन् । यस्तो अवस्थामा दलको साख पिँधमा पुग्नु अस्वाभाविक किमार्थ होइन ।

गुमेको जनविश्वास फिर्ता ‘कांग्रेसका विरुद्ध चौतर्फी आक्रमण भयो’ भनेर हँुदैन । त्यस्ता अभिव्यक्तिले त कमजोर कांग्रेसलाई झनै कमजोर तुल्याउन सहयोग गर्छ । गुमेको जनविश्वास फिर्ता किमार्थ गर्न सक्दैन । बरु कमजोरी स्वीकार्दा निरीह दलको साथ छोड्ने प्रक्रियालाई ‘स्नोबल इफेक्ट ट्रिगर’ गर्ने प्रचुर सम्भावना हुन्छ । आखिर समाज शक्तिको पुजारी नै हो यहाँ बलेको आगोको राप ताप्न सबै अग्रसर हुन्छन । निभेको आगोको सामीप्य कोही पनि जान चाहँदैन । विगतका गल्तीबाट पाठ सिकेर तत्कालै दलीय सुधार कार्य अगाडि बढाउनुको विकल्प कांग्रेससँग छैन । अन्यथा भारतीय कांग्रेस को नियति नेपाली कांग्रेसले दोहो¥याउने छ ।