देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हातमा राईफल र दिमागमा संगीत बोकेका दीपकराज

देशान्तर

काठमाडौं । पेसाले उनी राष्ट्रसेवक नेपाल प्रहरी हुन् । दैनिक ड्युटीमा हुन्छन् । तर जब खाली समय हुन्छ अथवा कार्यालय अघि र पछिको समय हुन्छ उनी अनामनगरमा रहेको अडियो ल्याब स्टुडियोमा हार्मोनियम, माइक र कम्प्युटरलाई साथी बनाउँदै धुन र आवाजसँग खेलिरहेका भेटिन्छन् । उनी हुन् गायक, संगीतकार, एरेन्जर, रेकर्डिस्ट र स्टुडियो सञ्चालकसमेत रहेका दीपकराज विश्वकर्मा । दीपकको जन्म म्याग्दी जिल्लामा भए पनि बाल्यकाल चितवनको भरतपुर वरपर बितेको हो ।
एसएलसीको पढाइ सकेपछि उनी अबको बाटो खोज्दै थिए । उनीभित्र कलाकारिता थियो र सिनर्जी एफएमले गर्न लागेको कमेडी च्याम्पियन प्रतियोगितामा सहभागी भए । सहभागीमात्र हैन प्रथम नै बने । त्यसपछि उनले पुरस्कारको साटो त्यही जागिर खान सुरु गरे । आज पनि रेडियोमा गरेको त्यही अभ्यासका कारण उनी गीत संगीतसँग नजिक मात्र भएनन् उनले नेपाल प्रहरीको प्रहरी कार्यक्रममा उत्पादन गर्छन् समाचार पढ्छन् । रेडियो रूपक र नाटकमा अभिनय गर्छन् ।


उनीभित्रको गायनकलालाई उनले चितवनको भरतपुरमा रहेको दोहोरी साँझमा पनि प्रयोग गरे । चितवनमा गायक र रेडियो प्रस्तोताको चिनारी बनाएका दीपकलाई भने राजधानी आएर गायकको परिचय बनाउने हुटहुटी थियो ।
उनलाई राजधानी आउन, यता बस्ने संगीत सिक्ने वातावरण बनाउन सक्दो सहयोग गर्ने अर्का संगीतकार दीपक शर्माले वचन दिएपछि काठमाडौं आउने सुरसार गरेर झोला भर्दै गर्दा दीपकका दाइले प्रहरीमा भर्ना खुलेको र भर्ती हुन सुझाए । फर्म भरे, जाँच दिए दीपक पास । तालिमपश्चात् उनको पोस्टिङ प्रहरी हेडक्वाटर नक्सालमा भयो । अहिले उनको दैनिकी प्रहरीको अनुशासनमा रहँदै संगीतको सुरमा रमाउदै गर्नु रहेको छ ।
हालसम्म करिब चार सय गीतमा जोडिएका दीपकलाई अझै सिक्दै गरेको सिकारु हँु भन्ने लाग्छ रे । एक दशकको संगीतयात्रामा उनका सुनैको दरबार, मखमली चोली, पिउन सुरु गरेपछि, साइँली, पिरतीको गुन्द्रीलगायतका गीतहरू लोकप्रिय छन् ।


संगीतमा लिप्त हुँदा अनि कामहरू थपिँदा उनी करिब ६ वर्ष जति आधा निन्द्रा मात्रै सुतेको बताउँछन् । गत मंसिरको आम निर्वाचनका बेला त उनलाई दिन ४८ घण्टाको भैदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो रे । चुनावी गीतको काम अत्यधिक आएको उनले बताए । उनलाई आएका चुनावी गीतहरूमध्ये ६० प्रतिशत गीतहरू गीतकार लोकराज अधिकारीले रचना गरेका नेपाली कांग्रेसका उम्मेदवारहरूका रहेको दीपकले बताए । उनले खुसी हुँदै भने चुनावी गीत बनाएका सबै कांग्रेसका उम्मेदवारहरू चुनाव जितेर अहिले सांसद हुनुहुन्छ । समयमै सिर्जनाको काम सम्पन्न गरेका कारण सबैसँग सम्बन्ध सुमधुर रहेको दीपकको अनुभव छ । सांगीतिक कर्म गरेबापत दीपकले अहिलेसम्म म्युजिक खबर म्युजिक अवार्ड, ओएस नेपाल म्युजिक अवार्ड, नेसनल स्टार म्युजिक एन्ड फिल्म अवार्डलगायतका अवार्डमा सर्वोत्कृष्ट संगीतकारको अवार्ड पाएका छन् भने विभिन्न संघसंस्थाबाट सम्मानित पनि भएका छन् ।