देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

देशान्तर

काठमाडौँ ।  हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । 

स्विडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्य दृश्य समेटिएका छन् । नेपाल टी २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहौलमा यो गीत ल्याएको गायक आचार्यले बताए । ‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरू राखेका छौँ । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’


 सिन्धुली  मरिण गाउँपालिका–७, हाल रातमाटे सिन्धुलीका रचनाकार तथा निर्माता डा. थापा विगत १८ वर्ष देखि स्विडेनमा बस्दै आएका छन् ।  उनि    विश्वबिद्यालयका प्राध्यापक तथा रिसर्चर वैज्ञानिक   हुन् ।
गीतकार थापाले सानैदेखि मह जोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुई–चार वटा गीतहरू पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीहरूको देश चिनाउने दायित्व ठुलो छ । पुराना खेलाडीहरूले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ । तर खेलाडीहरूलाई जति अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिँदैन।  अन्य देशहरूमा खेलाडीको सम्मान हेर्दा ईष्र्या आउँछ। । त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने/गराउने गीत र म्युजिक भिडियो हामीकहाँ कमै बन्छन् । त्यस कारण सबै खेलहरूमा हाम्रो यो गीत राष्ट्रिय गीतको रूपमा गुन्जियोस् र खेलाडीहरू प्रति सम्मान र प्रोत्साहन मिलोस् भन्ने कामनासहित यो गीत ल्याएका हौँ । ’

विशाल निरौलाको सङ्गीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईँहरूले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गरेको हरिवंशले सुनाए । 

श्यामस्वेत रसाइलीको मिक्सिङ,  रहेको यो गीतको रेकर्डिस्ट रञ्जन राई हुन् । गीतकार थापासँगै अस्ट्रेलिया निवासी सुशीला पौड्याल र गोपाल पौड्याल यो गीतका निर्माता हुन् ।