देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘दिमाग खराबले’ बसाल्यो सेयर बराबरीको थिति

देशान्तर


काठमाडौं । चलचित्र हलमा अहिले तेस्रो सातामा चलिरहेको नेपाली चलचित्र ‘दिमाग खराबले’ राजनीतिक विषय उठाएर धेरैको दिमाग खराब गरेको छ । विशेषगरी फोहोरी राजनीति र नयाँको प्रवेशले पुराना नेताको राजनीतिलाई चुनौती दिएको विषय उठान गरेको चलचित्रले वाहवाही बटुलेको छ । राजनीतिमा अनेक सुधार गर्नुपर्ने पक्ष र पात्रलाई पर्दामा उतारेको यो चलचित्रको निर्माण टिमले यथार्थमा पनि आफ्नै क्षेत्रमा कायम रहेको अन्याय र बेथितिलाई समेत ट्र्याकमा ल्याएको छ ।
नेपाली चलचित्र निर्माता र प्रदर्शकहरूबीच सेयर बाँडफाट र शोका विषयमा लामो समयदेखि लफडा चल्दै आएको थियो । निर्माता निर्देशकहरूले नेपाली चलचित्रहरूलाई पर्याप्त शो नदिएको र सेयर बाँडफाँटमा पनि नेपाली चलचित्र निर्मातामाथि अन्याय गर्दै आएको आरोप लगाउँदै आएका थिए ।


केही चलचित्र निर्माताहरूले त्यस्को विरोधस्वरूप चलचित्र हलबाट उतारेका पनि थिए । कतिपयले सामाजिक सञ्जाल र पत्रकारमाझ आफूहरू माथि ज्यादती भएको प्रतिक्रिया सार्वजनिक गर्ने गरेका थिए । तर ती नसाताअघि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराबले’ भने यो मुद्दालाई टुंगोमा पु¥याएको छ । रिलिजको छैटौं दिन कात्तिक २९ गते निश्चलले हिन्दी चलचित्र सरह शो नदिए र सेयर ५० प्रतिशत नदिए ‘दिमाग खराबको’ प्रदर्शन रोक्ने चेतावनी दिएका थिए । चलचित्र संघमा तीन दिनसम्म चलेको बैठकले थुप्रै बुँदामा सहमति गरेको छ । दिमाग खराब टिमले लिएको अडान र चेतावनी अनि दुई पक्षबीच भएको बार्ता र सहमतिपछि सेयरको विषयमा कोशेढुंगा सावित हुने ऐतिहासिक निर्णय भएको छ । सेयर बाँडफाँडसँगै हलमा ट्रेलर तथा पोस्टर आदि प्रचार सामग्रीको प्रयोगको विषयमा पनि चलचित्र संघ र निर्माता संघबीच विशेष सहमति भएको छ ।


अब हलमा नेपाली फिल्म जति हप्ता चले पनि निर्माताले ५० प्रतिशत नै सेयर पाउनेछन् । यसअघि, निर्माताले दुई साता ५० प्रतिशत सेयर पाउने व्यवस्था थियो । त्यसपछि भने फिल्मको व्यापार जस्तो भए पनि निर्माताले पाउने सेयरको प्रतिशत घट्थ्यो । चलचित्र तेस्रो हप्ता पुग्दा निर्माताको सेयर ३५ प्रतिशतमा झारिन्थ्यो । सिंगो चलचित्र क्षेत्रको हित हुने गरी निर्देशक निश्चल बस्नेत र निर्माता रौनकविक्रम कँडेलले यो मुद्दालाई बलियो अडानका साथ उठाएर टुंगोमा पु¥याएका हुन् ।


कलाकार चलचित्र निर्माता तथा हल व्यवसायी दीपकराज गिरीले पनि लामो समयदेखि यो मुद्दा उठाउँदै आएका थिए । आफूले हल सञ्चालन गरेको दिन उनले निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा गरेका थिए । चलचित्र निर्माता र प्रदर्शकबीचको यो सहमति पछि चलचित्र निर्मातालाई पनि उत्कृष्ट चलचित्र बनाउन दबाब परेको छ । किनकि कतिपय सिनेमा एक साता नहुँदै हलबाट उत्रन्छन् । कतिपय बल्लबल्ल दोस्रो साता टेक्छन् । वर्षमा तेस्रो, चौथो, पाँचांै, साता उक्लने चलचित्र त औंलामा गन्ने मात्र हुन्छन् । निर्माताले हेर्न लायक अब्बल चलचित्र नबनाउने हो भने ५० प्रतिशतको सहमतिको फाइदा सीमित चलचित्रलाई मात्र हुनेछ ।