देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

देशान्तर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी) केन्द्र तनहुँले शुक्रवार आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले भने, “संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।”
परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे । उनले भने “नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।” सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएको बताउदै देशको सुरक्षा अवस्था सामान्य रहेको बताएका थिए ।
आफूले सरकारको नेतृत्व गर्ने बेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको उनले बताए । यद्यपि दबाबमुक्त भने भनइसकेको जानकारी गराउँदै उनले अर्थतन्त्र सुधारका उपाय खोज्न आगामी चार गते वृहत बैठक बोलाएको जानकारी गराए ।