देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल संवत नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री दाहाल

देशान्तर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् भएको बताएका छन् ।
शंखधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत् प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मध्यपुरथिमिको मौलिक नाम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपाल संवत् सामाजिक न्यायमा आधारित संवत् रहेको चर्चा गरे । शंखधर साख्वाःको प्रेरणाबाट आफूले धेरै निर्णय लिएको स्मरण गर्दै प्रधामन्त्री दाहालले भने, “गणतन्त्र स्थापना भएपछि मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको हो, त्यतिबेला नेपालका गरिब किसानको ऋण मोचन गर्न ३० हजारसम्म ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गर्ने निर्णय गरँे, त्यो निर्णय शंखधर साख्वाःबाट प्रेरणा लिएर गरेको निर्णय हो ।”

उनले हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताउँदै अब प्रत्येक कागजी प्रक्रिया एवं ठाउँमा यो संवत् कार्यान्वयनमा आउने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले शंखधर साख्वा समाजवादी सांस्कृतिक नायक भएको चर्चा गर्दै संस्कृति, पर्यटन मन्त्रालयले शंखधरको नाममा पुरस्कार स्थापना गर्ने घोषणा गरे ।

कार्यक्रममा बागमती प्रदेशका पशुपक्षी मन्त्री डा राजेन्द्रमान श्रेष्ठले नेपाल संवतलाई व्यवाहारिक रुपमा सरकारी कामकाजमा लागू गर्ने सङ्घीय सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै बागमती प्रदेश सरकारले पनि नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने निर्णय गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दावेले नेपालको मौलिक पहिचान खोज्नु र स्थापित गर्नु जरुरी रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाल संवत् नेपालको आफ्नो मौलिक संवत् भएको भन्दै आफ्नो पार्टीले पनि यसलाई कार्यान्वयनमा ल्याउने बताए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिले चार सय ५० वटा मौलिक नाम, ठाउँ पहिचान गरेको बताउँदै त्यस्ता मौलिक नामलाई टोलटोलमा स्थापित गर्ने बताए ।

प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले साख्वाःको योगदानलाई नेपालभरिनै प्रचार गर्ने अभियान सुरु भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले ११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल संवत् हटाइ राणाहरुले भारतको विक्रम संवत् लागू गरेको चर्चा गर्दै नेपाल संवत् ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धि हासिल भएको बताए । कार्यक्रममा प्रधानमन्त्रीले दाहालले मध्यपुरथिमिका मौलिक नामहरु समेटिएको शिलापत्र अनावरण र शंखधर बुलेटिन विमोचन गरेका थिए ।
त्यसअवसरमा नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र नेपाल संवतको एप्स निर्माण गर्ने सौनक रञ्जीतकारलाई सम्मान गरिएको थियो । त्यसैगरी शंखधर पदकसहित सङ्गीतकार रामकृष्ण दुवाल, अभियन्ता गणेश सायमी र पत्रकार नारायण किलम्बुलाई सम्मान गरिएको थियो ।