देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय – नालायक सरकार चिनीको हाहाकार

देशान्तर



नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु हुनै लाग्दा बजारमा चिनीको हाहाकार भएको छ । उपभोक्ताले बजारबाट चिनी किन्न पाएकै छैनन् । केही व्यापारीले कालोबजारी गरी प्रतिकिलो २ सय रुपैयाँसम्ममा बेच्ने गरेका छन् । निजी उद्योगी व्यापारीले चिनी नभएको बताइरहेका बेला सरकारी स्वामित्वका दुई कम्पनी साल्ट टेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि मौज्दात सकिएको भन्दै उनीहरुले सन्चालन गरेका सुपथ मूल्य पसलबाट चिनी बिक्री गर्न छाडेका छन् ।
तिहारलाई उज्यालो र फूलैफूलको पर्वसँगै गुलियो मिठाइको पर्व पनि भनिन्छ । चिनी बिना तिहारका कुनै पनि मिष्ठान्न तयार हुँदैनन् भने भाइमसला पनि चिनी बिना अपूरो हुन्छ । हाम्रो दैनिक जीवनकै लागि चिनी अनिवार्य भइसकेको छ । चिया, कफीदेखि अन्य पेय तथा खाद्य पदार्थमा पनि चिनीको प्रयोग हुन्छ । बजारमा चिनी नहुँदा आम नेपालीको भान्छाको स्वाद पनि फेरिन लागेको छ ।
बजारमा चिनीको अभाव भएको एक महिनाभन्दा बढी भइसकेको छ । दसैंमा पनि उपभोक्ताले मनग्य चिनी किन्न पाएनन् । सरकारले भारतबाट आउँदै छ, केही दिनमा पर्याप्त उपलब्ध हुन्छ भनिरह्यो । तर, सरकारसँग भएको अलिअलि बिक्री गरे पनि गोदाम खाली भएपछि चिनी बिक्री गर्नै छाड्यो । केही व्यापारीले भने यही मौकामा बढी मूल्यमा चिनी बिक्री गरे । ९० देखि १०० रुपैयाँसम्मको चिनीलाई १५० रुपैयाँभन्दा बढीमा बिक्री गरे । तर, पनि सरकारले अनुगमन गरेन, कसैलाई कारबाही गरेन । काठमाडौंकै कुलेश्वरमा एक व्यापारीले ७० टन चिनी लुकाएर राखेको पाइए पनि सरकारले ठोस कारबाही गर्न सकेन । यसैगरी थुप्रै व्यापारीले चिनी लुकाएर कृत्रिम अभाव सिर्जना गरेको र कालोबजारी गरेको आम उपभोक्ताको गुनासो छ । सरकारले बेलैमा व्यापारीको नियत भेउ नपाउँदा बजारमा चिनीको हाहाकार भएको हो ।
बजारमा हाहाकार भएपछि बल्ल अहिले आएर सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने र बजारमा पठाउने तयारी सुरु गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाली चिनी उद्योगहरूले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी नपठाइ ठूला उद्योगलाई आपूर्ति गर्न गोदाममै राख्ने गरेको पनि भेटिएपछि त्यसमा पनि निगरानी बढाइएको जनाइएको छ ।
नेपालका उद्योगहरुले उत्पादन गर्नेमध्ये ७० प्रतिशतभन्दा बढी चिनी पेय पदार्थ तथा बिस्कुट र चकलेट उद्योगहरुमा खपत हुने गरेको छ । ती उद्योगहरुले अत्यधिक चिनी भण्डारण गरेर राखेकैले पनि बजारमा अभाव भएको हो । खासगरी कोकाकोला, फ्यान्टा, पेप्सी लगायत पेय पदार्थ उत्पादन गर्ने उद्योगहरुमा सबैभन्दा बढी चिनी खपत हुने गरेको छ । ती उद्योगहरुमा हुने चिनीको आपूर्ति केही समयका लागि रोकेर उपभोक्ताका लागि बजारमा पठाउने हो भने पनि केही हदसम्म चिनीको समस्या समाधान हुने छ ।
सरकारकै अनुसार पनि भारतबाट ल्याउने भनिएको २५ हजार मेटिक टन चिनी नेपाल आइपुग्न अझै कम्तीमा एक हप्ता लाग्छ । त्यतिबेलासम्म तिहार सुरु भइसक्छ । दसैंमा समेत पर्याप्त चिनी नपाएका तिहारमा पनि चिनीको अभावमै चाड मनाउनुपर्ने अवस्थाको संकेत देखिएको छ । यतिमात्रै होइन, बजारमा चिनीसँगै प्याजको पनि अभाव देखिएको छ । अभावसँगै मूल्य अकासिएको छ । दसैंअघिसम्म एक सय भन्दा कममा पाइने प्याज हिजोआज २ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ । अत्यावश्यक उपभोग्य वस्तुमा बढेको अभाव, कालोबजारी र मनपरी मूल्यका बारेमा सरकार तत्काल गम्भीर हुनुपर्ने देखिएको छ ।