देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए बालुवाटार कार्यालयमा पत्रकार शर्मा कुटिए

देशान्तर

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ एनआरएनएका अभियन्ता एवम् पत्रकार ओम शर्मालाई एनआरएनएको मुख्यालय बालुवाटारमा एमाले निकट युवा सङ्घका कार्यकर्ताले हातपात गरेका छन् ।

एनआरएनए विभाजित समूहका अध्यक्ष डा.बद्री केसी र एमाले नेता महेश बस्नेतसहितका नेताहरू सहभागी भएको कार्यक्रममा पुगेका चार दिशा अनलाइनका सम्पादक रहेका शर्मालाई मङ्गलवार दिउँसो युवा सङ्घका कार्यकर्ताले कुटपिट गरेका हुन् ।

बेल्जियम निवासी शर्मा एनआरएनए अभियन्ता तथा नेपाल पत्रकार महासङ्घका बेल्जियम अध्यक्ष समेत हुन । शर्माको दाँतमा चोट लागेको छ । त्यस्तै मुख्यालयमा पुगेका सङ्घका अध्यक्ष आरके शर्माले लगायतका अभियन्ताहरूमाथि अभद्र व्यवहार भएको शर्माले जानकारी दिए । उनले आफू घटनाका बीच उम्किन सफल भए पनि  अन्य अभियन्ताहरूमाथि अभद्र व्यवहार भएको बताए ।

‘एनआरएनए मुख्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि आएको थिएँ । कन्फ्रेन्स हलमा पुग्दा युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा सङ्घको के कार्यक्रम हो ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो,’ पत्रकार शर्माले भने ।

घटनापछि एनआरएनए मुख्यालयमा अहिले प्रहरी पुगिसकेको छ भने तनाव साम्य भएको छ । घटनापछि महेश बस्नेतसहितका युवा सङ्घका कार्यकर्ता बाहिरिएका छन् ।  केही साताअघि काठमाडौँको सोल्टी होटेलमा भएको एनआरएनएको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन मतदानमा धाँधली भएपछि आरके शर्मा र डा.बद्री केसीले समानान्तर गतिविधि गरिरहेका छन् ।

अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मत परिणाम अस्वीकार गरेका छन् भने डा.केसीले आफू अध्यक्षमा विजयी भएको भन्दै शपथ लिइसकेका छन् । दुई साताभित्र मतदानमा भएको त्रुटिबारे अनुसन्धान गर्ने र त्यसपछि बाँकी प्रक्रिया अघि बढाउने सहमति विपरीत डा.केसीले शपथ लिएपछि एनआरएनए विभाजित अवस्थामा छ ।