देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ : उपप्रधानमन्त्री खड्का

यमबहादुर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा गलत हो

देशान्तर


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्तत्रामा चुनौती’ विषयक कार्यक्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रवद्र्धन गर्न संवैधानिक र कानुनी प्रबन्ध गरिएको बताए ।
उनले संविधानमा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रताको अवधारणालाई प्रभावकारी तवरमा व्यवहारमा उतार्न आवश्यक कानुनी र राजनीतिक वातावरण निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर भइरहेका सूचना प्रवाहले उपभोक्तालाई समेत सही सूचना पाउन वञ्चित गरेको यथार्थ नकार्न नमिल्ने जनाउँदै उनले सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै इन्टरनेट प्लेटफर्मलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जीवन उपयोगी बनाउन निरन्तर प्रयास गरिरहेको बताए ।

लोकतन्त्र रहेमात्र प्रेस स्वतन्त्रता रहने उल्लेख गर्दै उनले इन्टरनेटको विस्तारका लागि पनि हरेक देशमा लोकतान्त्रिक वातावरण आवश्यक रहेको बताए ।

अर्को प्रसंगमा रक्षामन्त्री खड्काले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भ जोडेर गलत प्रचार गरिएको बताए । खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे ।
उपप्रधानमन्त्री खड्काले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । गलत सूचनालाई सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्योल हुने उनको भनाई थियो ।
सहायक रथी यमबहादुर अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरूको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरूलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरिएको उनको भनाई छ ।
उनले सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, र मन्त्री जाने कल्पना पनि गर्न नसकिने भन्दै अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे ।

राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष तपबहादुर मगरले इन्टरनेटको प्रयोगले दैनिकी सहज भए पनि सीमाविहीन प्रयोगले चुनौती थपेको बताए । उनले मिथ्या, गलत तथा भ्रमपूर्ण सूचनाले सामाजिक, धार्मिक द्वन्द्व निम्त्याएको उल्लेख गर्दै सही र गलत सूचना छुट्याउन नसक्दा समाजमा ठूलो भ्रम पर्ने गरेको उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले पत्रकारले राजनीतिक तथा सामाजिक क्षेत्रमा आलोचनात्मक ढङ्गबाट कलम चलाउनुपर्नेमा जोड दिँदै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताए । उनले विकृति–विसङ्गतिविरुद्ध पत्रकारले सशक्त आवाज उठाउनुपर्ने बताए ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सङ्कटका बेला मिथ्या सूचनाको प्रवाह बढ्ने गरेको उल्लेख गर्दै सही सूचना के हो भन्नेमा सबै जानकार हुनुपर्ने बताए । उनले नागरिक समाज, सञ्चारमाध्यम तथा सीमान्तकृत समुदायका नागरिकलाई मिथ्या सूचनाका सम्बन्धमा सचेत गराउन दूतावासले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।