देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोदीको हेपाहा प्रवृत्ति

देशान्तर


काठमाडौं । नेपाल सरकारले नयाँ नक्सा जारी गर्दा समेटिएको क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि जानकारी नै नदिई भ्रमण गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बिनाजानकारी नेपाली भूमि कालापानी क्षेत्रमा गरेको भ्रमणबारे राजनीतिक दलका नेताहरूले विरोध गर्दै सरकारको जवाफ माग गरेका छन् । यो विषय संसद् बैठकमा पनि उठाइएको छ ।
भारतीय मोदी बिहीबार बिहान नयाँ दिल्लीबाट हेलिकोप्टर चढेर कालापानीको गुञ्जी पुगेका थिए । उनले त्यहाँ मन्दिरमा पूजापाठ गरेपछि तिब्बतको मानसरोवर पुगेका थिए । फर्किंदा स्थानीय नेपालीसँग भेटघाट र छलफल गरेको फोटो तथा भिडियो सार्वजनिक भएका छन् ।
भारतले कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र वर्षौंदेखि अतिक्रमण गर्दै आइरहेको छ । जुन क्षेत्रमा नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङलगायत पर्दछ । मोदीको नेपाली भूमिको भ्रमण गर्दा नेपाल सरकारले कुनै जानकारी नराखेको भन्दै सरकारको आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालयले उक्त घटनालाई गम्भीरताका साथ लिएको भन्दै सामान्य पत्रकार सम्मेलन गरेर टारिदिएको छ ।
गत बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता रवि लामिछानेले मोदीको भ्रमणबारे सरकार मौन बसेको भन्दै तत्काल जवाफ दिन माग गरेका थिए ।


मोदीको भ्रमणबारे नेपाल सरकार र स्थानीय प्रशासनलाई जानकारी नभएको विषय गम्भीर भएको उनको भनाइ थियो । सांसद विनिता कठायतले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसहित भारतका प्रधानमन्त्री कालापानी पुगेको भन्दै भ्रमण केका लागि भनेर प्रश्न गरेकी थिइन् । यसैगरी एकीकृत समाजवादीका नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारसँग जवाफ मागेका छन् । विदेश विभाग प्रमुखसमेत रहेका खनालले शनिबार विज्ञप्ति जारी गर्दै मोदीको भ्रमण आश्चर्यजनक घटना भन्दै पूजाआजाको नाममा गरिएको ठाडो अतिक्रमण भएको बताएका छन् । खनालले मोदीको यो कार्यबारे सरकारलाई जानकारी र नेपाल सरकारसँग स्वीकृति लिइएको थियो कि थिएन भनेर जवाफ मागेका छन् । खनालले यो घटनाले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको उल्लेख गरेका छन् ।
उनले परराष्ट्र मन्त्रालयमार्फत सम्पूर्ण यथार्थ जनसमक्ष ल्याउन पार्टीका तर्फबाट गठबन्धन सरकारसँग जोडदार माग गरेका छन् । यसैगरी नेकपा (माले)ले पनि भारतीय प्रधानमन्त्रीको कालापानी क्षेत्रमा भएको भ्रमणले नेपालको सम्प्रभुता र भौगोलिक अखण्डतामाथि प्रहार भएको जनाएको छ । पार्टीका महासचिव सीपी मैनालीले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदीको यो भ्रमण भारतीय हेपाहा प्रवृत्तिको पछिल्लो नांगो उदाहरण भएको समेत उल्लेख गरेका छन् ।
मैनालीले कालापानी क्षेत्रमा नेपाल सरकारको जानकारी र अनुमतिबिना भ्रमण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै हातहतियारसहित भारतका प्रधानमन्त्री र उनका सुरक्षाकर्मीहरू मनलाग्दो गरी नेपालका गाउँगाउँ डुल्नुलाई देशमाथिको ठाडो हस्तक्षेप भनेका छन् । उनले वर्तमान सरकारले अनदेखा गर्नु निन्दनीय भनेका छन् ।
मैनालीद्वारा जारी विज्ञप्तिमा यसप्रति यो ‘कम्फर्टेबल’ सरकार मौन रहनु भत्र्सनायोग्य रहस्य बनेको छ । यो भारतीय हेपाहा प्रवृत्तिको पछिल्लो नाङ्गो उदाहरण हो ।’ भनिएको छ । उनले वर्तमान सत्ताले कालापानी क्षेत्र भारतलाई सुम्पिन खोजेको हो ? भनेर प्रश्न गरेका छन् ।