देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनमा महेश र बुद्धि अगाडि

देशान्तर


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको ११औं महाधिवेशनका लागि अहिलेसम्म त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । जसमा जापानका महेश श्रेष्ठ, रुसका डा. बद्री केसी र कतारका आरके शर्माका बीचमा मुख्य प्रतिस्पर्धा देखिए पनि रविना थापा र विनय अधिकारीले पनि अध्यक्षको तयारी गरेका छन् । आज आइतबारसम्म उम्मेदवारी दर्ताको समय रहेकाले आरकेबाहेक अरुले उम्मेदवारी दर्ता गरेका छैनन् । प्यानल बनाएर चुनाव लड्न नपाइने विधानमा व्यवस्था रहे पनि अहिले राजनीतिक दलहरूको आस्थाका आधारमा चुनावी गतिविधिहरू भइरहेको छ । जापानका महेश श्रेष्ठले अध्यक्षको प्रतिस्पर्धामा उत्रँदा उनको महासचिवको रूपमा अमेरिकाका निवर्तमान एनसीसी अध्यक्ष बुद्धिसागर सुवेदी उम्मेदवार बनेका छन् । खासगरी विगतमा कोषाध्यक्ष र वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुँदा प्रभावकारी भूमिका खेलेका महेश र एनसीसी अमेरिकाको अध्यक्ष हुँदा गरेका कामका आधारमै आफूहरू निर्वाचित हुने दुवैको दावी रहेको छ । गैरआवासीय नेपाली संघ एनआरएनमा लोकतान्त्रिक आस्थावान् व्यक्तिहरूको वाहुल्य रहे पनि नेपाली कांग्रेसकै गुटगत केही प्रभाव पर्ने पक्का जस्तै छ । लोकतान्त्रिक उम्मेदवारलाई सघाउँदा ४ हजार १ सय ९२ प्रतिनिधिबाट झन्डै ६० प्रतिशतभन्दा माथि मत आउने आंकलन गरेको छ । तर, एनआरएनको अभियानमा सक्रियहरूको संख्या धेरै पद थोरै हुँदा उम्मेदवार व्यवस्थापन गर्न भने श्रेष्ठ र केसी समूहलाई अप्ठेरो परेको बुझिएको छ । यीबाहेक अरु अध्यक्षका उम्मेदवारको समूह व्यवस्थापन गर्ने कुनै तनाव भने छैन ।
दसौं अधिवेशनबाट ३ जना अध्यक्ष बनाएर टुक्राटुक्रा हुनबाट जोगिएको एनआरएनकी अध्यक्ष रविना थापा र उपमहासचिव भएका विनय अधिकारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।


एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको यो संस्था चरम राजनीतिक गुटवन्दीका कारण थिलथिलो भएको अवस्थामा अहिले हुन लागेको चुनावबाट आउने नयाँ नेतृत्वले यसलाई सुधार गर्न आवश्यक छ ।
तर, उम्मेदवारी दर्ता गर्दा अचम्मको दृश्य देखिएको छ । महेश र बद्री समर्थकहरू नै आरकेको प्रस्तावक र समर्थकमा बसेका छन् । आफूलाई नेपाली कांग्रेसको कार्यकर्ता भन्न बेद खरेल र बद्री निकट डीबी क्षेत्री नै प्रस्तावक बस्दा रमेश भट्ट र बन्दना शर्मा (सापकोटा) समर्थक बसेका छन् । महेशको प्यानलबाट उपाध्यक्षमा डा. केशव पौडेल, नारायण आचार्य, रोबिन शेरचन, राजु रेग्मी (राज), सुनील साह र गंगाधर गौतम रहेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान रहेकी छिन् । महेशको समूहबाट महासचिवमा बुद्धिसागर सुवेदीले प्रतिस्पर्धा गर्ने पक्का हुँदा कोषाध्यक्षको उम्मेदवार भने टुंग्याएको छैन । उपमहासचिव सोम सापकोटा र प्रवीण गुरुङ रहेका छन् । युरोप संयोजकमा चिन्तामणि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी बद्री समूहबाट उपाध्यक्षमा डा. हेमराज शर्मा, रामशरण सिम्खडा, डा. विनोद श्रेष्ठ, चिरञ्जीवी घिमिरे, रोविन श्रेष्ठ, यासमिन बेगम सयद र युवा उपाध्यक्षः रोशन थापा रहेका छन् । यस्तै, गणेश केसीले पनि उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । ओसियानाबाट अरुणकुमार ठाकुरले उपसंयोजक पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
महासचिवमा गौरीराज जोशीले दोहो¥याउने तयारी गरेका छन् भने सचिवमा प्रमोद सिटौला, सन्तोषकुमार भट्टराई, डा. नवराज रोस्यारा, पारसमणि पोखरेल, राजेन्द्र पुडासैनी र यज्ञराज सुवेदी, डा. ज्ञानेन्द्र रेग्मी, प्रकाश सापकोटा रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा सुदन थापा महिला संयोजकमा अनुजा प्रधान र युवा संयोजकमा सुपेन्द्र घिसिङ रहेका छन् । आरकेले अध्यक्षमा उम्मेदवारी दर्ता गरे पनि उनले श्रेष्ठ र केसी समूहमा रहेका उम्मेदवारलाई आफ्नो समूहको भनी प्रचार गरे पनि महासचिव र कोषाध्यक्ष पदमा खुल्न सकेका छैनन् ।
विभिन्न देशको भ्रमण सकेर अध्यक्षलगायत अन्य पदका प्रत्याशीहरूले काठमाडौंमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । ९ बुँदे प्रतिबद्धतासहित डा.केसीले पुनः अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् भने मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले पाँचबुँदे प्रतिबद्धतासहित चुनावी अभियानलाई अघि बढाएका छन् ।
१०औं महाधिवेशनबाट पूर्वअध्यक्ष शेष घले समर्थित ठूलो समूह असन्तुष्ट भएपछि विनोद कुँवरको नेतृत्वमा छुट्टै कार्य समितिको घोषणा गरिएको थियो । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा जुन १८, २०२३ मा दुवै पक्षबीच सहमति भएको थियो । तर पछिल्लो समय चार बुँदामा समेटिएको सहमति कार्यान्वयनमा नआएपछि एकताको महाधिवेशन हुने सम्भावना सकिएको छ ।
तर, अध्यक्षका प्रत्याशी महेशकुमार श्रेष्ठले कोरिया भ्रमणमा रहेका बेला असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरसँग भेटेर एकताका लागि अनौपचारिक सहमति गरेपछि चुनावी माहोल परिवर्तन भएको छ । उनीहरूबीच भएको आन्तरिक छलफलमा तीन महिनाभित्र एकता गर्ने सहमति जुटेको थियो ।
श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरू र डेलिगेट्स एवम् सदस्यहरूबीच आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र एकता गराउने प्रतिबद्धता जनाएका थिए । आफ्नो सम्बोधनको क्रममा उनले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गर्दै विनोद कुँवरलाई साथमै राखेर सम्बोधन गरेपछि महेश टिम उत्साहित बनेको छ ।


त्यसक्रममा उनले भने, ‘गैरआवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नु पर्नेछ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर म संघलाई एक बनाई छाड्ने वाचा गर्दछु,’ उनले भने, ‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’त्यसक्रममा कुँवरले १०औँ महाधिवेशनमा जस्तै त्रुटिहरू नगर्न र एकता गर्न आह्वान गरेका थिए । उनले श्रेष्ठलाई शुभकामनासमेत दिँदै सद्भाव प्रकट गरेका थिए । गत मार्च २०२२ मा काठमाडौंमा एनआरएनएको छुट्टाछुट्टै १०औं महाधिवेशन आयोजना गरिएपछि कुँवर नेतृत्वको समूहले समानान्तर संस्था सञ्चालन गर्दै आएको छ ।
उता, डा. बद्री समूहले पनि आफू निकटसँगको बैठकमा परिस्थिति सकारात्मक बन्दै गएको बताउने गरेको छ ।
उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुईदुई जना आवश्यक पर्ने भएकाले अहिलेसम्म केही उम्मेदवारले प्रस्तावक र समर्थक पाउन मुस्किल रहेको बताएका छन् । एक जना उम्मेदवारका लागि सशरीर दुई जना प्रस्तावक र दुई जना समर्थक आवश्यक पर्छन् । ४१ सय ९२ जना प्रतिनिधिहरूले नेपाल र विदेशबाट गरी मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने भए पनि काठमाडौंमा प्रतिनिधिको संख्या विगतको तुलनामा एकदमै पातलो रहेको छ । जसका कारण पनि उम्मेदवारलाई प्रस्तावक र समर्थक जुटाउन नै हम्मेहम्मे परेको हो ।


एनआरएनए केन्द्रीय कार्यालयले डेलिगेट्स दर्ताको शुल्क भने घटाएको छ । यसअघि दुई सय अमेरिकी डलर तय गरिएकोमा विहीबार साँझ बसेको आईसीसीको बैठकले नेपाली १५ हजार रुपैयाँ मात्रै दर्ता शुल्क तोकेको हो ।