देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

देशान्तर


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् ।
राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन र मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आफू नेतृत्वको आयोगको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउँदै धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।
आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरे । राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक भएकोमा जोड दिए ।
यसैगरी, राष्ट्रपति पौडेलले मधेसी आयोगको प्रतिवेदन ग्रहण गर्दै मधेसमा पनि सिङ्गो देशकोजस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताए । उनले नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको मधेसी समुदायको भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कार देशको विविधताजस्तै विविधतापूर्ण रहेको बताए ।

राष्ट्रपतिले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको बताए ।