देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा प्रधानमन्त्री

देशान्तर


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताएका छन् । उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त भएको उल्लेख गरे । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले चीनका राष्ट्रपति सि चिनपिङले गरेको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गरे ।

चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालले सदनमा बताए ।चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफलका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्नेमा आफूले राखेको धारणाप्रति उनिहरुलेपूर्ण समर्थन रहने बताएको प्रधानमन्त्री दाहालले जानकारी दिए । उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पु¥याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए । यस्तै, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमानाकाको पुनःसञ्चालन, सीमानाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका विषयमा छलफल केन्द्रित भएको उनको भनाइ छ । यसैगरी नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा समेत विस्तारपूर्वक छलफल भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

चीन भ्रमणअघि आफूले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई उच्चस्तरीय सत्रमा नेपालकोतर्फबाट सम्बोधन गरेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउदै सम्बोधनमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशमा पारेका प्रभावलाई केन्द्रित गरेको जानकारी दिए । उनले ती समस्याको निराकरणका उपायहरू, हिमाली राष्ट्रका समस्या, दिगो विकासका लक्ष्यको प्राप्तिमा अल्पविकसित राष्ट्रका समस्याका बारेमा उल्लेख गरेको बताए । प्रधानमन्त्री दाहालले ती समस्या समाधानमा साधनस्रोतको व्यवस्थाका लागि विश्वसमुदायको गम्भीर ध्यानाकर्षण गराएको तथा अतिकम विकसित तथा भूपरिवेष्ठित राष्ट्रका समस्याप्रतिविश्वको ध्यानाकर्षण गराएको स्पष्ट पारे ।

समकालीन विश्वका प्रमुख मुद्दाहरू, मानवअधिकार, आतङ्कवाद तथा निःशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गरेको उहाँले उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समग्रमा दुवै भ्रमण सफल भएको आफूले ठानेको बताए । उनले चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको पनि बताए । संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावबारे नेपाललगायत अतिकम विकसित मुलुकका चुनौती र तिनको सम्बोधनका लागि विश्वसमुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराएका थिए । रासस