देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नीतिगत तहमै युवा हस्तक्षेप आवश्यक छ:अध्यक्ष मजगैयाँ

देशान्तर

काठमाडौं । राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष शशि शर्मा मजगैयाँले मुलुकको समृद्धिका लागि युवाको पहुँच र आवश्यकता अनुसार नीतिगत तहमै हस्तक्षेप हुनुपर्ने बताएका छन् । युवा संस्थाहरूको छाता सङ्गठन राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको एघारौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मजगैयाँले त्यस्तो बताएका हुन् । राज्यले युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित भएर स्पष्ट नीति नबनाएकै कारणले दैनिक हजारौँ युवा बिदेसिन बाध्य भएको उल्लेख गर्दै व्यवहारिक र स्पष्ट नीति निर्माण तथा कार्यान्वयनमा युवा वर्गले नै हस्तक्षेप गर्नुपर्ने उनको धारणा  थियो । बेलैमा युवा केन्द्रित नीति र कार्यक्रमलाई जोड दिन नसके देश निकट भविष्यमै युवा विहीनताको अवस्थामा पुग्न सक्ने भन्दै राजनीतिक दल र नागरिक समाज त्यसमा जिम्मेवार हुनुपर्ने उनको जोड  थियो ।

महासङ्घको वार्षिक प्रगति तथा आर्थिक विवरण पारित गर्दै काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वाग्मती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री केशव पोख्रेलको प्रमुख आथित्यता र महासङ्घका केन्द्रीय अध्यक्ष मजगैयाँको अध्यक्षतामा सम्पन्न साधारण सभामा देशभरिका पचास बढी जिल्लाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साधारण सभाले महासङ्घका विभिन्न नीति ,योजना र कार्यविधि माथि छलफल गर्दै  संशोधन गर्ने निर्णय गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले महासङ्घले युवाका मुद्दाहरूलाई सशक्त बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने बताए । अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवाहरूले युवाभित्र आफ्ना मुद्दाहरू ओझेल परिरहेको भन्दै महासङ्घले त्यसको संरक्षण र वकालत गर्ने विश्वास व्यक्त गरे ।  कार्यक्रममा माननीय केशव पोखरेल ,प्रकाश विकल्प,टीका ढकाल,खिलनाथ लुइँटेल,डा.नवीन जोशी,आर .के ढुङ्गाना लगायतका वक्ताहरूले बोलेका थिए । महासङ्घले पारदर्शी तरिकाले आर्थिक तथा प्रगति  विवरण पेस गरेको भन्दै पूर्व मन्त्री पोखरेलले युवाहरू सुशासन र पारदर्शिताको संवाहक भएको बताए । युवा विना देश संवृद्ध हुन नसक्ने भन्दै युवा केन्द्रित कार्यक्रम निर्माण गर्न सरकार जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो । युवा जागरण सङ्गै नीतिगत तहमै युवाको जवर्जस्त उपस्थिति हुनुपर्नेमा कार्यक्रमका वक्ता प्रकाश विकल्पको धारणा थियो । ग्रिन जब र ग्रिन इकोनोमी आजको आवश्यकता भएको भन्दै दिगो वातावरण संरक्षणका लागि युवा सहभागिता हुनुपर्ने भन्दै महासङ्घले वातावरण संरक्षणका विभिन्न रणनीतिक कार्य योजनामा काम गरिरहेको महासङ्घका वन तथा वातावरण विज्ञ डा.नवीन जोशीले बताए । 

महासङ्घका  सचिवालय सदस्य शोभा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासचिव राजु सुनार र कोषाध्यक्ष प्रदीप प्रसाद चौलागाईंले क्रमशः महासङ्घको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासङ्घका उपाध्यक्ष दीपक कार्कीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक द्वय क्षितिज शर्मा र रश्मि सेढाईले महासङ्घमा सञ्चालित परियोजनाका उपलब्धिलाई प्रस्ट्याउँदै प्रस्तुतीकरण गरेका थिए ।