देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा वर्गलाई स्वदेशमै टिकाउने रणनीति




सामान्यतया १८ वर्षदेखि ४० वर्ष उमेरसम्मका व्यक्तिलाई युवा मान्ने गरिन्छ । युवा वर्ग राष्ट्रको उत्पादनशील जनशक्ति हो । युवा वर्गले नै मुलुकको राजनीतिक, प्रशासनिक, प्राविधिक, सांस्कृतिक, सामाजिकजस्ता महत्वपूर्ण दायित्व वहन गरेको हुन्छ । मुलुकले कुनै पनि व्यक्तिलाई जनशक्तिका रूपमा विकास गर्न शिक्षा, स्वास्थ्य, समाज, संस्कृति आदि क्षेत्रमा ठूलो लगानी गरेको हुन्छ । यस अर्थमा कुनै पनि युवा बिदेसिने प्रवृत्तिलाई व्यक्तिगत तवरले मात्र हेरिनु कमजोरी हुन जान्छ । युवा बिदेसिनु भनेको जनशक्ति पलायन हुनु हो । उक्त व्यक्तिलाई राष्ट्रले गरेको लगानी बाहिरिने हुनाले आर्थिक क्षति हुनु हो । समाज मनोविज्ञान, सामाजिक संरचना, युवा वर्गले लिनुपर्ने राष्ट्रप्रतिको दायित्वजस्ता थुप्रै विषयमा युवाको वर्गको विदेश पलायनले प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारेको हुन्छ ।

नेपाली युवा वर्ग विदेश पलायनको आँकडा अत्यन्त डरलाग्दो रूपरेखामा देखिन थालेको छ । जसमध्ये ठूलो संख्यामा विद्यार्थीका रूपमा युवा बिदेसिएका छन् । अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, जापान आदि नेपाली विद्यार्थीका आकर्षक गन्तव्य रहेको तथ्यांकले देखाउँछ । माथि उल्लेखित मुलुकहरूले सक्षम नेपाली विद्यार्थीलाई रोजीरोजी भित्र्याइरहेका छन् । अध्ययनका लागि बिदेसिने नेपाली विद्यार्थीको तथ्यांक हेर्दा कक्षा १२ का विज्ञान तथा व्यवस्थापन विषय लिएका विद्यार्थीको संख्या अधिक रहेको देखिन्छ । कक्षा १२ मा ३ भन्दा माथि जीपीए ल्याउने अधिकांश विद्यार्थी स्वदेशमा उच्च शिक्षा अध्ययन गर्न ? चाउँदैनन् । अध्ययनका लागि विदेश जाने विद्यार्थीमध्ये करिब ७०% विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेपश्चात् बाहिरिएका छन् । बाँकी ३०% विद्यार्थी स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययनार्थ बाहिरिएका देखिन्छन् । यो तथ्यांकलाई विश्लेषण गर्दा के परिणाम देखिन्छ भने अबको केही दशकमा नै मुलुकले प्रशासनिक सैनिक, प्रहरी चिकित्सा, शैक्षिक, पत्रकारिता, कानुनी आदि क्षेत्रमा सक्षम जनशक्ति पाउन चुनौती सिर्जना भएको छ ।


युवा वर्ग अध्यनका लागि विदेश पलायन भएबाट मुलुकको अर्बौं रकम बाहिरिएको छ । पछिल्लो समयमा युरोप, अमेरिका तथा अस्ट्रेलियाले विदेशीलाई सहज रूपमा आवासीय व्यवस्था गरेसँगै बिदेसिएका विद्यार्थी स्वदेश फर्कने सम्भावना विरलै देखिन्छ । हाल कक्षा ११÷१२ देखि नै विद्यार्थीले आफ्नो पढाइको स्तरलाई स्वमूल्यांकन गरी आपूm विदेश जाने मुलुक छनोट गरिरहेका हुन्छन् । नेपालमै उच्च शिक्षमा अध्ययनरत विद्यार्थी कमजोर अर्थात् विदेश जान नसकेको भन्ने प्रकृतिको मनोविज्ञान विकास भएको देखिन्छ । त्यसैगरी विदेश गएका व्यक्तिसँग विवाह गरेरसमेत बिदेसिने प्रवृत्ति पछिल्ला वर्षमा देखिन थालेको छ । यो पक्ष मुलुकका लागि अत्यन्त अभिशापपूर्ण बन्न पुगेको छ । जसको परिणाम मुलुकको समग्र क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेको छ ।


नेपाली युवाहरू मजदुरका रूपमा पनि विदेश पलायन भइरहेका छन् । दुबई, कतार, साउदी अरब, दक्षिण कोरिया, जापान आदि नेपाली युवा मजदुरका आकर्षक गन्तव्य मानिन्छन् । नेपाली युवा मजदुरका बहिर्गमनबाट नेपाली अर्थतन्त्र घरायसी बनेको छ । कृषि प्रधान मुलुकको कृषि पेसा रुग्ण बन्न पुगेको छ । गाउँका खेतबारी बाँझै छन् । पशुपालन ठप्प भएको छ । गाउँबाट सहरतिरको बसाइँसराइ तीव्र भएको छ । गाउँघरमा जिउँदाको जन्ती र मर्दाको मलामी पाइन छाडेका छन् । जन्मदर घटेसँगै गाउँघरका विद्यालयमा विद्यार्थी संख्या घटेका छन् । कतिपय विद्यालय विद्यार्थी अभावका कारण बन्द भएका छन् । अधिकांश सम्बन्धविच्छेदलाई विश्लेषण गर्दा प्रायःजसो वैदेशिक रोजगारीका कारण श्रीमान् र श्रीमती अलग रहेका कारण समस्या सिर्जना भएको देखिन्छ ।


नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार रेमिट्यान्स रहेको पाइन्छ । तथापि रेमिट्यान्सको आधार युवा मजदुरको कारण सामाजिक पारिवारिक पेसागत पक्ष दयनीय बनेको तीतो यथार्थलाई नकार्न सकिँदैन । मजदुरका रूपमा बिदेसिएका अधिकांश युवा स्वदेश फर्कन्छन् । तर उनीहरूले आफ्नो सीप र सामथ्र्यलाई विदेशकै माटामा खन्याएर वृद्ध उमेरको आगमनमा स्वदेश फर्कनु मुलुकको लागि दुर्भाग्य हो ।विशेषतः नेपाली युवाहरू विद्यार्थी र मजदुरका रूपमा बिदेसिने गरेका छन् । यसका अतिरिक्त डाक्टर, नर्स, इन्जिनियरजस्ता प्राविधिक जनशक्ति पनि उल्लेख्य रूपमा बाहिरिने गर्छन् । युवा वर्गलाई स्वदेशमै टिकाउनका लागि सरकारी निकायबाट रणनीति बनाउनु अपरिहार्य देखिन्छ ।


युवा वर्गलाई स्वदेशमै टिकाउने पहिलो आधार भनेको रोजगारी हो । प्रत्येक वर्ष बजारमा प्रवेश गर्ने लाखौं संख्यामा रहेका युवालाई सहज रोजगारीको वातावरण तयार गर्नु आवश्यक छ । नेपालमा सरकारी र गैरसरकारी सेवा सुविधामा ठूलो खाडल देखिन्छ । सरकारी, अर्धसरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा गरिने सेवासुविधालाई सन्तुलन मिलाउनु अपरिहार्य छ ।
नेपाली युवालाई स्वरोजगारका क्षेत्रमा आकर्षित गराउन सकिन्छ । कृषि, पर्यटन शिल्पकारिता, हस्तकला, वास्तुकला, सवारीचालक, छापाखाना, मोटरगाडी मर्मत केन्द्र, घडी, रेडियो तथा मोबाइल मर्मत केन्द्र आदि महत्वपूर्ण क्षेत्र हुन् । यस क्षेत्रमा पनि व्यावसायिक र गैरव्यावसायिक जनशक्तिलाई बैंकमार्फत सुलभ ब्याजदरमा ऋण प्रवाह गर्नुपर्छ । त्यसैगरी तालिमको व्यवस्था मिलाउनुपर्छ । स्वरोजगारी क्षेत्रका गैरव्यावसायिक श्रमिकलाई तालिम प्रदान गर्नुका साथै न्यूनतम तलबको व्यवस्था मिलाउनुपर्छ । स्वदेशी उत्पादनका उपयोगलाई अनिवार्य गराउनुपर्छ । कृषि र पशुपालनमा निर्वाहमुखी प्रवृत्तिलाई व्यावसायिकीकरणमा जोड दिनुपर्छ । नेपाली जडीबुटीलाई कच्चा पदार्थका रूपमा विदेश निर्यात गर्नुभन्दा राज्यको लगानीमा औषधि उत्पादन गरेर बेचबिखन गर्दा अधिक मात्रामा आर्थिक लाभ हुन जान्छ ।


नेपाल सरकारले युवा वर्गलाई स्वदेशमै टिकाउन ध्यान दिनुपर्ने अर्को पक्ष प्राविधिक क्षेत्र हो । डाक्टर, इन्जिनियर, नर्स, वन विज्ञानजस्ता प्राविधिक क्षेत्रको अध्ययनमा अत्यधिक लगानी गर्नुपर्छ । यस क्षेत्रमा उत्पादित जनशक्ति र श्रम बजारबीच सन्तुलन छैन । जसका कारण धेरै जनशक्ति बेरोजगार हुनु परेको छ । अर्कातिर रोजगार प्राप्त गरिहाले पनि अध्ययनमा गरिएको लगानीको तुलनामा सेवासुविधा अत्यन्त कम देखिन्छ । प्राविधिक विषयको प्रकृति र श्रम बजारको अनुपातलाई ख्याल गरी सरकारले पूर्ण तथा आंशिक लगानी गरी विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाउनुपर्छ । अध्ययनपश्चात् तोकिएको समयसम्म स्वदेशमै अनिवार्य कामको व्यवस्था मिलाउनुपर्छ ।


नेपाली युवा वर्गको विदेश पलायन जुनसुकै रूपमा भए पनि त्यसले मुलुकलाई किमार्थ फाइदा गर्दैन । विद्यार्थीको रूपमा विदेश जाने प्रवृत्तिको निराकरणका लागि विश्वविद्यालयको सुदृढीकरण तथा संरचनागत सुधार पहिलो सर्तका रूपमा देखा पर्छ । दोस्रो सर्तमा रोजगारीको सुनिश्चितता पर्छ । मजदुरका रूपमा बिदेसिने प्रवृत्ति अन्त्य गर्न स्वरोजगारीको वातावरण, लगानीको सुनिश्चितता तथा बजारीकरणको प्रवद्र्धन नै मुख्य सर्त हुन् । विद्यार्थी तथा मजदुर दुवै पक्षलाई स्वदेशमा टिकाउनका लागि राज्यले अविलम्ब रणनीति पारी कार्यान्वयनका लागि पहलकदमी गर्नु आवश्यक छ ।