देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज दिनभरी झरीको सम्भावना, ठाँउ–ठाँउमा सडक अवरुद्ध

देशान्तर

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैविच कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन तयारी भइरहे पनि ठूलो पानी परिरहेकाले कठिनाइ भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

त्यस्तै पहिरोका कारण हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक अवरुद्ध भएको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

उता लगातारको वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए । अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ । हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ ।