देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय समितिमा खुला दिलले छलफल गर्नुपर्छ 

देशान्तर

एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्दै छ । उक्त बैठकमा गम्भीर ढंगले छलफल हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको जोड रहेको छ । अहिले नेपाली कांग्रेसमाथि चुनौतीहरू बढेको चर्चा गर्दै सबै कुरामा पारदर्शी तरिकाले छलफल गरेर समस्याका निकास निकाल्नु पर्नेमा जोड पनि दिए । नेपाली कांग्रेस अहिलेको अवस्थामा सरकार परिवर्तनको खेलमा लाग्न नहुनेमा पनि उनको जोड थियो । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

अहिलेको संसद् साँच्चै संसद् जस्तै चलेको छ ?

  संसद् नेपाली जनताको सार्वभौम सत्ताको प्रतिनिधि हो । यो संसद् जस्तै हुनुपर्छ र संसद् जस्तै बनाइनु पर्छ । सांसदका विशेषाधिकारहरू पनि कहिलेकाहीँ खोसिने, त्यसलाई नियन्त्रित गरिने र सम्झौताबाट हटाइनेजस्ता कामहरू पनि भएका छन् । तर, त्यसलाई संसद् भित्रैबाट सहमतिपूर्ण विधिवत् ढंगले एउटा निष्कर्षमा पु¥याउनु पर्छ । संसद्लाई प्रभावकारी र सशक्त बनाउँदै लिएर जानुपर्छ ।

विगतभन्दा अहिले संसद्मा अभिव्यक्तिहरू हटाउने काम अलि बढी भएनन् र ?

नेपाली जनताको सर्वोच्चताको प्रतिनिधि संसद् हो । त्यो संसद्ले संविधानअनुसार नेपाली जनताको सार्वभौम सत्ताको प्रतिनिधित्व गर्छ । नेपालको संविधानले नै स्पष्टरूपबाट संविधानको धारा १०३ ले विशेषाधिकार नेपाली जनतालाई दिएको छ । त्यो विशेषाधिकार संविधानमार्फत नियन्त्रण हुने बाहेक त्यो कुनै किसिमको गठबन्धन वा सत्तापक्ष र विपक्षले त्यो संसद्को विशेषाधिकारलाई नियन्त्रण गर्ने, हटाउने, कटाउने र घटाउने गर्न सक्दैन । तर अहिले त्यस्तो घटना संसद्भित्र भयो । त्यसलाई मैले गम्भीरतापूर्वक प्रतिकार पनि गरेको छु । अहिले अभ्यासका क्रममा देखिएका त्यस्ता कुराहरूलाई सुधार गर्दै त्यसलाई जीवन्त बनाउने काम संसद्कै हो । संसद्मा अहिले पनि अनर्थ ढंगले हेरिराख्या छु । आकस्मिक समय पहिल्यै अनुमति लिएर मात्र बोल्न पाइने भन्ने खालको अभ्यास अहिले भएको छ । यो संसारभर नभएको अभ्यास हो । आकस्मिक समय भएको कुनै पनि संसद्को आकस्मिक रूपबाट पछिल्लो २४ घण्टाभित्रको आकस्मिक घटनाक्रम संसद्मा प्रस्तुत गर्नै प¥यो वा सरकारले सुन्नै प¥यो भने प्रस्तुत गर्ने हो । तर पहिल्यै अनुमति लिएर आकस्मिक समय हुँदैन ।

मैले तीन चार पटक प्रयत्न पनि गरे । तर पहिल्यै सभामुखसँग अनुमति लिनुपर्ने भनेपछि मैले अनुमति नलिइकन जहिले आवश्यकता पर्छ त्यहीबेलै उठाउँछु भनेर बसेको छु । जस्तो अहिले संसद्भित्र शून्य समय, आकस्मिक समय विधेयकसम्बन्धी समय त्यो संसद्को विशेषाधिकार हो । यसमा पार्टीको ह्विप पनि चल्दैन ।

अहिलेको संसद् भनेको प्रतिपक्षले बन्धक बनाउन खोजिरहेको संसद् भनेर बुझ्दा के हुन्छ ?

आवश्यकताभन्दा बढी प्रतिपक्षले पनि संसद्को संसदीय परम्परालाई संसदीय ढाँचाबाट अघि नबढाइकन आकस्मिक समयको नाममा इतिहासदेखि बाटो बनेको, पुल नबनेको त्यहाँ बजेट छुट्ट्याउनुपर्ने कुरा पनि आकस्मिक समयमा परेका छन् । यसमा धेरै कुराहरू छन् त्यसमा हामीले अन्तर्राष्ट्रिय अभ्यासबाट पनि सापटी लिनुपर्ने हुन्छ । नेपालमा पनि प्रशस्त संसदीय अभ्यासहरू भएका छन् । त्यसैले सभा सञ्चालन गर्ने जिम्मेवारी पाएका व्यक्ति नै गम्भीर हुन जरुरी देख्छु म ।

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिका कारण संसद् पटकपटक अवरुद्ध भएको छ, यसलाई कसरी लिने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना अभिव्यक्तिमा ‘स्लिप’ हुनु भएको छ । म यो प्रकरणलाई प्रधानमन्त्री चिप्लिएको भन्छु । त्यो अभिव्यक्ति आलोच्य नै छ । तर उहाँले नै अभिव्यक्तिका विषयमा प्रस्टीकरण दिइसक्नु भएको छ । उहाँले जसरी भनेको भए पनि सम्बन्धित प्रितम सिंहको पारिवारिक सम्बन्धको कारणले उहाँलाई प्रोत्साहित गर्न र खुसी पार्नका लागि जुन अभिव्यक्ति दिनुभएको छ, त्यो अभिव्यक्तिमा चिप्लिनु भएको छ । तर, त्यो नै ठूलो अपराध र राष्ट्रद्रोह नै भयो भन्ने होइन ।

एमालेले सदनमा जवाफ होइन राजीनामा मागेको छ नि, अहिले नेपाली राजनीतिमा सहमति सहकार्य र एकता भन्ने कुरा सक्किएको हो ?

अहिले नै त्यसरी निराश भइहाल्ने अवस्था छैन । प्रतिपक्षले कुनै पनि ‘इस्यु’ उठाउँदा खेरि त्यसलाई गम्भीर रूपबाट सरकारलाई प्रहार गर्छ । प्रतिपक्षले सरकारको अथवा प्रधानमन्त्रीको  राजीनामा माग्ने कुरालाई म अस्वाभाविक रूपले लिन्न । कहिलेकाहीँ हाम्रो संसद्मा के पनि सुनिन्छ भने प्रतिपक्षले राजीनामा माग्दाखेरि त्यसलाई पनि संसदीय ‘रेकर्ड’बाट ‘डिलिट’ गर्नुपर्छ भन्ने कुरा पनि सुनिन्छ । प्रतिपक्षको अधिकार नै हो माग्ने । तर यो नै त्यत्रो ठूलो इस्युको रूपमा लिन जरुरी छैन । कहिलेकाहीँ बोल्दा फ्याट्ट चिप्लिन्छ । प्रधानमन्त्रीले कुन मनसायले बोलेको हो त्यो कुराको संसद्मा जवाफ दिनुपर्ने हुन्छ । जुन बेला आफू सत्तामा हुँदा त्यस्ता कुराहरू क्षम्य हुने तर अहिले प्रतिपक्षमा हुँदा अक्षम्य हुने कुरा हुँदैन ।  

अहिलेको सत्तारूढ गठबन्धनको सम्बन्ध कस्तो छ ?

 सत्तारूढ गठबन्धन भित्र राम्रै सम्बन्ध छ । संसद्भित्र कसरी अगाडि बढ्ने अथवा अहिले प्रतिपक्षबाट भइरहेको आक्रमणलाई कसरी रणनीतिक रूपले जवाफ दिने भन्ने कुराकानी कतैबाट भएको छैन । यो विषयमा गठबन्धनबाट पनि पहल भएको छैन भने प्रधानमन्त्रीले पनि गर्नु भएको छैन । सत्तारूढ गठबन्धन कतिपय विषयमा मौनरूपबाट पर्यवेक्षकको रणनीति लिएको देखिन्छ । अहिलेको सत्तारूढ गठबन्धनले ल्याएको बजेट अत्यन्त असन्तुलित छ । यसले चुनौतीहरूको सामना गर्न सक्दैन । तर, एउटा कुरा के छ भने भ्रष्टाचारको विरोधमा सरकार सशक्तरूपले प्रस्तुत भएको छ । त्यसलाई मैले सकारात्मकरूपले लिएको छु । यसलाई सुरु गर्ने अनि गठबन्धन र गठबन्धन बाहिर सम्झौता गरेर तुहाउने अवस्था नआउला भन्न भने सकिन्न । तर यो यात्रामा प्रधानमन्त्री र गृहमन्त्रीले जुन दृढता देखाउनु भएको छ । मैले त्यसलाई सकारात्मक रूपले लिएको छु । 

अहिलेको बजेटले केही सम्बोधन गर्ला कि यस्तै शिथिल हुने हो ?

हाम्रो अर्थतन्त्र शिथिल हुन्छ भनेर निराशावादी हुनु हुँदैन र म छैन पनि । तर अहिले अत्यन्त चुनौतीपूर्ण परिस्थिति छ । आर्थिक मन्दीको स्थिति अहिले पनि त्यतिकै छ । अहिले हामीले ६ प्रतिशतको वार्षिक वृद्धिको कल्पना गरिरहेका छौँ । तर हाम्रो यहाँको परिस्थितिले ३ प्रतिशतभन्दा कुनै पनि हालतले वृद्धि हुन सक्दैन भन्ने प्रक्षेपण पनि गरिएको छ । नीतिगतरूपबाट अहिले जुन खालले ‘सिफ्ट’ गर्नुपर्ने हो त्यो अहिलेको बजेटले गर्दैन । किनभने अहिलेको बजेट पनि वितरणमुखी र अनुत्पादक क्षेत्रमा खर्च रहेको छ । संघीय संरचना भएको देशमा वडामा गाउँपालिका नगरपालिकाले वितरण गरेको जस्तो दुई तीन लाख रुपैयाँ केन्द्रबाट बाँडिएको छ । अहिलेको बजेट जनमुखी बनाउन खोज्दाखोज्दै प्रियतावादी र वितरणमुखी छ र उत्पादकत्व वृद्धि गर्ने पुँजीगत खर्चको दृष्टिकोणले हेर्ने हो भने अहिलेसम्म ४५ प्रतिशतको हाराहारीमा पुँजीगत खर्च छ । अबको एक सातामा यो ९० प्रतिशत पुग्छ । असारे विकासको गति अहिले पनि तीव्र छ । अन्तिममा गएर रकमान्तर गर्ने जस्तो आर्थिक दृष्टिकोणले घोटाला र बेइमान केही हुनै सक्दैन । हो रकमान्तर गर्नुपर्छ, कानुनले नै रकमान्तर गर्ने अधिकार सरकार र मन्त्रालयलाई दिएको छ । तर त्यसलाई तीन महिना अगाडि नै गर्न सकिन्छ नि । तर, अन्तिममा गएर रकमान्तर किन गरिन्छ र त्यसको उद्देश्य के हो भन्ने कुराको औचित्य पुस्ट्याइँ हुँदैन । अहिले ९ खर्ब बेरुजु रहेको छ भने हरेक दिन २ देखि ३ अर्ब व्यापार घाटा छ । हरेक दिन २५ सय देखि ३ हजार नेपालीहरू कामको लागि बिदेसिएका छन् भने हरेक दिन कम्तीमा ३ जना मानिसहरू विदेशबाट लासको रूपमा बाकसमा फर्किएका छन् । मैले जब सांसद पदको निर्वाचन जितेर आए यहाँका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटेर भनेको पनि थिए, कमसेकम राष्ट्रिय सुरक्षा नीति, अहिलेको पेचिलो अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्वको रूपमा विकसित हाम्रो भूभागमा सन्तुलन र समझदारी निर्माण गर्नको लागि एउटा विदेश नीति अर्को राष्ट्रिय सुरक्षा नीति, अर्थनीति आर्थिक सुधारको पक्ष र भ्रष्टाचार निवारणको निम्ति कमसेकम राष्ट्रिय सहमतिको स्थिति सत्तामा बसे पनि बाहिर बसे पनि निर्माण गरौँ भनेको हुँ । तर यो कुरामा एक हुन सकेनौँ ।

नेपालको सम्पत्ति शुद्धीकरणका बारेमा १३ वर्षपछि मूल्यांकन हुँदैछ, हामी ‘ग्रे’ लिस्टको खतरामा छौँ,  कानुन बन्ने कुराहरू कहाँ पुग्यो ?

कानुन बनाएर मात्रै भन्दा पनि, मैले यो विषयमा संसद्मा तीन,चार पटक कुरा उठाइसकेको छु । अहिले साँच्चै भ्रष्टाचार निवारणको अभियानलाई सशक्त रूपले गर्ने हो भने त्यसको साइड इफेक्टहरू के के पर्छन् त्यसलाई राष्ट्रले कसरी संयोजन र सम्बोधन गर्ने त्यो आर्थिक पक्ष हो । अहिले जुन तरलतामा पुँजीगत परिचालनको समस्या देखिएको छ, त्यो सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचारीहरूको कालो धन हो । राजनीतिक, व्यावसायिक जुनसुकै तहको पनि अर्बाैं रकम डम्प भएर बसेको छ ।  एक हजार र पाँच सयको नोट नोट बन्दी गरेर नयाँ यात्रा सुरु गर्न सक्यौँ भने नेपालको अर्थतन्त्रले बल्ल गति लिन सक्छ । अहिले दक्षिण एसियाली मुलुकहरूबाट स्विस बैंकमा सबैभन्दा धेरै रकम राख्नेमा नेपाल पनि पर्छ । कानुनअनुसार त्यसरी देश बाहिर रकम जम्मा गर्न पाइँदैन । तर, जसरी स्विस बैंकमा नेपालीहरूले पैसा जम्मा गरेका छन् त्यो जम्मै भ्रष्टाचारका पैसाहरू हुन् । त्यसैले हामीले कानुन बनाउनेभन्दा पनि कानुन पालना गर्ने सवालमा हाम्रो नियत सफा हुनुपर्छ । एक पटक सरकारमा बसेका साथै उच्च तहमा बसेकाहरूले मैले भ्रष्टाचार गरेको छैनभन्दा जनताले पत्याउन छाडिसकेका छन् । पुराना राजनीतिक दलहरू यत्रो संघर्ष गरे र उनीहरूको योगदानकै कारण अहिलेसम्म जे जति उपलब्धि हासिल गरिएको छ त्यसमा ठूलो भूमिका छ । बेलामा संसद्ले राजनीतिक दल जन्माउँछ भने नेपालमा संघर्ष नै संघर्ष राजनीतिक दलहरूले गरेपछि संसद् जन्मिएको हो । यसबाट वितृष्णा जगाएर अहिले नयाँ अहिले आउने दलहरूप्रतिको जो आकर्षण फैलिन थाल्या छ तर पुरानो राजनीति दलहरू यथास्थितिवादी, भ्रष्टाचारको संरक्षक भन्ने भाष्य नै निर्माण भइसकेको छ । त्यसैले पुराना राजनीतिक दलहरू र खासगरी नेपाली कांग्रेस गम्भीर हुन जरुरी छ ।

त्यही गम्भीर छलफल गर्नलाई हो नेपाली कांग्रेसले २७ गते केन्द्रीय समितिको बैठक बोलाएको ? 

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको २७ गते वर्ष दिन पुग्छ । गत वर्ष पनि त्यही दिन बैठक सुरु भएको थियो । गत वर्षको भदौ ४ गत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएका बेला शोक सभाका लागि केन्द्रीय समितिको बैठक बसेको थियो, त्यतिबेला कुनै पनि अरू एजेन्डामा छलफल नभएकाले औपचारिक बैठक असार २७ देखि साउन २ गतेसम्म बसेको थियो । एक वर्षको अवधिमा राष्ट्रिय परिस्थितिमा आएका जटिलता चुनौती पार्टीले गरेको गठबन्धन, त्यो गठबन्धनले तयार गरेको साझा सहमतिका दस्ताबेज, त्यसपछि भएका स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन, गठबन्धन पछि सरकार निर्माण, सरकार निर्माण पछि साझा न्यूनतम कार्यक्रम त्यो साझा न्यूनतम कार्यक्रम दलका दुई जना प्रतिनिधि बसेर बनाउँदैमा त्यो कांग्रेसको हुन्छ र । त्यो विषयमा कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल गर्नु पर्दैन र त्यसैगरी पछि भएको उपनिर्वाचन र अहिलेका राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा कहीँ कतै छलफल भएको छैन । त्यसैले गम्भीरताका साथ छलफल गर्नका लागि एक वर्षपछि भए पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । 

कांग्रेसको पदाधिकारी तहमा छलफल भइहाल्छ किन केन्द्रीय समिति बोलाउने भन्ने मनस्थिति बन्यो होला ?

के मनस्थिति बन्यो त्यो उहाँहरूलाई नै थाहा होला । नेपाली कांग्रेसको विधानले पदाधिकारी भन्ने चिन्दैन । नेपाली कांग्रेसको विधानले चिन्ने भनेको कार्यसम्पादन समिति हो कि केन्द्रीय समिति, महासमिति र महाधिवेशन मात्रै हो । शक्तिमा पुगेपछि जे पनि गर्न पाइन्छ भन्ने हो भने त लोकतन्त्रको लडाइँ किन लड्नु पर्ने थियो र । लोकतन्त्र भनेको त व्यक्तिको नभई विधिको राजको मान्यताका लागि संघर्ष गरेका हौँ ।

विगतमा पटकपटक स्थगित हुँदै आएको हो केन्द्रीय कार्यसमितिको बैठक, अहिले हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ ?

अब के हुन्छ अहिले नै म भन्न सक्दैन । अहिले पार्टीमाथि चुनौती आएको छ । पार्टीमा आएको चुनौती एक जना सभापति र पदाधिकारीले मात्रै सामना गर्ने विषय होइन । यो सामना हामी सबै र आम कार्यकर्ताले गर्ने हो । अहिले जस्तो चुनौती छ त्यसलाई जस्ताकै तस्तै छलफल गर्न सुरु गरियो भने यो चुनौती होइन । पार्टीमा यस्ता चुनौतीहरू त आइनै रहन्छन् । राजनीतिक जीवनमा हरेक पाइलापाइलमा चुनौतीको सामना गर्नुपर्छ । नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो । ऐतिहासिक यात्रामा विभिन्न चुनौती पार गरेर यहाँसम्म आइपुगेको हो अहिले पनि चुनौतीहरू छन् सबै मिलेर यसलाई पार गर्न सकिन्छ । त्यसैले खुला दिलले छलफल गर्ने प्रवृत्ति जब नेतृत्वमा हुँदैन एउटा सानो घेरा बनाएर हिँड्न थालेपछि समस्याहरू जन्मिएका हुन् । 

अब बस्ने केन्द्रीय समितिको बैठकलाई अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छ ?

अब बस्ने केन्द्रीय समितिको बैठकलाई प्रभावकारी बनाउनका लागि केही मेरा प्रस्तावहरू पनि छन् । ती प्रस्ताव विगतमा भन्दै पनि आएको छु । अब बैठक अघि लेख्ने प्रयासमा पनि छु ।  अहिले केही युवाहरू रूपान्तरणका लागि हिँड्नु भएको छ ।  उहाँहरूले अभियानबाट जुन खालको अभिमत बटुलेर आउनु भएको छ त्यो उहाँहरूले राम्रो र प्रशंसनीय काम गर्नु भएको छ ।

तर, अर्को पक्षले नेतृत्वलाई खुइल्याउनका लागि रूपान्तरण अभियान भन्छ फेरि ?

यो कसैले खुइल्याउने कुरा होइन । अहिलेको नेतृत्व यसैगरी अघि बढ्ने हो भने आफै खुइलिन्छ, कसैले खुइल्याउनु पर्दैन ।  रूपान्तरण अभियान पार्टीलाई जीवन्तता दिनको निम्ति हो । हामी सबैले आफ्नो आफ्नो ठाउँबाट गरेको गल्तीहरूलाई सुधार गर्नको निम्ति लाग्यौँ भने हामीलाई कसैले पनि चुनौती दिन सक्दैन । नेपाली कांग्रेस हिजो स्थापनाकालदेखि २००७ सालको क्रान्तिमा परिवर्तनको संवाहक थियो । न्यायको प्रतीक थियो । लोकतन्त्रको रक्षक थियो र गतिशीलता र आशाको रक्त  सञ्चार गराउने पार्टीको रूपमा थियो । त्यसैका आधारमा हामीले २०१५ सालमा दुई तिहाइभन्दा बढीको बहुमत प्राप्त गरेका थियौँ । 

२०१९ पछि ३० वर्षको संघर्षले नेपाली कांग्रेसले प्रजातन्त्र पुनस्र्थापना गर्न सफल भयो । अहिले हामी नेपाली कांग्रेसलाई यथास्थितिको प्रतिनिधिको पात्र र भ्रष्टाचारको संरक्षकको रूपमा चिनाउन खोजिएको छ । यसलाई चिरेर नेपाली कांग्रेस जो ऐतिहासिक यात्रामा छौँ, यसमा कहीँ त्रुटि र कमजोरीले हामी चुकेको भए पनि यसमा हामीले सुधार गर्छौँ, हामी त्यही कांग्रेस हौँ । अब नयाँ कांग्रेस भन्ने कि पुरानो आदर्श बोकेको आधुनिक कांग्रेसको रूपमा आफूलाई जनताको बीचमा लिएर जानुपर्ने सशक्तता छ । अहिले पनि नेपाली कांग्रेस जनस्तरमा यदि हामीले हाम्रा गल्ती र कमजोरीलाई सच्याएर माफी माग्न परे माफी मागेर जाने हो भने हामी १ नम्बर राष्ट्रिय शक्ति नै हौँ । हामीलाई अरूले छुन सक्दैनन् । अब यही यथास्थितिवादी एउटा गिरोहले सञ्चालन गर्ने हो भने र भ्रष्टाचारको संरक्षण गर्ने हाम्रो मनोवृत्ति देखिन थाले भने अर्को पटक हामी अत्यन्त कमजोर र बढारिने स्थिति आउँछ । 

नेपाली कांग्रेस प्रालि रूपान्तरण होला त ?

तपाईंले प्रश्नमा प्रालि भन्नुभयो, प्रालि त म भनी हाल्दिनँ । अब यो वादबाट रूपान्तरण गर्नुपर्छ । त्यसमा युवाहरू र पदाधिकारीहरू पनि लागेका छन् । हामी त्यसको पृष्ठभूमिमा सशक्त रूपले उभिएका छौँ । हेर्दै जाऔं ।

बैठक पछि नेपाली कांग्रेस सरकार फेरबदलमा लाग्छ भन्ने टिप्पणी हुन थाल्या छ नि ?

होइन, होइन । म अस्थिरतको पक्षमा छैन । साँच्चै यो सरकार भ्रष्टाचारको विरोधमा सशक्त अभियन्ताको रूपमा प्रस्तुत भएको हो भने यो सरकारको अस्थिरताको विषयमा सोच्नु भनेको भ्रष्टाचारलाई फेरि संरक्षण गरेको सन्देशको रूपमा नेपाली जनताले बुझ्ने पक्का छ । त्यसैले अहिलेको अवस्थामा सरकार फेरबदलको कुरामा कुनै पनि हालतमा नेपाली कांग्रेस लाग्नु हुँदैन । 

नयाँ दलको चुनौती नेपाली कांग्रेसलाई छ कि छैन ?

नयाँ दल हाम्रो लागि चुनौती हुँदै होइन । नेपाली कांग्रेसमात्रै होइन । अहिलेसम्म भएका ऐतिहासिक रूपबाट स्थापित पुराना सबै दलहरूमा देखिएको विकृतिका चाङहरू, यसका कार्यशैली, यसमा देखिएका मनोग्रन्थीहरूको विरोधमा नेपाली जनताले परिवर्तन चाहेका छन् । त्यो परिवर्तनको संवाहकको रूपमा नयाँ खोजेका हुन् । त्यस कारणले हाम्रो नकारात्मकतालाई पुँजीकृत गरेर जुन शक्तिको अभ्युदयको परिकल्पना गरेको छ हामीले नकारात्मकता र गल्तीलाई सुधार गर्न सक्यौ भने हामीसँग रिसाएका साथीहरू पनि हामीसँग फर्कनुहुन्छ । हाम्रा गति मति त्यही बासी रहने हो भने हाम्रो पतन  निश्चित छ । लोकतन्त्रमा नयाँ पार्टी आउँदा लोकतन्त्र कमजोर होइन झन् बलियो पनि हुन्छ । लोकतन्त्र बलियो बनाउने सवालमा पार्टीहरूका बीचको प्रतिस्पर्धा र हाम्रा कमी, कमजोरी औँल्याएर अर्को पार्टी आउँछ भने यसले हामीलाई सुधार गर्नका लागि पनि थप मद्दत नै गर्छ यसले नोक्सान गर्दैन । खाली नयाँ आउने साथीहरूले ‘अभिमन्यु’ होइन त भन्नुहुन्छ तर खाली ‘भागीरथी’को जटामा गंगा अल्मलिएको जसरी अल्मलिनु भएको छ । 

अबको कांग्रेसको केन्द्रीय समितिले कोषाध्यक्ष मनोनयन, भ्रातृ संस्था, विभाग गठनलगायतका कुराहरू गर्न सक्ला त ?

हामी अहिले विधिविहीनताको चाङमा छौँ ।  संस्कृतिमा श्लोक छ ‘अहम् ब्रह्मास्मी अर्थात् ‘म नै ब्रह्माण्ड हुँ’ । एको अहं, द्वितीयो नास्ति, न भुतो न भविष्यति ! अर्थात् एउटा मै हुँ अर्को कोही छैन, न हिजो कोही थियो न भविष्यमा कोही हुनेछ भन्ने मनोवृत्ति नेतृत्वमा भयो । दुई, चार जना मात्रै मिलेर पार्टी चलाउन थालियो भने हामी विनाशको बाटोमा जान्छौँ । त्यसले यसलाई सुधार गरेर पार्टी अघि बढ्नु पर्छ । अहिले पार्टी बिग्रिँदा हामी एउटै नौकामा रहेकाले हामी पनि जोगिँदैनौँ । त्यसैले नेपाली कांग्रेसलाई विधिसम्मत तरिकाले अघि बढाऔँ भन्ने कुरामा सभापतिलाई पनि भनेको छु । विधिसम्मत तरिकाले पार्टी चल्दा म जहिले पनि सकारात्मक छु ।

कांग्रेसको गुट भनेको नयाँ कुरा होइन, तपाईँहरू अहिले इन्ट्याक्ट हुनुहुन्छ ?

इन्ट्याक्टको जवाफ अहिले म तपाईँलाई दिन सक्दिनँ । हाम्रो नेतृत्वले ‘मेनुपुलेट’ गर्ने कुरा सुरुदेखि नै गर्दै आएको छ । अहिले पनि पार्टीभित्र कसलाई कोसँग लडाउने, भिडाउने खेल भई नै राख्या छ भन्छन् त्यो त मलाई थाहा छैन । अहिले त्यस्तो नेतृत्वको विकल्पमा युवा जमात तयार भएको छ अहिले रूपान्तरणको अभियान लिएर हिँडेको छ । अहिलेको अवस्थामा इतर पक्षले सामूहिक आवाज गर्न सक्यो भने राम्रो होला । नभए गुण र दोषको आधारमा आफ्ना आफ्ना विचार व्यक्त गर्ने हो । किनभने इतर र उतर भन्नेभन्दा पनि आखिर पार्टी त हाम्रो हो ।  म गुण दोष विधिसम्मत प्रक्रियामा कुरा राख्दा जता परिन्छ त्यतै को मान्छे हुँ ।